राप्रपाको बल्खु-खबरदारीसभामा सहभागीको संख्या बढ्दै

राप्रपाको बल्खु-खबरदारीसभामा सहभागीको संख्या बढ्दै


राजसंस्था र हिन्दुराज्यको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंको बल्खुमा आज (२६ चैत) आयोजना गरेको जुलुससहितको खबरदारीसभामा सहभागिता जनाउनेहरुको संख्या लगातार बढिरहेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू आमसभास्थलमा पुगेका छन् ।

भृकुटीमण्डपमा गर्ने भनिएको प्रदर्शनका लागि स्थानीय प्रशासनले अनुमति नदिएपछि राप्रपाले बल्खु क्षेत्रमा सभा गर्न लागेको हो ।

बल्खुमा खबरदारी सभामा सहभागी हुन बिहानैदेखि राजसंस्था पक्षधरहरू सहभागी भइरहेका भएपनि शीर्ष तहका नेताहरु भने दिउँसो १ बजेतिर मात्र पुगेका छन् भने बल्खुमा भेला हुन विभिन्न ठाउँबाट र्‍याली आउँदैछ ।

चैत्र १५ गते तीनकुनेमा राजसंस्थापक्षधरले गरेको विरोध कार्यक्रम हिंसात्मक भएपछि आजको कार्यक्रम शान्तिपूर्ण हुने राप्रपाले जनाएको छ ।

आजको खबरदारीसभा बाग्मति प्रदेशस्तरीय हुने र आगामी वैशाख ७ गतेबाट काठमाडौंकेन्द्रित आन्दोलन गर्ने राप्रपाको आन्दोलन कार्यतालिका छ ।

ज्ञातव्य छ, राजसंस्था स्थापनाका लागि स्थापित जनआन्दोलन परिचालन कमिटीले पनि राप्रपाको सभाप्रति ऐक्यबद्धता जनाएको छ।