रास्वपा सभापतिको जिम्मेवारी पुनः लामिछानेलाई

रास्वपा सभापतिको जिम्मेवारी पुनः लामिछानेलाई


सहकारीको रकम अपचलनसम्बन्धी मामलामा जोडिएका कारण पार्टीको मूल नेतृत्वबाटै किनाराकृत बन्न पुगेका रवि लामिछाने पुनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिको जिम्मेवारीमा फर्किएका छन् । सो पार्टीको आज (१८ चैत) बसेको केन्द्रीय समितिको बैठकले लामिछानेलाई सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।

केन्द्रिय समितिको पहिलो बैठकमा कार्यवाहक सभापति अर्यालले धन्यवाद ज्ञापन गरे । त्यसपछि लामिछानेको सभापतित्वमा आजै दोस्रो बैठक बसेको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।

उक्त बैठकमा पार्टी र सदनको गतिविधिबारे सदस्यबाट संक्षिप्त रिपोर्टिङ गरिने बताइएको छ । सोही बैठकमा ‘लिडरसिप एकेडेमी’को ‘फ्लो चार्ट’, जनयात्रा कार्यक्रम, अधिवेशन÷महाधिवेशन कार्यतालिका, पार्टीको राजनीतिक प्रतिवेदनमा आधारित देशव्यापी जागरण र बहस गर्ने विषयमा छलफल हुने जनाइएको छ ।

सहकारी ठगीलगायत चार कसुरमा आफूविरुद्ध अदालतमा मुद्दा दायर भएपछि लामिछाने सभापति पदबाट अलग भएका थिए । त्यसयता उपसभापति डोलप्रसाद अर्यालले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

photo: rss