जिल्ला प्रहरी परिसर काठमाडौंले स्रोत नखुलेको ९५ लाख १७ हजार पाँच सय नगदसहित चार जनालाई नियन्त्रणमा लिएको छ ।
आइतबार (२१ वैशाख) अपरान्ह काठमाडौं महानगरपालिका-९ पिङ्गलास्थानस्थित पशुपति भिजन अघिल्तिर सडकमा दुई वटा मोटरसाइकलमा शङ्कास्पद ढंगले सवार रहेका चार जनालाई नियन्त्रणमा लिएर उनीहरुको साथमा रहेको झोला खानतलासी गर्दा उल्लिखित परिमाणमा नगद फेलापरेको प्रहरीले जनाएको छ ।
परिसरका सूचना अधिकारी एस्पी अपिलराज बोहराका अनुसार करिव करोड हाराहारीको नगदसहित पक्राउ पर्नेहरुमा काठमाडौं, तारकेश्वर नगरपालिका-३ फेदी घर भएका वर्ष २९ का समुन्द्र जमकट्टेल, सप्तरीको सप्तकोशी नगरपालिका-१ घर भएका वर्ष ४३ का गणेश राई, लमजुङ दोदी गाउँपालिका-३ घर भएका वर्ष ३१ का सन्तोष गुरुङ र सोही ठेगाना घर भएका वर्ष ३९ को सन्तोष घिमिरे रहेका छन् ।
उनीहरुमाथि आवश्यक थप अनुसन्धान एवम् कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया