राजसंस्थाको पुनःस्थापना नै राष्ट्रिय संकटको निर्विकल्प उपाय

राजसंस्थाको पुनःस्थापना नै राष्ट्रिय संकटको निर्विकल्प उपाय


विगत केही वर्षदेखि नेपाली समाज मूल्यगत, सांस्कृतिक र नैतिक संकटमा सघनरूपले फसेको छ । लोकतन्त्रको नाममा जबर्जस्ती लादिएको कथित ‘गणतन्त्र’ले जनताको भावना, धर्म, संस्कार, सभ्यता र राष्ट्रिय एकतालाई जोगाउन असफल भएको तीतो यथार्थ हामी सबैले देखिरहेका/भोगिरहेका छौं । ‘जनताको शासन’ भनिएको व्यवस्थामा आज जनता नै उपेक्षित छन्, र विदेशी एजेण्डा बोकेका केही सीमित ब्यक्ति/शक्तिहरूले धर्म, संस्कृति र राष्ट्रिय अस्तित्वमाथि निरन्तर प्रहार गरिरहेका छन् ।

जात-पात, क्षेत्र, भाषा र लिङ्गको नाममा समाजमा विखण्डनको बीउ रोपिएको छ । बहुलताको नाममा विघटन, अधिकारको नाममा अराजकता र स्वतन्त्रताको नाममा मूल्यहीनता फैलिन थालेको छ । यसरी सामाजिक संरचना र वैदिक सनातन परम्परा टुक्रिँदै जाँदा, नेपाली जनताले फेरि त्यो साझा सूत्रको अभाव महशुस गर्न थालेका छन् जसले हाम्रो देशलाई एक बनाइराखेको थियो, त्यो हो- राजसंस्था ।

राजा केवल सत्ताको प्रतिनिधि होइनन् । उनीहरू वैदिक सभ्यता, धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको मूर्त प्रतीक हुन् । हिन्दू राष्ट्रको भाव, सन्त र साधुहरूको सम्मान, मठ-मन्दिरहरूको संरक्षण र सनातन धर्मको पहिचान सुरक्षित राख्न सक्ने शक्ति नै राजसंस्था हो । आज त्यो शक्तिलाई विस्थापित गरिँदा धर्म संकटमा परेको छ, राष्ट्रियताको भाव मरेको छ र विदेशी हस्तक्षेप मौन रूपमा मुलुकको ढोका खोलिरहेको छ ।

जनता आजको गणतान्त्रिक नेतृत्वबाट निराश भइसकेका छन् । जनताको नाममा राजनीति गर्नेहरूले नै जनतालाई विभाजनमा धकेलेका छन् । गणतन्त्रको आवरणमा धर्मको नाश, संस्कृतिको पतन, र स्वाभिमानको हत्या हुन थालेपछि जनताको विश्वास वैकल्पिक बाटोतर्फ मोडिएको छ । त्यो वैकल्पिक मार्ग अहिले जनताको आत्माबाट उब्जिएको विश्वास हो- राजसंस्थाको पुनःस्थापना !

राजा अब केवल स्मृतिमा सीमित पात्र होइनन्, उनी आशाको केन्द्र, धर्मको रक्षक र राष्ट्रिय आत्माको प्रतीक बनेर जनमानसमा फर्किएका छन् । गाउँदेखि शहरसम्म, मठदेखि मन्दिरसम्म, युवादेखि वृद्धसम्म सबैको एकस्वर छ- ‘हामीलाई धर्मको सुरक्षा चाहियो, संस्कृति र परम्पराको सम्मान चाहियो, अनि राष्ट्रिय एकताको बलियो सूत्र चाहियो ! र, त्यो सूत्र राजा नै हुन् ।’

यो कुनै सत्ताको लालसा होइन । यो राष्ट्र, धर्म र सभ्यताको रक्षाको पुकार हो । यो आत्मसम्मान जोगाउने संग्राम हो । र, यो आवाज अब दबाइँदैन ।

अतः, समयको यो निर्णायक मोडमा नेपाली जनताको आवाज स्पष्ट छ- राजसंस्थाको पुनःस्थापना नै राष्ट्रिय संकटको एक मात्र उत्तर हो ।

(पंक्तिकार धर्म, राष्ट्र र सभ्यताको संरक्षणमा समर्पित सचेत नेपाली हुन् ।)