छलफलबाटै निष्कर्ष निकाल्ने सहमति
आन्दोलनरत नेपाल शिक्षक महासङ्घ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच बिहीबार (२८ चैत) छलफल भएको छ । हाल भइरहेको शिक्षक आन्दोलनका बारेमा दुई पक्षबीच छलफल भएको हो ।
शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले प्रारम्भिक रुपमा शिक्षकसँग आन्दोलनका बारेमा छलफल गरिएको जानकारी दिँदै भने, ‘आजदेखि हामीले छलफल प्रारम्भ गरेका छौँ । उहाँहरुको चासो, सरोकारका विषयमा छलफल भयो, छलफलबाट नै निष्कर्ष निकाल्ने सहमति भएको छ ।’
प्रवक्ता सापकोटाले छलफललाई निरन्तरता दिने सहमति भएको जानकारी दिए । उनका अनुसार छलफलमा शिक्षामन्त्री विद्या भट्टराई, शिक्षासचिव डा. दीपक काफ्ले, शिक्षक महासङ्घका सहअध्यक्ष नानुमाया पराजुलीलगायतको टोली सहभागी थियो ।
शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयक जारी गर्न माग गर्दै यही चैत २० गतेदेखि काठमाडौंमा सडक प्रदर्शन गरिरहेको छ । प्रदर्शनमा देशभरिका शिक्षकहरुको सहभागिता रहेको दाबी गरिएको छ ।
प्रतिक्रिया