सर्लाही जिल्लाको पर्सा गाउँपालिका वार्ड नं. ५ निवासी तसलिम अंसारी र सलिम अंसारीलाई सुगुर बस्ने खोरमा थुनेर कुटपिट गरिएको छ । गत शनिबार बिहान १० बजेको समयमा तसलिम र सलिमलाई सुंगुर बस्ने खोरमा थुनेर सोही ठाउँका केही आपराधिक चरित्रका व्यक्तिहरुले निर्धात कुटपिट गरेका र सो व्यवहार सामाजिक सदभाव बिथोल्ने प्रयास भएको भन्दै निन्दा गरिएको छ ।
बताइएअनुसार, तसलिम अंसारीको छोरीको विवाह वार्ड नं. ६ बस्ने लाल महम्मद अंसारीको छोरासँग जेष्ठ ८ गते हुने निश्चित भएको थियो । विवाहको लागि गरगहना बनाउने सम्बन्धमा शनिबार बिहान स्थानीय सुनचाँदी पसले राजिन्द्र साह सोनारसँग वादविवाद र धक्कामुक्की भएको स्थानीय प्रत्यक्षदर्शी तथा पीडित अंसारीका छोरा कौशर अंसारीले बताएका छन् ।
उक्त घटना भएको केहीबेरमै सुनपसले राजिन्द्र साह सोनारले स्थानीय केही अपराधिक एवम् साम्प्रदायिक मानसिकता भएका व्यक्तिहरुलाई परिचालन गरी तसलिम र उनका भाइलाई सुंगुर बस्ने खोरमा थुनेर कुटपिट गरेका स्थानीयको भनाइ छ । अन्सारीलाई कुटपिट गरेका भिडियोहरु यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

कुनै पनि विवाद हुँदा नजिकको प्रहरीलाई खबर गर्नुपर्ने हो, तर यसरी कानुन नै हातमा लिएर कुनै व्यक्तिलाई सुंगुरको खोरमा थुनेर कुटपिट गर्नु कानुनविपरीत र अन्यायपूर्ण कार्य भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक सरोज राईको भनाइ छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । दोषीहरुमाथि उचित कानुनी कारवाही हुने प्रहरी नायब उपरिक्षक राईले बताए । अंसारीमाथि कुटपिट गर्ने चार व्यक्तिहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।
शान्तिसुरक्षाको व्यवस्था फितलो भएको कारण यस्ता धार्मिक तथा सामाजिक द्वन्द्व फैलाउने व्यक्ति वा समुहको मनोबल उच्च भएको आम नागरिकको बुझाइ छ । सामान्य विवादलाई बहाना बनाउँदै अन्सारी दाजुभाइलाई सुंगुरको खोरमा थुनेर गरिएको कुटपिट र अपमानजक व्यवहारले मानवता र सामाजिक सभ्यता नै लज्जित भएको भन्दै नेपाल संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्व गृह राज्यमन्त्री रिजवान अन्सारीले विरोध जनाएका छन् । घटनाप्रति आक्रोश प्रकट गर्दै अन्सारीले यसलाई समाजिक एकता, सहिष्णुता र न्यायमूलक राज्य व्यवस्थामाथिको गम्भीर आक्रमण भनेका छन् । पीडित परिवारलाई तत्काल न्याय दिन, सुरक्षाको प्रत्याभूति गराउन र समाजमा पुनःस्थापनाका लागि प्रभावकारी कदम चाल्न उनले आग्रह गरेका छन् ।
प्रतिक्रिया