मौसम पूर्वानुमान : तीन दिन अझै वर्षाको सम्भावना

मौसम पूर्वानुमान : तीन दिन अझै वर्षाको सम्भावना


जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव कायम रहेकाले तीन दिन अझै वर्षाको सम्भावना रहेको जनाएको छ ।

अहिले पनि देशका अधिकांश स्थानमा हल्कादेखि भारी वर्षा हुनुका साथै हुरी र चट्याङ परिरहेको उल्लेख गर्दै महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहेको र सबै प्रदेशको एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको जानकारी दिँदै भनेका छन्, ‘हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव, साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ, जसले गर्दा जुनसुकै समयमा पनि वर्षा भइरहेको छ ।’

अहिले प्रि–मनसुनको समयमा खासगरी साँझाको समयमा चट्याङसहितको वर्षा हुनेगर्छ । उनका अनुसार सोमबार राति पनि देशका विभिन्न भागमा पानी पर्नुका साथै तीन दिनसम्म पानी पर्ने सम्भावना रहेको उछ ।

देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरको छ ।