- विकास रौनियार, गजुरी (धादिङ)
धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ डुँडेठाँटीका ६० वर्षीय चुडामणि कँडेलको हत्या भएको करिव एक महिनापछि आइतबार जिल्ला प्रहरी कार्यालय धादिङले तीनजना आरोपितहरु सार्वजनिक गरेको छ ।
२०८१ चैत २४ गते बेलुका तीनजनाले कँडेल आफ्नै दुईतले घरको भुइँतलाको कोठाभित्र रहेको एटेच ट्वाइलेट बाथरुम भित्रको भुइँमा घाँटीमा डोरी कसिएको अवस्थामा मृत शरीर फेला परेको थियो ।
कँडेल हत्या आरोपमा पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–९ घर भएका ३६ वर्षीय अक्कलबहादुर प्रजा, २५ वर्षीय पृथलाल थिङ र २७ वर्षीय सञ्चलाल मुक्तान रहेका जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले जानकारी दिनुभयो ।
प्रजालाई प्रहरीले ०८२ वैशाख ३ गते डुँडेठाँटीबाट पक्राउ गरेको थियो भने थिङ र मुक्तान वैशाख १६ गते मनहरी गाउँपालिका–७ बाट पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार मृतक चूडामणि कँडेल र श्रीमती सुस्मिता सिलुरालबीच सम्बन्ध राम्रो थिएन । उनीहरूबीच सामान्य बोलचालसमेत बन्द थियो । यसैबीच कँडेलले आफ्नी श्रीमतीलाई मार्ने योजना बनाए । उनले यसका लागि अक्कलबहादुर प्रजालाई ४ लाख रुपैयाँको ‘सुपारी’ पनि दिए । प्रजाले नै पृथलाल थिङ र सञ्चलाल मुक्तानलाई यो काममा सहभागी गराएको पत्रकार सम्मेलन गरी प्रहरीले जनाएको छ ।
उनीहरूले सुस्मितालाई मार्न पटक-पटक प्रयास पनि गरे, तर उनीहरूको योजना कहिल्यै सफल भएन । यता, आफ्नो काम नभएपछि कँडेल थिङसँग रिसाए । काम नभएपछि कँडेलले थिङलाई छिटो काम गर्न अन्यथा रकम फिर्ता गर्न दबाब दिएको पाइएको प्रहरी अनुसन्धानमा खुलेको छ ।
कँडेलले धेरै नै दबाब दिएपछि रिसाएका उनीहरूले कँडेलकै हत्या गर्ने योजना बनाए । त्यसपछि उनको घरमा पुगेर हत्या गरे । प्रहरीले उनीहरूको साथबाट मृतकको घाँटीमा कसेको डोरी र घटनामा प्रयोग भएको कोदालो बरामद गरेको छ । त्यस्तै, प्रजाको कोठाबाट कँडेलले दिएको १ लाख रुपैयाँ रकम, कँडेलले नै दिएको पैसाबाट किनेको एकै किसिमको कपडा र जुत्ता र कम्ब्याट हाफ पाइन्ट पनि प्रहरीले बरामद गरेको छ ।
अभियुक्तहरूले मृतक कँडेलको फोन पनि फुटाएर फालेका थिए । उनीहरूले भनेको स्थानबाट कँडेलले प्रयोग गर्ने रेडमी फोनको टुक्राहरू पनि फेला परेको छ । तीनै जनामाथि ज्यानसम्बन्धी कसुरमा धादिङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया