राष्ट्रिय उसु निर्णायक एवम् उसु डिप्लोमा परीक्षा कोर्ससम्बन्धी सेमिनार सम्पन्न

राष्ट्रिय उसु निर्णायक एवम् उसु डिप्लोमा परीक्षा कोर्ससम्बन्धी सेमिनार सम्पन्न


नेपाल उसु महासंघको तत्वावधान तथा सुदूरपश्चिम प्रदेश उसु संघको आयोजनामा धनगढीमा सातौँ राष्ट्रिय उसु निर्णायक एवम् एघारौँ राष्ट्रिय उसु डिप्लोमा परीक्षा कोर्ससम्बन्धी सेमिनार सम्पन्न भएको छ ।

सुदूपश्चिम सरकारका निवर्तमान भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवाद्वारा उद्घाटन गरिएको र सात दिनसम्म संचालन भएको उक्त सेमिनार अन्तर्राष्ट्रिय उसु महासंघ (IWUF) द्वारा जारी गरिएको ‘ए’ ग्रेट लाइसेन्स होल्डर जज सान्सौ विधातर्फ रतन बहादुर खाती र गोविन्द बहादुर शाही तथा थाउलु विधातर्फ मन्जुर महर्जन, राजेन्द्र कुमार बुढाथोकी, अन्तर्राष्ट्रिय कोच निकेश श्रेष्ठ, जुनी राई र दक्षिण एसियाली जज प्रकाश शाहीको प्रशिक्षणमा सम्पन्न भएको नेपाल उसु महासंघका महासचिव ल्हाक्पा छिरिङ लामाले जानकारी दिएका छन् ।

राष्ट्रिय डिप्लोमा कोर्स तथा राष्ट्रिय निर्णायक सेमिनार अन्तराष्ट्रिय उसु महासंघ को प्राविधिक नियमावली अनुसार जारी गरिएको २०१९ संस्करणको थाउँलु टेक्निकल बुक र २०१७ को सान्सौ टेक्निकल बुक अनुसार IWUF जजहरुद्वारा आधिकारिक रूपमा प्रशिक्षण दिईएको थियो ।

सुदूरपश्चिम, लुम्बिनी, कर्णाली, गण्डकी, बागमती, कोशी प्रदेश, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका तर्फबाट गरि ११० जनाको उल्लेख्य सहभागिता रहेको आयोजक कमिटिका संयोजक तथा सुदूरपश्चिम प्रदेश उसु संघका कार्यवाहक अध्यक्ष राजीव गुप्ताले बताए ।

परीक्षामा सफलता प्राप्त गर्ने परिक्षार्थीहरुलाई समापन समारोहका प्रमुख अथिति सुदूरपश्चिम प्रदेस सरकारका समाजिक विकास राज्यमन्त्री सरस्वती खड्का, नेपाल उसु महासंघका अध्यक्ष वीरबहादुर तामाङ, उपाध्यक्ष दुष्यन्त बस्नेत लगायत अन्य विशिष्ट अथितिहरुबाट प्रमाणपत्र, लाइसेन्स, उसु टाई र मानोग्राम प्रदान गरिएको थियो ।

राष्ट्रिय उसु निर्णायक सेमिनारमा उत्कृष्ट हुने सहभागीहरुले निकट भविष्यमा हुने दक्षिण एसियाली खेलकुद प्रतियोगिता सेमिनारमा सहभागी हुन जाने छन् भने अन्तर्राष्ट्रिय उसु महासंघ एसियन उसु महासंघद्वारा आगामी वर्षहरूमा संचालन हुने अफिसियल जज सेमिनारमा समेत सहभागिता हुन पाउने भएका छन् ।