ज्याकुजीबाट बाहिर निस्किएपछि लडेका थिए प्रचण्ड !

ज्याकुजीबाट बाहिर निस्किएपछि लडेका थिए प्रचण्ड !


रिसोर्टमा लडेर घाइते हुनुभएका माओवादी अध्यक्ष प्रचण्डको स्वास्थ्यमा निकै सुधार भएको छ । यही बैशाख २३ गते मङ्गलबार आफ्नो परिवारका सदस्यसहित प्रचण्ड लाकुरी भन्ज्याङस्थित अति सुविधासम्पन्न मानिने टेरेस रिसोर्ट एण्ड स्पामा रमाइलो रात बिताउन पुग्नुभएको थियो । जहाँ एउटा कोठामा एक रात बिताउन एकतीस हजार भन्दा बढी रूपैयाँ शुल्क लाग्दछ।

ब्लु लेबल मदिराको चुस्कीसङ्गै भोजन ग्रहण गरिसकेपछि राति उहाँ ज्याकुजी (तातोपानी)मा डुबेर बस्नु भएको थियो । केहीबेर तातो पानीमा डुबेर निस्किनु भएका प्रचण्ड मदिराको नसामै रहनु भएको र चप्पल नलगाइकन बाथरूममा जाँदा चिप्लिएर उहाँ नराम्रोसङ्ग पछारिनुभएको थियो । त्यसक्रममा भित्तामा ठोक्किएर उहाँलाई गम्भीर चोट लागेको थियो ।

बाथरूममा स्याम्पु पोखिएको हुनाले त्यसैमा परेर चिप्लिनुभएको एक प्रत्यक्षदर्शीले बताएका छन् । घाइते प्रचण्डलाई तत्काल लाँकुरीभन्ज्याङबाट नख्खुस्थित मेडिसिटी अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा परीक्षणपश्चात् उपचार गरेर उहाँलाई राति नै घर फर्काइएको थियो ।

क्रान्तिकारी नेता प्रचण्ड साँझ परेपछि मदिरासङ्गै रमाएर बस्ने गर्नुहुन्छ र धेरैजसो उहाँ विभिन्न सुविधासम्पन्न रिसोर्टहरूमा पुग्ने गर्नुहुन्छ। घरमै बस्दा पनि प्रचण्ड साँझ परेपछि मदिरा ग्रहण गर्ने गर्नुहुन्छ भन्ने उहाँको घर परिवारसम्बद्ध सूत्रले जनाएको छ । पार्टी काममा विभिन्न जिल्लाहरूको भ्रमणमा गएका बेला समेत प्रचण्ड रात परेपछि मदिरा ग्रहण गर्ने गर्नुहुन्छ र मदिरा ब्लु लेबल ब्राण्डकै हुने गर्दछ ।