रुकुमपश्चिमको सानीभेरी गाउँपालिका-१० अमलाटाकुरीस्थित सिम्लीबाट तिमिले जोड्ने भित्री सडकखण्डमा मंगलबार (२९ वैशाख) जीप दुर्घटना हुँदा घाइते भएका थप एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ । चौरजहारी नगर अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा सानीभेरी गाउँपालिका-१० की ४४ वर्षीया लीला ओलीको मृत्यु भएको हो ।
यसअघि दिउँसो लुप्र०२००१च ०१७७ नम्बरको सो जीप ब्रेक फेल भई दुर्घटना हुँदा सानीभेरी गाउँपालिका-१० का ५० वर्षीय नरबहादुर ओलीको घटनास्थलमै मृत्यु भएको थियो । उक्त दुर्घटनामा मृत्यु हुने श्रीमान्-श्रीमती हुन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार जीपचालक दाङ तुलसीपुर उपमहानगरपालिका-७ का ४४ वर्षीय लीलामणि भण्डारी र सोही स्थानका ५० वर्षीया दुर्गा ओली घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेहरूको चौरजहारी नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया