‘तीनकुने घटनाको अनुसन्धान जारी छ’ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले तीनकुनेमा चैत १५ का दिन भएको हिंसात्मक प्रदर्शनका क्रममा तोडफोड र आगजानीलगायत घटनामा संलग्नहरुरूलाई पक्राउ गर्ने क्रम जारी रहेको बताएका छन् ।
प्रतिनिधिसभाअन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठक आज (२९ चैत) उनले उक्त प्रदर्शनका मुख्य आरोपी दुर्गा प्रसार्इंलाई पक्राउ गरिएको जानकारी दिँदै घटनाका अन्य आरोपी पनि पक्राउ पर्ने क्रम जारी रहेको बताए ।
सोही प्रदर्शनमा घाइते भएकाहरूको उपचार सरकारले गर्ने भनेर मन्त्रिपरिषद्बाट निर्णय भइसकेको बताउँदै गृहमन्त्री लेखकले उपचार गराइराखेको अस्पतालभन्दा बाहिरबाट औषधि किन्नुपरेमा पनि त्यसको खर्च सरकारले ब्यहोर्ने जानकारी दिए । ‘घाइतेलाई अस्पतालमा पुगेर मैले भेटेको छु । घटनामा परी मृत्यु भएका दुवै जनाका परिवारलाई सरकारले राहतस्वरुप रु दश÷दश लाख दिने निर्णय गरेर प्रक्रिया अघि बढिसकेको छ’, उनले भने ।
‘लोकतान्त्रिक व्यवस्थामा आगो लगाएर निरङ्कुशताको खोजी उचित हुँदैन, हिन्दू धर्म जस्तो उत्कृष्ट धर्मलाई निकृष्ठ राजनीतिका लागि प्रयोग गर्नु हुँदैन’, गृहमन्त्री लेखकले भने । वर्तमान संविधान र लोकतान्त्रिक व्यवस्थामा आफ्ना असन्तुष्टि राख्न सकिने भए पनि लोकतन्त्रको विकल्प खोज्ने र पछाडि फर्किने छुट नभएकामा उनले जोड दिए ।
photo: rss
प्रतिक्रिया