- विशेष प्रतिनिधि, टोकियो (जापान)
‘मैले चामल किनेको छैन’ भन्ने विवादास्पद अभिव्यक्तिको जिम्मेवारी लिँदै जापानका कृषिमन्त्री एतोउले बुधबार (मे २१) बिहान प्रधानमन्त्री इशिवा सिगेरुलाई राजीनामा बुझाएका छन् । प्रधानमन्त्री कार्यालयले उक्त राजीनामा स्वीकार गरेको छ।
मन्त्री एतोउले मे १८ मा आयोजित एक कार्यक्रममा ‘मैले कहिल्यै चामल किनेको छैन, समर्थकहरूले दिनुभएको चामल बेच्नुपर्ने अवस्थामा छु’ भन्ने अभिव्यक्ति दिएका थिए । सार्वजनिक चासोको विषय बनेको उक्त भनाइपछि उनले तीव्र आलोचना खेप्नुपरेको थियो ।
आफ्नो बोली विवादास्पद बनेपछि उनले अभिव्यक्ति फिर्ता लिँदै माफी पनि मागेका थिए, तर प्रमुख विपक्षी दल रिक्केन मिनशु (संवैधानिक प्रजातान्त्रिक पार्टी) सहित अन्य दलहरूले उक्त टिप्पणीलाई अत्यन्तै संवेदनहीन र मन्त्रीको पदमा बस्न अयोग्य भन्दै आलोचना गर्दै आएका थिए । विपक्षी दलहरुले एतोउको विरुद्ध अविश्वास प्रस्ताव पेस गर्ने तयारी पनि गरिरहेका थिए।
राजीनामा दिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एतोउले भने, ‘चामलको मूल्यवृद्धिबाट जनताहरू पीडित छन् । यस्तो संवेदनशील समयमा कृषिमन्त्रीका रूपमा मैले अनुचित अभिव्यक्ति दिएँ । जनतासमक्ष गहिरो माफी चाहन्छु ।’ उनले थपेका छन्, ‘अहिले चामलको मूल्य स्थिर राख्ने प्रयास निर्णायक चरणमा छ । यस्तो अवस्थामा मेरो निरन्तरता उचित ठानिनँ ।’
यसैबीच, प्रधानमन्त्री इशिवा सिगेरुले एतोउको उत्तराधिकारीका रूपमा सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) का युवा नेता शिन्जिरो कोइजुमीलाई नियुक्त गर्ने तयारी गरेका छन् । पूर्वमन्त्रीसमेत रहेका कोइजुमीले पार्टीको कृषि विभागको नेतृत्व गरिसकेका छन् र कृषि नीतिमा दख्खल राख्ने नेताका रूपमा चिनिन्छन् ।
सरकारले चामलको मूल्य स्थिरता, किसानको हित र जनताको विश्वास पुनः प्राप्त गर्ने उद्देश्यले नयाँ नेतृत्वमार्फत कृषि मन्त्रालयको पुनर्संरचना गर्ने तयारी गरेको जनाइएको छ ।
प्रतिक्रिया