माओवादी केन्द्रको जागरण अभियान नवलपुरबाट पुनः सुरु

माओवादी केन्द्रको जागरण अभियान नवलपुरबाट पुनः सुरु


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को ‘जनतासँग माओवादी हुलाकीमार्ग केन्द्रित तराई-मधेस जागरण अभियान’ नवलपुरको गैँडाकोटबाट पुनः सुरु भएको छ । झापाबाट सुरु भएको अभियान गत चैत ८ मा चितवन पुगेर स्थगित गरिएको थियो ।

अभियानका लागि सोमबार साँझ नै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितको टोली गैँडाकोट पुगेको थियो । नयाँ वर्षको अवसर पारेर नवलपुरबाट पुनः अभियान सुरु गरिएको प्रचण्डको भनाइ छ ।

अध्यक्ष प्रचण्डसहितको टोलीले आज (२ बैशाख) बिहान गैँडाकोट–४ को गैँडाकोट पम्पिङ स्किम खानेपानीबाट अभियानको सुरुआत गरेको छ । उक्त टोलीले यहाँ करिब पाँच किलोमिटर ‘मर्निङ वाक’ गरेको माओवादी केन्द्र गैँडाकोट नगर समितिका अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिए । अभियानका क्रममा प्रचण्डले गैँडाकोट–८ स्थित लखन चोकमा रहेको नेपालका प्रथम शहीद लखन थापाको सालिकमा माल्यार्पण पनि गरेका थिए ।

अभियानका क्रममा प्रचण्डले नगरपालिकाभित्र रहेका पार्टीनिकट शहीद परिवार, शुभेच्छुकलगायतका व्यक्तिहरुसँग समेत भेटघाट र कुराकानी गरेका थिए । माओवादी केन्द्रका उपाध्यक्ष नन्दकिशोर पुन पनि अभियानमा सहभागी छन् ।

अभियानका क्रममा आज नवलपुरकेन्द्रित कार्यक्रम रहने नगर अध्यक्ष अधिकारीले जानकारी दिएका छन् । जनतासँग माओवादी हुलाकी मार्ग केन्द्रित तराई-मधेस जागरण अभियान कञ्चनपुर पुगेर समापन गर्ने तयारी गरिएको छ ।