‘देश र भविष्यलाई लिएर नेपाली जनतामा पैदा भएको जागरुकता सकारात्मक’ : राजा ज्ञानेन्द्र शाह

‘देश र भविष्यलाई लिएर नेपाली जनतामा पैदा भएको जागरुकता सकारात्मक’ : राजा ज्ञानेन्द्र शाह


राजा ज्ञानेन्द्र शाहले नागरिक स्वतन्त्रताभन्दा ठूलो तन्त्र वा वाद नहुने र जहाँ राम्रो/नराम्रो जनगुनासो सुन्ने परम्परा वा संस्कार हुन्छ त्यहाँ वास्तविक प्रजातन्त्र हुने बताउनुभएको छ । नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा देशवासीका नाममा शुभकामना सन्देश जारी गर्दै वहाँले जनभावना र चाहना बुझी मुलुककै समग्र संरचनामा नै हेरफेर एवम् सुधारका कदम चाल्नुपर्ने स्पष्ट देखिएको धारणा राख्नुभएको हो ।

राजाद्वारा जारी भिडियो सन्देशमा भनिएको छ- ‘हरेक नयाँ वर्ष नूतन आशा र विश्वास बोकेर आउने तर वर्षको बिदाइमा एउटा घनघोर निराशा हुने गरेको धेरै साल भयो ।’

चैत १५ गते राजसंस्थाको पक्षमा भएको प्रदर्शनका क्रममा भएको हिंसा र आगजनीबारे सुन्दा दुःख लागेको पनि वहाँले आफ्नो सन्देशमा उल्लेख गर्नुभएको छ । समाजका विभिन्न दल, वर्ग र जनसमुदायले आफ्नो धारणा, आस्था तथा अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता हो भन्दै वहाँले तर त्यस्तो धारणा प्रस्तुत गर्दा सबैले संयम अपनाउनुपर्ने बताउनुभएको छ ।

देशलाई शान्त र समृद्ध मुलुक बनाउने जागरूकता जनतामा पैदा भएको उल्लेख गर्दै राजाले आगामी वर्ष परिणाम आउने विश्वास थपिएको धारणा राख्नुभएको छ । नेपाली जनतामा देश र भविष्यलाई लिएर पैदा भएको जागरुकतालाई सकारात्मक रुपमा लिएको वहाँको भनाइ छ ।

शुभकामना सन्देशमा वहाँले सन्तुलित कूटनीतिक सम्बन्ध र आत्मनिर्भर नेपालको परिकल्पना नै पृथ्वीपथको मूल सार रहेको उल्लेख गर्दै यही नै राजनीतिको मूल धार हुनुपर्ने बताउनुभएको छ । राजा ज्ञानेन्द्र शाहले भन्नुभएको छ- ‘राष्ट्रियता र प्रजातन्त्रलाई मूल कार्य मान्दै जनभावनाबमोजिम चल्ने बहुदलीय प्रजातन्त्र र संवैधानिक राजसंस्थाको परम्परामा हाम्रो मान्यता रहीआएको छ । वर्तमानमा बदलिँदो जनचाहनाको पनि कदर गरी राज्यशक्तिको स्रोत जनता नै भन्ने मन्जुरी सदैव स्थापिपत हुनु पर्दछ ।’

‘विश्वभरि छरिएर रहेका नेपालीहरू एकताका सुत्रमा बाँधिन अब ढिला गर्नु हुँदैन’ भन्दै वहाँले आफ्नो ज्ञान सीप र सामर्थ्य मात्र होइन त्यहाँ आर्जेको पुँजी, स्रोत र साधनसमेत नेपालमै लगाउनु पर्दछ भन्ने भावना सबै जागृत गराउनु परेको सुझाउनुभएको छ । ‘स्वदेश फर्क स्वदेश नै स्वर्ग भन्ने अभियान चलाउनु पर्ने आजको आवश्यकता भएको राजाको धारणा छ ।

सन्देशमा वहाँले अगाडि भन्नुभएको छ- ‘शिक्षा, स्वास्थ्य र दैनिक कामकाजका पद्धति र प्रणालीहरुमा आमूल परिवर्तन र सुधार गरी तिनको आधुनिकीकरण अनिवार्य भइसकेको छ, सुशासन र भ्रष्टाचारमुक्त प्रशासन मूल नारा हुनुपर्छ । हामी अस्थिरता, अशान्ति, अराजकता, विपन्नता र भ्रष्टाचारको अन्त्य चाहन्छौँ । त्यसका निम्ति नेपाली जनताबाट हुने प्रयासहरूमा ऐक्यबद्धता हुनेछ । वास्तवमा नेपाली जनतामा रहेको देशभक्तिपूर्ण भावना विश्वमै अनुकरणीय र अनुशरणीय छ । देशलाई विद्यमान जटिलताबाट मुक्त गराई शान्त, स्थिर र समृद्ध मुलुक बनाउने जागरुकता जुन पैदा भएको छ, त्यो नयाँ वर्ष २०८२ मा नेपाली जनताको चाहनाअनुसारको परिणाम हासिल हुने विश्वास थपिएको छ ।’