- नवीन उप्रेती, काठमाडौं
काठमाडौं स्कुल अफ लले सामाजिक सञ्जालमार्फत आफू र आफ्ना पदाधिकारीमाथि लगाइएका आरोपहरु तथ्य र आधारहीन रहेको जनाएको छ । आरोपहरु आधारहीन मात्रै नभइ सामाजिक मर्यादाविरुद्ध समेत रहेको सो कलेजले जनाएको हो ।
एउटा व्यक्तिले कुनै आधार र तथ्यविना आफ्ना प्रध्यापकहरुमाथि अश्लील गालीगलौज गर्दै विभिन्न अरोपहरु लगाउने र उनैले समाजिक सञ्जालमार्फत लागएको आरोपका आधारमा सञ्चारमाध्यमहरुमार्फत सार्वजनिक भएका समाचारबारे कलेजको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै समाचार लेख्नुअघि कम्तीमा तथ्यहरुको जाँच गरिदिन कलेजले आग्रह गरेको छ ।
कलेजबाट भर्खरै पासआउट भएकी एक विद्यार्थीले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत काठमाडौं स्कुल अफ लका कार्यकारी निर्देशक तथा प्रध्यापक डा. युवराज संग्रौला लगायत केही प्राध्यापकविरुद्ध धाराप्रवाह गालीगलौजका साथ विभिन्न आरोप लगाउँदै आएको सन्दर्भमा कलेजले पत्रकार सम्मेलन गर्दै त्यो हर्कत नियोजित तथा संगठित योजनाको उपज भएको जनाएको छ ।
घटनाक्रमहरुले निज विद्यार्थी नभइ कलेज र कलेजका पदाधिकारी एवम् तिनका परिवारजन केही दिनदेखि पीडित रहेको तथ्यतर्फ ध्यानाकर्षण गराउँदै कलेजले भनेको छ- ‘यस्ता सामाजिक मर्यादाविपरीत र मानवअधिकारविरोधी गतिविधिप्रति दःख व्यक्त गर्नुबाहेक हामीसंग कुनै शब्द छैन ।’ यस घटनाले जुनसुकै व्यक्तीले जुनकुनै अवस्थामा जोमाथि पनि आरोप लगाइदिनसक्ने अवस्थाको उजागर गर्दै यसबाट हाम्रो स्थापित सामाजिक मर्यादा र न्याय प्रणालीमाथी गंभिर झापट हानेको समेत कलेजले जनाएको छ ।
सामाजिक सञ्जालमार्फत कुनै व्यक्तिले झुटा र तथ्यहीन आरोप लगाइएका आधारमा स्थापित सञ्चारका माध्यमले समाचार बनाउने कार्यले दशकौँको संघर्षबाट स्थापित यो शैक्षिक संस्था र यहाँका पदाधिकारीको मानमर्दन गर्ने काम भएको कलेजले जनाएको छ । यदि कसैको कुनै गुनासो र आरोप भए त्यसको छानविनका लागि राज्यका स्थापित न्याय प्रणालीको साहरा लिनुको साटो हठात व्यक्तिको मानमर्दन हुनेगरी सुरु गरिएको मिडिया ट्रायलबाट आफूहरु दुःखी भएको उल्लेख गर्दै कलेजले भनेको छ- यस्तो प्रवृत्तिले कस्तो समाजको निर्माण होला ? सामाजिक सञ्जालबाटै आरोप लगाउने, त्यही बहस गरिने र त्यही फैसला गर्ने यही हर्कतले यो समाजलाई कहाँ पुऱ्याउला ?
पत्रकार सम्मेलनमा आफ्ना धारणा राख्दै प्राध्यापक डा. युवराज संग्रौलाले आफु जस्तोसुकै अनुसन्धान र छानविनका लागि तयार भएको भएपनि यस घटनाबाट आरोप लगाउने व्यक्ति भन्दा उनका कारण आफुहरु वास्तविक पीडित रहेको बताएका छन् । २५ वर्षको गौरवपूर्ण इतिहास बोकेको काठमडौं स्कुल अफ ल र आफुमाथि नियोजित रुपमा षडयन्त्र गरेर यसप्रकारको आक्रमण सुरु गरिएको बताउँदै डा. संग्रौलाले भने- यस कलेजमार्फत आफुले दशकादेखि नेपाली समाजको गौरवपूर्ण इतिहास र संस्कारलाई कायम राख्न गरेको प्रयत्नको बदलामा देशलाई राजनीतिक रुपमा मात्रै होइन सांस्कृतिक रुपमै विदेशीको गुलाम बनाउने समूहबाट नियोजित रुपमा आक्रमण गरियो । यद्यपि, उठेका सन्दर्भहरुका बारेमा सम्बोधन गर्न स्वतन्त्र र निष्पक्ष छानविन समिति निर्माण गरिसकिएको जनाउँदै आवश्यक परे राज्यका अन्य निकायहरुले पनि छानविन गर्न सक्ने डा. संग्रौलाको भनाई थियो । आफुकहाँ अध्ययनरत कुनैपनि आस्था र विश्वासका विद्यार्थीलाई कुनै पनि विभेद नगरिएको स्पस्ट गर्दै डा. संग्रौलाले भने- आफु अभिभावक भएकाले उनीहरुलाई सही मार्गनिर्देश गर्नु र राज्यलाई असल नागरिक हस्तान्तरण गर्नु आफ्नो दायित्व भएकाले मैले त्यही गरिरहेको मात्रै हो । आफ्नो र आफ्नो समूहको मेहनतकै कारण राज्यले कानुनी अध्ययनका क्षेत्रमा एउटा अन्तर्राष्ट्रिय स्तरको संस्था पाएको संग्रौलाले स्मरण गरे ।
केही दिनदेखि डा. संग्रौला र काठमाडौ स्कुल अफ लका पदाधिकारीहरु विरुद्ध सिलसिलावद्धरुपमा सामाजिक सञ्जालमार्फत गालीगलौज र मिथ्या आरोप लगाउने गरिएको छ । पटक पटक भिडियोमार्फत बर्बराहटको शैलीमा प्रस्तुत हुने ती छात्राले घरि संग्रौलाको परिवारका प्रत्येक सदस्यले पाँच लाखका दरले रकम दिनुपर्ने नदिए सिध्याइदिने धम्की दिने गरेको देखिन्छ । यौनिक टिप्पणी गर्ने गरेको भनि उनले तथ्य भन्दै सार्वजनिक गरेको विषय भनेको संग्रौलाले लभ अफयर्समा नपर्न र आफ्नो करिअरतर्फ फोकस हुन भनि बोलिएको विषयलाई मानिएको छ । आफ्नो अभिभावकले आफ्ना बच्चाहरुलाई र एउटा शिक्षकले आफ्ना विद्यर्थीलाई सम्झाउँदा भन्ने सामान्य विषयसमेत यौन दुर्व्यवहारको विषय मान्ने हो भने यहाँ परिवारको अस्तीत्व कहाँ रहला ? सञ्जालमार्फत खुल्ला बार्गेनिङ गरिरहेकी ती छात्राले संग्रौला बाहेक कलेजका अन्य प्राध्यापकहरुलाई मात्रै होइन आफ्नै हजुरबुबालाई समेत बलत्कारी भएको अमर्यादित टिप्पणी गरेको पाइएको कलेजले जनाएको छ ।
प्रतिक्रिया