राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले विस्थापित राजा ज्ञानेन्द्र शाहलाई काठमाडौं महानगरपालिकाले जरिवनापत्र पठाएकोप्रति आपत्ति जनाएका छन् ।
चैत १५ गते काठमाडौंको तीनकुनेमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले सरकारसँग पूर्वस्वीकृति लिएर संयुक्त जनआन्दोलन समितिको अपनत्वमा सम्पन्न भएको कार्यक्रममा सो क्षेत्रमा वातावरण प्रदुषण भएको भनी काठमाडौं महानगरपालिकाले ‘श्री ज्ञानेन्द्र शाह, निर्मल निवास’ उल्लेख गरी जरिवानापत्र पठाएकोमा समितिले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
समितिका कार्यवाहक संयोजक डा. गुरुङद्वारा जारी विज्ञप्तिमा जिकिर गरिएअनुसार राजाप्रति भ्रम र अनास्था सिर्जना गर्ने कुत्सित उद्देश्यले उक्त जरिवानापत्र पठाइएको हो ।
‘उक्त पत्राचारबाट राजाका सम्बन्धमा भ्रम र अनास्था सिर्जना गर्ने कुत्सित उद्देश्य रहेको समितिको ठहर रहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘यसपूर्व त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजाको स्वागतार्थ आयोजित कार्यक्रमका सन्दर्भमा राजालाई नभइ आयोजकलाई यस्तो पत्राचार गरिएको आफ्नै नीतिविपरित यसपटकको महानगरको निर्णय दुर्भावनायुक्त छैन भन्न सकिने देखिँदैन ।’
उक्त जरिवानापत्र फिर्ता नलिए महानगरको विरुद्ध कानुनी बाटो अपनाउन बाध्य हुने चेतावनी डा. गुरुङले दिएका छन् ।

प्रतिक्रिया