प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनाका दोषी कसैले पनि उन्मुक्ति नपाउने बताएका छन् ।
प्रतिनिधिसभाको आज (१८ चैत)को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गत शुक्रबार काठमाडौंमा दुईवटा विरोधसभा आयोजना भएकामा समाजवादी मोर्चाको विरोध लोकतान्त्रिक र विधिसम्मत भएको तर राजसंस्था पक्षधरहरुको विरोध प्रदर्शन संविधानविरोधी रहेको तर्क गरे । ‘पूर्वराजा ज्ञानेन्द्र शाह पनि तीनकुने घटनाका लागि जिम्मेवार रहेका छन्’ भन्दै प्रधानमन्त्री ओलीले घटनामा संलग्न दोषी सबैलाई कारबाही गरिने बताए । तीनकुने घटनाबारे सरकार गम्भीर रहे पनि संसदमै रहेका दल समेत आन्दोलनमा सहभागी रहेकाले सम्भावित हिंस्रक घटनाको कल्पना नगरिएको उनको भनाइ छ ।
‘यही चैत १५ गते दुईवटा रणनीतिक कार्यक्रमबारे प्रशासनलाई जानकारी गराइएको थियो । दुवै कार्यक्रम शान्तिपूर्ण र संवैधानिक दायराभित्रको भनिएको थियो । शान्ति, सुव्यवस्था कायम राख्दै विरोध, आलोचना गर्न पाउने संवैधानिक अधिकार सुनिश्चित गर्न सरकारले हुनसक्ने अवाञ्छित घटनाप्रति आयोजकहरुलाई सचेत गराएको थियो’, प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यस सम्मानित सदनमा राम्रो उपस्थिति रहेका दलहरुको मूल नेतृत्वमा ‘सामाजवादी मोर्चा’ले काठमाडौंको प्रदर्शनी मार्गमा भव्य सभा गऱ्यो । आफ्नो धारणा सार्वजनिक गऱ्यो । सरकारलाई खबरदारी गऱ्यो । संविधान र व्यवस्थाप्रति आफ्नो प्रतिबद्धता जनायो । शालीन जुलुससहित भएको त्यस कार्यक्रमका आयोजकहरुलाई धन्यवाद ज्ञापन गर्दछु । हाम्रो सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने विधि यस्तै हो भन्ने म ठान्दछु ।’
काठमाडौंको तीनकुनेमा अर्को सभाका लागि स्थान दिइएकामा त्यस कार्यक्रममा आयोजक को हुन् भन्नेमा केही आशङ्का र द्विविधा रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । त्यस कार्यक्रमको उद्देश्यमाथि आशङ्का गर्ने आधार रहेको र त्यसका आयोजकमध्ये केही व्यक्ति सदनमा उपस्थित दलका नेताहरुको पनि सहभागिता रहेकाले कार्यक्रमप्रति द्विविधासमेत रहेको उनले बताए ।
तीनकुने घटनामा जुन उद्देश्यले कार्यक्रम गर्ने भनिएको थियो, त्योभन्दा फरक र हिंस्रक प्रकृतिको प्रदर्शन त्यहाँ भएको प्रधानमन्त्री ओलीको जिकिर छ । “तीनकुनेका आयोजकहरुले पहिले प्रशासनलाई जानकारी गराएअनुसार सभा गरेनन् । उत्तेजक प्रदर्शन र अराजनीतिक नारासहित भीड सलबलाउन थाल्यो । सभा वा मन्तव्य हैन, प्रदर्शनको कथित ‘जनकमाण्डर’ आफैँले हाँकेको गाडी प्रहरीमाथि नै चढाउनेगरी निषेधित क्षेत्र तोड्न दौडाइयो, भीड नियन्त्रण गर्न प्रशासनले गरेको प्रयासका विरुद्ध, प्रहरीको बन्दुक खोस्ने, गुण्डागर्दी र कुटपिट गर्ने, लुटपाट गर्नेजस्ता वारदात सुरु गरियो”, संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने ।
उक्त घटनामा निजी व्यक्तिको घर, सार्वजनिक भवन, सञ्चारगृह, पार्टी कार्यालय, औषधि कारखाना र सवारीका साधनमाथि ढुङ्गामुढा गर्ने, तोडफोड गर्ने, आगजनी गर्ने र डिपार्टमेन्टल स्टोरहरु लुटपाट गर्नेजस्ता आपराधिक घटना भएको उल्लेख गर्दै उनले भने, ‘निजी व्यक्तिको घरमा आगजनी मात्रै गरिएन मानिसलाई भित्रै थुनेर बाहिरबाट ताला लगाई जिउँदै डढाउने हिंस्रक, आततायी कार्य भयो । सुरक्षाका हिसावले अति संवेदनशील ‘अन्तरराष्ट्रिय विमानस्थल’मा आगजनी गर्ने र ‘प्रज्वलनशील पदार्थ’मा आगो लगाई विस्फोट गराउने आतङ्ककारी कामसमेत भयो । प्रहरीका सवारीसाधन मात्रै हैन, आगो निभाउन पुगेका दमकलमाथि आक्रमण गरियो ।’
यस्ता क्रियाकलाप निन्दनीय र खेदजनक रहेको भन्दै घटनामा संलग्नहरुमाथि अनुसन्धान गरी कारबाही गरिने प्रधानमन्त्रीले प्रतिबद्धता जनाए । घटनाको विस्तृत अनुसन्धान गरी गृहमन्त्रीमार्फत संसद्लाई जानकारी गराइने उनको भनाइ छ । ‘घटनामा संलग्न जोसुकै होऊन्, जुनसुकै ‘कभर’मा किन नहोऊन्, कडा प्रशासनिक कारबाही हुन्छ । घटनाको विस्तृत विवरण उपयुक्त समयमा गृहमन्त्रीज्यूले यस सदनमा राख्नुहुनेछ’, उनले भने ।
तीनकुने घटनाको पृष्ठभूमिका रुपमा करिब एक वर्षअघि देखिको घटनालाई अध्ययन गर्नु आवश्यक रहेको औंल्याउँदै प्रधानमन्त्री ओलीले भने, ‘सरकार, व्यवस्था र संविधानप्रति अनास्था, घृणा र भ्रम फैलाउन एउटा तत्व त्यसै बेलादेखि क्रियाशील थियो । मौका खोजिरहेको थियो, धर्म, संस्कृति, परम्पराजस्ता संवेदनशील विषयमा अनावश्यक टिप्पणी गरी साम्प्रदायिक सद्भाव बिथोल्ने र खास समुदायमाथि आक्रमणमा उक्साउने काम गर्दै थियो । ऋण तिर्न पर्दैन भन्दै ऋणीहरुको भावनात्मक संवेदनामाथि खेल्ने र बैङ्क वित्तीय संस्था ध्वस्त पार्ने खेतीमा त्यो तत्व सक्रिय थियो ।’
‘प्रारम्भिक अध्ययनमा यी सबै घटनाले स्पष्ट पार्छ, पूर्वराजा शाहले संविधानसभाको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लङ्घन गर्नुभएको छ’, उनले भने ।
प्रधानमन्त्री ओलीबाट सम्बोधन भइरहँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले नियमापत्ति गर्दै विरोध जनाएका थिए ।
photo: rss
प्रतिक्रिया