देशको उद्योग धन्दा बेचेर अरुको उत्पादन किनेर खाने व्यवस्था हो लोकतन्त्र ? स्वदेशीलाई विदेशी बिल्ला भिराएर बेच्ने व्यवस्था हो लोकतन्त्र ? साँच्चिकै असक्षमहरूले नै शासन गरिरहने र सक्षमहरू प्रवासमा बसेर कष्टकर जीवनयापन गर्न बाध्य हुने शासन पद्धति हो लोकतन्त्र ? श्रीमान् वा श्रीमती नेता भएपछि उनीहरूका श्रीमती वा श्रीमान् स्वतः नेता बन्ने हक राख्ने व्यवस्था हो लोकतन्त्र ?
✍ राजेन्द्रप्रसाद पाठक
द्वापरयुगीन महाभारत युद्ध त्यसै भएको थिएन । पाण्डवहरूको त्याग मनोवृत्ति, कौरवहरूको हठ, निर्णायक मानिएका धृतराष्ट्रको पुत्रमोह, भीष्म पितामहको भीष्मकवुल, दोर्णाचार्य कृपाचार्यहरू जस्ता गुरुहरूको नुनोवृत्ति, शकुनी र सल्यहरू जस्ता मामाहरूको बापवैरत्व साध्ने दाउ, द्रौपदी जस्ताको नारीहठ र उत्ताउलो मनोवृत्ति, गान्धारीको जस्तो अन्धसमर्थन, वर्णशंकर र हाडनाता सम्बन्धबाट उत्पन्न सन्तानोवृत्ति, भगवान् श्रीकृष्णको न्यायिक राज्यको परिकल्पनास्वरुप उत्पन्न परिणाम नै समग्रमा सिङ्गो महाभारत युद्ध थियो भनियो भने फरक नपर्ला ।
महाभारतकालमा राज्यसत्ताको उत्तराधिकारी चयन प्रक्रिया ‘राइट मेन इन राइट प्लेस’को अवधारणा सही र सक्षम मानिस नै वास्तविक राज्यसत्ताको उत्तराधिकारी बन्न सक्छ भन्ने असल शासनको अवधारणास्वरुप नै राजा सन्तनुको उदय भएको थियो । तर उनै राजा सन्तनुको कामोन्मादी आचरणको परिणाम तात्कालिक राजकुमार देवव्रतले आफ्नो राज्यउत्तराधिकारको विरुद्धमा आफ्ना बुबा महाराजको इच्छामुताविक सौतेनी आमाका सन्तानहरूलाई नै राज्यसत्ता सुम्पने र आफू उनीहरूको राज्यसेवक भइ हस्तिनापुरको राजगद्दीको संरक्षकत्व प्रदान गर्ने भीष्मप्रतिज्ञा गरेकै कारण राजकुमार देवव्रतको पछिल्लो नाम भीष्मपितामह रहेको हो । इच्छामृत्युको वरदान पाएको यस्ता प्रतिज्ञापुरुषले समेत अन्यायको पक्षपोषण गर्न बाध्य भएको त्यो वैदिककालिक कथा कम कारुणिक छैन ।
आफ्ना पितृका लागि आफुले पाएको अधिकार त्यो पनि स्वयं सक्षम रहँदारहँदै अति असक्षमहरू हातमा परेको टुलुटुलु हेरिरहन पर्नु, त्यसमाथि पनि त्यसकै पक्षपोषक बन्न बाध्य हुनु । महाज्ञानी र धुरन्धर कुलगुरु राजगुरुहरू समेत अन्यायीकै पक्षपोषक बन्न बाध्य हुनु । नारीहरूका हठ र अनायासी निर्णयले उत्पन्न गरेको विकराल परिस्थितिले एउटा सिङ्गो र शक्तिशाली राज्यको दुर्दशा भयो । त्यस्तो अन्यायलाई सिध्याएर न्यायिक राज्य स्थापना गर्ने युद्धमा उनै अन्यायीहरूकै पक्षपोषकका रुपमा उभिन बाध्य भएका दानवीर कर्ण जस्ता महावीरहरूले आत्मउत्सर्ग गरेको युद्धकथा भन्दा कम रहेन हालको हाम्रो देशको लोकतान्त्रिक शासन पद्धति ! आवरणमा लोकतन्त्र त भनिएको छ तर अन्तःस्करणमा अत्यन्तै अन्यायी कुशासनले ओतप्रोत यस्तो शासन ब्यवस्थामा देश र समाजमा भएका घागडान र अब्बल मानिएका विभिन्न विधाका हस्तीहरू के कारण मौनता साधिरहेछन्- खासै बुझ्न सकिएन ।
देशको धर्म संस्कृति, चालचलन, रीतिरिवाज, परम्परा र शान्तिपूर्ण समाजलाई बन्धक बनाएर फिरङ्गिको इशारा र अनुदानमा चलेको यस्तो कुशासनमा अरु बाँकी ठुलो जमातको सार्वभौम अधिकारलाई कुण्ठित पार्दै असक्षम शासकीय वंश परम्परा धान्नकै लागि बनेको राजनीतिक शब्द हो लोकतन्त्र ? के साँच्चिकै असक्षमहरूले नै शासन गरिरहने र सक्षमहरू प्रवासमा बसेर कष्टकर जीवनयापन गर्न बाध्य हुने शासन पद्धति हो लोकतन्त्र ? जहानियाँतन्त्रको वृत्तिविकास गर्न रचित राजनीतिक साङ्केतिक शब्द हो लोकतन्त्र ? बलियाले खाइरहने निर्धाहरूले हेरिरहनपर्ने ब्यवस्था हो लोकतन्त्र ? निर्धाहरूले जीवन वलिदान दिईरहनुपर्ने शासन पद्धति हो लोकतन्त्र ? शासक बलिष्ठ र जनता निरीह बन्ने ब्यवस्था हो लोकतन्त्र ? किनारामा बसेर तिर्खाएर जनता मर्नुपर्ने अवस्था श्रृजना गर्ने राज्य ब्यवस्था हो लोकतन्त्र ?
अनि, राष्ट्रियता गुमाएर नेताको इच्छापुर्ति गर्ने व्यवस्था हो लोकतन्त्र ? देशको धनसम्पत्ति परदेशमा थन्क्याउने ब्यवस्था हो लोकतन्त्र ? नेताले जे भन्छन् सोही लालमोहर लाउनुपर्ने ब्यवस्था हो लोकतन्त्र ? देशको उद्योग धन्दा बेचेर अरुको उत्पादन किनेर खाने व्यवस्था हो लोकतन्त्र ? स्वदेशीलाई विदेशी बिल्ला भिराएर बेच्ने व्यवस्था हो लोकतन्त्र ? अनेकन राज्य सृजित पद-प्रतिष्ठा लिलाम बढाबढ गरेर धनीलाई बेच्ने व्यवस्था हो लोकतन्त्र ? आफ्नाजति जस्ता भएपनि सक्षम अरुचाहिँ क्षमता भएरपनि हमेशा असक्षम कहलिनुपर्ने व्यवस्था हो लोकतन्त्र ? लोकको काम कर बुझाउने र भोट बुझाउने मात्र व्यवस्था हो लोकतन्त्र ? समावेशी र समानुपातिक नाममा श्रीमती र आफन्तीतन्त्र लागु गर्ने व्यवस्था हो लोकतन्त्र ? राज्यको हरेक अवयवहरूलाई एउटै शासकले मुट्ठीमा राखेर हुकुमप्रमाङ्गी गर्ने व्यवस्था हो लोकतन्त्र ? महाराजको बोली नै कानुन र संविधान ठहर हुने व्यवस्था हो लोकतन्त्र ? सानालाई ऐन ठुलालाई चैन दिने व्यवस्था हो लोकतन्त्र ? भनसुन र चिनजान नै सक्षमताको प्रमाणपत्र सावित हुने व्यवस्था हो लोकतन्त्र ? घुँडा धसेर पण्डितले पढ्ने र विवाह गरेर आएको श्रीमती स्वतः पण्डितनी बन्ने व्यवस्था हो लोकतन्त्र ? श्रीमान् वा श्रीमती नेता भएपछि उनीहरूका श्रीमती वा श्रीमान् स्वतः नेता बन्ने हक राख्ने व्यवस्था हो लोकतन्त्र ?
पक्कै होइन ! यदि त्यस्तो होइन भने ज्ञात रहोस्– आवरणमा लोकतन्त्र देखाएर ब्यवहार र अन्तःस्करणमा अरु कुनै अवस्था श्रृजना गर्ने अधिकार तिमी दलका मुखियाहरूलाई छैन । अब जनता चुप लागेर तिमीहरूका कथा सुनेर चुपचाप बस्दैनन् । सियोको टुप्पो जतिपनि अरुलाई अधिकार प्रत्यायोजन नगर्ने तिमीहरूको दुर्याेधन प्रवृत्ति अब धेरै दिन टिक्दैन । तिम्रा अन्धा पुत्रमोहमा परेका पितृको पनि कायावशान भइसकेको छ । अब परिवार र सम्पत्ति मोहमा परेर धेरै समय टिक्न मुस्किल छ । आगामी दिनमा केही मात्र भएपनि अस्तित्वको धुकधुकी बचाइराख्ने हो भने । पुत्रमाही पितृहरूलाई पुकार्न छोडिदेऊ । उनीहरूको अन्तिम पिण्डदान गर्दै सामुहिक क्रियाकर्म सकाएर जनताले मागेको नेता स्विकार गर्दै आगामी दिनमा तिमीहरूका उत्तराधिकारी सुध्रिएर आए भने परिस्कृत प्रजातन्त्रले सत्ता सम्हाल्ने अवसर प्रदान गर्न पनि सक्छ, अन्यथा अपुताली पार्ने काम आफैबाट नगर्न जनताको चेतावनी दर्ज भैसकेको छ । समय छँदै सबैको अस्तित्व स्विकार्नु नै बेस होला । होइन भने कलियुगीन महाभारतको रचना भइसक्यो ? चक्रब्युहको सिकार बन्न नपरोस् । अभिमन्युको जस्तो नाम त तिमीहरूको रहने छैन, तर समय छँदै जानकारी राख्न सक्यौ भने हसिना बन्नु नपर्ला । अस्तु !
प्रतिक्रिया