आफूलाई ‘सार्पसुटर’ लगाएर मार्ने प्रयास गरिएको दुर्गा प्रसाईंको आरोप

आफूलाई ‘सार्पसुटर’ लगाएर मार्ने प्रयास गरिएको दुर्गा प्रसाईंको आरोप


शुक्रबारको हिंसात्मक प्रदर्शनपछि सार्वजनिक स्थानमा देखानपरी ‘फरार’ भएका नागरिक बचाउ अभियानका ‘अभियन्ता’ एवम् राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जन आन्दोलनका ‘कमाण्डर’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू डराएर नभागेको भन्दै सामाजिक सञ्जालमार्फत् एक भिडियो सार्वजनिक गरेका छन् ।

कुनै मन्दिरलाई पृष्ठभूमि बनाएर खिचिएको भिडियोमार्फत् प्रसाईंले आफूलाई सार्पसुटर प्रयोग गरी मार्ने षड्यन्त्र भएको जानकारी पाएर ज्यान जोगाउन लुक्नुपरेको तर ‘मर्न नडराउने’ अभिव्यक्ति दिएका छन् ।

आन्दोलन जारी राख्न आह्वान् गर्दै उनले सरकारले तीनकुनेको एक घरमा पहिले नै सार्पसुटर तैनाथ गरेको जानकारी पाएपछि सुरक्षित हुनका लागि प्रहरीको घेरा (ब्यारिकेड) तोडेको तर्क गरेका छन् । प्रहरीप्रति आफ्नो कुनै दुरासय नरहेको प्रस्टिकरण उनले दिएका छन् ।

शान्तिपूर्ण आन्दोलनलाई भड्काउन सरकारी पक्षबाट अनावश्यक रूपमा अश्रुग्यास र गोली प्रहार गरिएको आरोप लगाउँदै उनले आन्दोलन जारी राख्न आफ्ना ‘कार्यकर्ता’लाई आह्वान गरेका छन् ।