उग्र बन्यो राजसंस्था पक्षधरको आन्दोलन

उग्र बन्यो राजसंस्था पक्षधरको आन्दोलन


राजसंस्थाका पक्षधरद्वारा आज (१५ चैत) राजधानीको तीनकुनेमा गरिएको प्रदर्शन उग्र बन्न पुगेको छ । आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंले आफैं गाडी चलाएर प्रहरीको घेरा तोड्ने प्रयास गरेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रूग्यास प्रहारका साथै गोली समेत चलाएको छ भने यसबाट उत्तेजित हुनपुगेका प्रदर्शनकारीले हिंसात्मक प्रदर्शन गरेका छन् ।

यसक्रममा जथाभावी ढुंगा प्रहार गरिएका छन् भने व्यक्तिको घरमा आगजनी समेत गरिएको छ । प्रहरी बिट ढालिएका छन्, मोटरसाइकल जलाइएको छ । उत्तेजित प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा एक व्यक्ति घाइते बनेको समाचार छ । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन केही राउण्ड रबरको गोलीका साथै ४ राउण्ड रियल गोली समेत प्रयोग गरेको बुझिएको छ ।

घटनास्थलमा रहेका प्रदर्शनकारीहरूले प्रदर्शनकारीलाई गोली लागेको दाबी गर्दै विरोध जनाइरहेका छन् । प्रदर्शनकारीले सुरक्षाकर्मीको बोकेको बन्दुक खोसेको दृश्यसमेत देखिएको प्रत्यक्षदर्शीको भनाइ छ ।

प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सरकारले आफूहरुको मुख थुन्न खोजेको आरोप लगाएका छन् ।

उनले लेखेका छन्, ‘साथीहरू आज यो नालायक सरकारले हाम्रो मुख थुन्न खोज्यो । हामी शान्तिपूर्ण रुपमा कार्यक्रम स्थल जाँदै गर्दा हामी नपुग्दै प्रहरीले अश्रुग्यास प्रहार गर्‍यो, लाठीचार्ज गर्‍यो अझै तीनकुनेका घरघरमा लुकेर प्रहरीले अश्रुग्याँस प्रहार गरी हामीलाई कार्यक्रम सुरु सम्म गर्न दिएन ।’

‘मैले सुन्दैछु मलाई यो सरकारले बाकी नराख्ने योजना बुन्दैछ, म रहुँला नरहुँला आन्दोलन नरोकियोस्, यो व्यवस्था फेरेर मात्र यो अभियानले शान्तिको सास फेर्नेछु ।’ उनले आफू रहे नरहे पनि प्रदर्शन रोकिन नहुने बताएका छन् ।