रास्वपा पनि पुराना दलभन्दा फरक हुन नसकेको ठहर
रास्वपाका नेता रवि लामिछानेमाथि ‘सहकारी ठग’को ठप्पा लागेको छ । अदालती प्रक्रिया जारी नै रहेपनि ठूलो सङ्ख्याका नागरिकले उनलाई ‘दोषी’ ठानिरहेका छन् भने लामिछानेका प्रशंसकहरू उनी निर्दोष रहेको र जबर्जस्ती फसाइएको वकालत गर्छन् । आरोप र खण्डनको यही परिस्थितिबीच लामिछाने यतिबेला जेल-जीवन बिताउन विवश छन् । र, यही समय राष्ट्रिय स्वतन्त्र पार्टीका सह-महामन्त्री एवम् सांसद सुमना श्रेष्ठले पार्टीको सह-महामन्त्री पदबाट राजीनामा दिएकी छन्, जसले रवि लामिछानेको छविमाथि थप धक्का पुऱ्याएको छ ।
सहकारी प्रकरण चर्किएकै बेला सुमनाले आफूलाई सजग तुल्याइसकेकी थिइन् । सोही पार्टीका सोविता, विनिता, तोषिमाहरूले अस्वाभाविक तवरमा लामिछानेको पक्षमा वकालत गर्दैगर्दा सुमनाले किन संयमता/सावधानी अपनाइन् भन्ने खुल्दुली सचेतजनको एउटा तप्कामा उठेकै थियो । रास्वपाका अन्य नेताले झैँ ‘आँखा चिम्लिएर’ लामिछानेको पक्षमा आवाज बुलन्द नगरेकै कारण पार्टीभित्रै रविपक्षधरले उनको आलोचना गरेका थिए, सुषुप्तरूपले नै भएपनि । यसको अर्थ, रवि लामिछाने सहकारी ठगी प्रकरणमा कुनै न कुनै रूपले दोषी नै हुन् भन्ने सुमनाको ठहर रहेको आँकलन गर्न कठिन छैन । अहिले सह-महामन्त्री पदबाट राजीनामा दिएपछि त उनको ‘कित्ता’ करिव-करिव क्लियर नै भएको मान्न सकिन्छ । किनकि, राजीनामा पत्रमा पनि उनले ‘सहकारी ठग पार्टी’ भनेर जनमानसमा परेको छाप मेट्न रास्वपा असफल भएको सन्दर्भ उल्लेख गरेकी छन् । रास्वपा पनि पुराना दलभन्दा फरक हुन नसकेको उनको ठहर छ ।
वास्तवमा श्रेष्ठले गत चैत्र १७ गते सभापति रवि लामिछाने पार्टी काममा फर्किएको दिन नै आफ्नो राजीनामा बुझाएकी थिइन् । तर, के सोचेर हो लामिछानेले सुमनाको राजीनामा स्वीकृत गरेनन् । रवि सहकारी प्रकरणमा जेल चलान भएको डेढ सातापछि मात्र राजीनामा प्रकरणले एकाएक मिडिया कभरेज पायो । पार्टी सह-महामन्त्री जस्तो महत्वपूर्ण पदबाट राजीनामा दिनुको कारणमा ‘एक व्यक्ति एक पद’को एजेन्डालाई अघि सारेको तर्क गर्दै उनले राजीनामा प्रकरणले अनावश्यक चर्चा नपाओस् भन्ने ध्येय प्रकट गरेकी भएपनि उनले सोचेजस्तो भएन । सत्ता-गठबन्धनमा असमझदारी पैदा भएको चर्चालाई समेत करिव-करिव ओझेलमा पार्दै सुमनाको राजीनामा प्रकरण चर्चामा रह्यो । यसो हुनुमा सुमनाको ‘राजनीतिक कद’को भन्दा ‘सहकारी ठग’को विशेषण पाएका रवि लामिछाने नै कारकतत्व हुन् ।
त्यसो त सह-महामन्त्रीबाट राजीनामा दिँदैगर्दा सुमनाले स्पष्ट भाषामा भनेकी छन् कि ‘मैले पार्टी छोडेको होइन, केन्द्रिय सदस्य छोडेको होइन, केवल सह-महामन्त्रीको ओहदामात्रै छोडेकी हुँ, गलत अर्थ नलगाइयोस् !’ तर, उनले जे-जसरी प्रष्टिकरण दिने प्रयास गरेपनि यस राजीनामाको अन्तर्य असामान्य रहेको कुरालाई नजरअन्दाज गर्न मिल्दैन । रवि लामेछानेको सोच-व्यवहार या शैलीप्रति सुमना सन्तुष्ट नरहेको रास्वपाकै केही नेताहरूले परोक्ष ढङ्गले बताउँदै आएका छन् । यथार्थ के हो भन्ने त समयले स्पष्ट पार्दै जाने नै छ । अहिले नै धेरै भन्नु असान्दर्भिक ठहरिन सक्छ, तर अनुमान गर्नेहरूले त ‘सुमना यथार्थमै स्वतन्त्र ढङ्गले काम देखाउन सकिने कुनै निष्कलङ्क दलको नेतृत्वकर्ता बन्ने सोचबाट अभिप्रेरित त छैनन् ?’ भनी जिज्ञासा जगाएका छन् ।
जे होस्, सुमनाको राजीनामा प्रकरणले सहकारी ठगी प्रकरणबाट आरोपित रवि लामिछानेलाई धक्का नै पुऱ्याएको छ भन्दा अत्युक्ति ठहरिने छैन ।
प्रतिक्रिया