- द्रोण अधिकारी, भद्रपुर (झापा)
पिता पुर्खाको परम्परागत पेशाका रूपमा रहेको जरीबुटीबाट गरिने औषधोपचारमा रमाइरहेका ६१ वर्षीय लक्ष्मी राजवंशी हाडजोर्नीका समस्या पहिचान गरेर समाधानमा विशेष रूपमा क्षमता बोकेका वैद्य हुन् । धामी झाँक्री विद्याका पारङ्गत राजवंशी नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतको आयुर्वेद विभागबाट दिइएको जडिबुटी उपचार पद्धतिसम्बन्धी तालिमप्राप्त र सीप परिणमा सफल परम्परागत उपचारका वैद्यको परिचय भएका व्यक्ति बन्न सफल छन् ।
पैसाका लागि पेशा नरोजेका उनी सेवाका लागि जरीबुटी उपचारमा जुटेको बताउँछन् । विपन्न नागरिकको उपचार गर्न पाउँदा रमाउने लक्ष्मी धन कमाउन यो पेशा नअपनाएको प्रष्ट पार्छन् । टाटी बेराले घेरेको टिनको एक तले घरमा बस्ने उनी धामी झाँक्री तथा जरीबुटी वैद्य कार्य गरे वापत सेवाग्राहीबाट सामान्य शुल्क मात्र लिने गर्दछन् ।
झापा भद्रपुर १० चन्द्रगढीका स्थायी बासिन्दा राजवंशीले लक्ष्मी आयुर्वेद उपचार केन्द्र मार्फत हाडजोर्नी, नशा, पेट सम्बन्धी समस्यादेखि क्यान्सर रोगीसम्मको सफल उपचार गरेर समस्या मुक्त गरेको बताउँछन् । उनले ब्लड क्यान्सर, पेटको क्यान्सर, घाँटीको क्यान्सर भएका ६ जना बिरामी निको बनाएर घर फर्काएको दाबी गर्दै तीन ठाउँ ढाड भाँचिएर थला परेको एक जना मजदुरलाई निःशुल्क उपचार गरी सामान्य अवस्थामा ल्याएको समेत जानकारी दिए । उनका अनुसार जरीबुटीको माध्यमबाट अहिलेसम्म ६ सय बढी व्यक्तिको विभिन्न समस्या हल गरेर निको बनाइसकेका छन् ।
लक्ष्मी राजवंशीको मुख्य उपचार सीप हाडजोर्नीमा भए पनि मानव शरीरमा लागेका विभिन्न रोग निको बनाउन गाउँघरमै पाइने जरीबुटीको सही पहिचान गरेर सफल उपचारमा तल्लीन देखिन्छन् । झापा सदरमुकाम चन्द्रगढीको चैतुमन्दिर तथा धनुषमोडको बीचमा पर्ने नयाँ बस्तीमा घर रहेको उनले त्यहीबाट विरामीको सेवा गर्ने गर्दछन् भने पछिल्ला केही वर्षयता दक्षिणी झापाको राजगढमा पनि उपचार सेवा विस्तार गरी ग्रामिण बासिन्दाको सेवा गरिरहेका छन् ।
सामान्य शुल्क लिएर उपचार गरिरहेका राजवंशीले कतिपय ठूला अस्पतालमा उपचार असफल भएर समस्यामा परेका हाडजोर्नीका बिरामीको सफल उपचार गरेर घर फर्काउने गरेका छन् । अन्यत्र गएर रोगबाट छुटकारा नपाएका कतिपय बिरामीको उपचार उनका कारण सफल भएपछि सोचेभन्दा बढी सम्मान समेत पाएको अनुभव पनि बटुलेका छन् ।
आर्थिक रूपमा सामान्य अवस्थामा चलिरहेका राजवंशी सीप भएर पनि पहिचान पाउन नसकेका व्यक्ति हुन् । गरिब र बिपन्न व्यक्तिहरूलाई निशुल्क उपचार सेवा दिइरहेका उनले पैसाका लागि नभएर सेवाका लागि जरीबुटीको माध्यमबाट उपचार गरिरहेका छन् । बाबु बाजेले जानेको पेशा रोजेका उनले यही पेशाबाट ४ जनाको परिवार धानी रहेका छन् ।
आफ्नै वरपर पाइने जरीबुटी संकलन गरेर रोग अनुसार उपचार गर्ने लक्ष्मी पेशाले सरस्वती भक्त हुन पुगेका छन् । उनले विज्ञानले गर्न नसकेको कतिपय रोगीको जीवन फर्काउन सकेकोमा आफ्नो पेशामा गौरव गर्ने गरेका छन् । उनीसित उपचार गर्न आइपुग्ने कतिपय मानिसले रोगबाट मुक्ती पाए पनि सामान्य उपचार खर्च समेत नतिरी भाग्ने गरेको अनुभव पनि सुनाउँछन् । अस्पतालमा हजारौं तिर्दा निको नभएको रोगलाई उनले १५०० देखी ५ हजारसम्म लागतमा निको पार्ने गरे पनि सवै विरामीले लागत खर्च पनि नतिरेको बताउँछन् ।
ग्यास्र्टीक, अल्सर, पथरी, दम, खोकी, दाँत गिँजा, पायल्स, सुगर, प्रेसरदेखि क्यान्सरसम्मको उपचार जरीबुटीबाटै गरिरहेका लक्ष्मीको उपचार पद्धति अहिलेसम्म सफल रहेको बताउँछन् । झापामै रहेका केही हाडजोर्नीका बिरामी उपचार गर्ने जरीबुटीवालाहरूले बिगारेका हाडजोर्नीका बिरामीलाई उनले सहज उपचार गरेर निको बनाएका प्रशस्तै उदाहरण पनि रहेका छन् ।
उनको अनुभव अनुसार हाम्रो देशभित्र सवै प्रकारका रोग निको पार्न सक्ने जरीबुटी छन् तर ती जरीबुटी चिन्न सक्ने सीप नभएका कारण त्यसै खेर गइरहेको अवस्था छ । उनको लक्ष्मी आयुर्वेद उपचार केन्द्रमा पछिल्लो समय पत्थरीको समस्या भएका रोगीहरू बढी मात्रामा आउने गरेका छन् । खानपान र रहनसहनका कारण पित्त थैली तथा मृगौलामा पत्थरी जम्ने क्रम बढेको बताउने लक्ष्मीको भनाइमा हामीले खाने खानामा रसायन तथा विषादी प्रयोगको मात्रा नघट्ने हो भने यो समस्या विकराल बन्न सक्छ ।
आदिवासी समुदायका लक्ष्मीले पढेर नभइ परेर झाँक्री तथा वैद्यको विद्या सिकेको बताउँछन् । रसायन र विषादी नमिसिने हो भने माटोदेखि झारपातसम्म रोग प्रतिरोधात्मक औषधी बन्न सक्ने बताउने राजवंशी गाउँघरदेखि जङ्गल तथा झाडीसम्म गएर आवश्यक जरीबुटी संकलन गर्ने गर्छन् । उनको भनाइमा विरामीले विश्वास नगरेसम्म रोगका बिरूद्ध जरीबुटीको प्रभाव नरहन सक्छ । त्यसैले उपचार गर्न आउने विरामीले जरीबुटीप्रति विश्वास बोकेर आए मात्र ओखतीले काम गर्छ ।
नामले लक्ष्मी भएका राजवंशी कमले सरस्वतीका प्रसाद बन्न सफल छन् । पछिल्ला वर्ष दक्षिणी झापाको राजगढमा बढी समय दिइरहेका उनीसित भेट्न चाहने व्यक्तिले उनको मोवाइल नम्वर ९८२४०५४८७० मार्फत सम्पर्क गरेर सेवा लिन सकिने बताउँछन् । आदिवासी समुदायका लक्ष्मी पिता पुर्खाको सीप अनुशरण गर्ने पछिल्लो पुस्ताका सफल सन्तान हुन् । जसले बाबु बाजेले जस्तै जरीबुटीबाट रोग भगाएर मानव जीवनलाई निरोगी वातावरण बनाइरहेका छन् ।
प्रतिक्रिया