निजी विद्यालयमा छोराछोरी पढाउनुलाई सान सम्झने र आर्थिक अवस्था कमजोर भए पनि बोर्डिङमै पढाउने प्रवृत्तिले फेसनकै रूप लिइरहेको परिवेशमा बारा निजगढमा भने फरक सामाजिक चित्र देखिएको छ । पठनपाठन गुणस्तरीय रहेको निक्र्योलमा पुगेपछि स्थानीय बासिन्दाले आफ्ना केटाकेटीलाई निजी विद्यालयबाट झिकेर निजगढ गाविस– २ मा रहेको श्री सार्वजनिक माध्यमिक विद्यालयमा भर्ना गराउन थालेका छन् । दिनानुदिन यस विद्यालयमा भर्ना हुने छात्रछात्राको सङ्ख्या वृद्धि भइरहेको छ । रोचक त के छ भने यसरी सार्वजनिक विद्यालयमा विद्यार्थी तथा सम्बन्धित अभिभावकको आकर्षण बढेको देखेपछि यस क्षेत्रमा रहेको सहिद मेमोरियल इंग्लिस बोर्डिङ स्कुल व्यवस्थापन समितिले आफ्ना सबै विद्यार्थीलाई सोही विद्यालयमा भर्ना गराउने निर्णय गरेको छ ।
विद्यालयमा हालै आयोजित घोषणासभामा दुवै विद्यालय समायोजन गरिएको जानकारी गराइयो । कार्यक्रममा दुवै विद्यालय व्यवस्थापन समितिका सदस्य, अभिभावक र विद्यार्थीको उपस्थिति रहेको थियो । समायोजनपछि सहिद मोमोरियलबाट करिब एक सय ४० विद्यार्थी सार्वजनिकमा भर्ना भएका छन् भने अङ्ग्रेजी विषयको अध्यापन गर्ने तीन शिक्षकलाई पनि नियुक्ति गरिएको छ । विद्यालयको पठनपाठन गुणस्तरीय हुँदै गएकाले सामुदायिक विद्यालयमा अभिभावकको आकर्षण बढेको र निजी विद्यालय बन्द हुने अवस्थामा पुगेपछि सहमतिमा विद्यालय समायोजन गर्ने निर्णय भएको प्रधानाध्यापक हस्तबहादुर लामाले जानकारी दिए । ‘सामुदायिकबाट नै गुणस्तरीय शिक्षा पाइन थालेपछि निजीको आवश्यकता नै रहेन,’ लामाले भने ।
विद्यालयमा पठनपाठन गुणस्तरीय तुल्याउन पाँच वर्षअघिदेखि विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढनपाठन सञ्चालन हुँदै आएको छ । विद्यालयले जनक शिक्षा सामग्रीले तयार पारेको अङ्ग्रेजी माध्यमको पाठ्यपुस्तक कक्षा आठसम्म लागू गरेर अध्यापन गर्दै आएको हो । विद्यालयमा यस वर्षदेखि कम्प्युटर शिक्षासमेत सुरु गरिएको छ । विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले २१ थान कम्प्युटरका साथ कक्षा सञ्चालन गर्न लागेको हो ।
गाविसको गौरीशङ्कर उच्च माध्यमिक, गौरीशङ्कर उमावि सडकटोल र बकैया ठाकुर निमाविमा समेत निजी विद्यालय छोडेर भर्ना हुन आउनेको सङ्ख्या बढेको पाइएको छ । भर्ना अभियान सुरु भएपछि विद्यालयमा निजी छोडेर भर्ना हुन आउने विद्यार्थीको सङ्ख्या करिब एक सय ५० पुगेको गौरीशङ्कर उमाविका प्रधानाध्यापक यादवकुमार तिमल्सिनाले जानकारी दिए । उक्त विद्यालयमा पनि अघिल्ला वर्षदेखि नै अङ्ग्रेजी माध्यमबाट पठनपाठनसँगै कम्प्युटर शिक्षा लागू हुँदै आएको छ । शिक्षकहरूले इमानदारीसाथ पठनपाठन गरे सामुदायिक विद्यालयले पनि निजी विद्यालयसरह स्तरीय शिक्षा उपलब्ध गराउन सक्ने जिल्ला शिक्षा कार्यालयका स्रोतव्यक्ति तिलक खड्काले बताए । पठनपाठनमा सुधार गरेकाले जिल्लाको निजगढ क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक स्तर राम्रो रहेको पनि उनले बताए ।
प्रतिक्रिया