लौ आज ठुलो माछो समातियो भन्यो रातारात छुट्छ । ठुलो माछो समाएपछि भ्रष्टहरू ओइलाए कि भन्यो झन्-झन् ठाँटबाँट बढाउँछन् । समाइएकालाई बनावटी बयान लियो छोड्यो ! ह्वेल माछोलाई त कसैले छुनै सक्दैन, उल्टै छुनेलाई निल्दिन्छ । यस्तो भएपछि भ्रष्टहरू त झन्-झन् सूरा भएर पो आउँदा रहेछन् !
✍ कृष्णराज शर्मा
कुन गाउँबाट यो चलन आयो थाहा छैन, तर त्यो गाउँमा इन्द्रे र चन्द्रे निकै बलिया रहेछन् । गाउँमा यिनै दुई बाउ-छोराको दबदबा रहेछ । छोरो इन्द्रे भन्दा बाउ चन्द्रे झनै तगडा रहेछ । जवान छोरो तगडा नभएर किन उसको बुढो बाउ झन् तगडा मानियो ? आजसम्म अनुत्तरित प्रश्न हो यो ! र, अहिले पनि कुनै मान्छे कुनै संवाद छलफल वा झैझगडामा जोसिएर उफ्रेर धमास दिँदै आफ्नो पक्ष बलियो पार्ने कोशिश गर्छ र भन्छ – ‘इन्द्रेको बाउ चन्द्रे आएपनि डराउन्न !’ धराने मेयरले यो धमास निकै मनपराउँछन् जस्तो लाग्छ पङ्क्तिकारलाई ।
तर, अहिले यो उखान फेरिएछ । अचेल त्यसो नभनेर अर्कै भएको रहेछ उखानको भाषा- ‘कसका बाउको तागत !’ यो ‘कस्का बाउको तागत’ मात्र भन्दा हिजोका इन्द्रे-चन्द्रेको नाम मेटिएछ । बाउ मात्र भन्न थालेछन् । जस्तै मलाई जेल हाल्ने ‘कसका बाउको तागत ?’ भन्दै काङ्ग्रेसी पूर्वमन्त्री तथा निलम्बित सांसद मोहनबहादुर बस्नेतले एउटा टिभी-संवादमा धमास दिएछन् । अख्तियारले उनलाई भ्रष्टाचारमा मुछेपछि प्रतिवाद गर्दै टिभीमा त्यस्तो धमास दिन गएका रहेछन् । यो धमासमा न इन्द्रे छ न चन्द्रे केवल बाउ मात्र छ ! किन बस्नेत काजीले इन्द्रे र चन्द्रेलाई छुटाए ? बुझ्न गाह्रो भो ! कि शिशाको घरमा बसेको अख्तियारले समात्यो भने ‘कसका बाउको तागत’ भन्दै छोटकरीमा धमास दिनुपर्ने रहेछ कि कसो हो ?
यस्तो छोटकरी धमासको आशय के होला भनेर एकछिन मनमनै गुनेँ । गुनेपछि शेष आयो- आफूले सुण्डमुण्ड गुण्डाफुण्डा डनहरूलाई देश लुटेको पैसाले पालेर राख्ने अनि संधै आफै शक्तिशाली छु भन्ने ठान्नु यसको आशय रहेछ । यिनकै प्रयोगले चुनाव जितिराखेको घमण्ड रहेछ । यस्तो घमण्ड गर्ने मान्छेलाई के थाहा हुँदैन भने व्यक्ति जति नै शक्तिशाली भएपनि अस्थायी अनि कमजोर हुन्छ भने राज्य शक्तिशाली, स्थायी र अजेय हुन्छ । तर, अहिलेको शासन व्यवस्थामा बस्नेत जस्ता ‘व्यक्ति बहादुर’ले राज्य सरकारलाई संधै जितिरहन्छन् भन्न हिजोआज खासै कसैले लाज मान्नु पर्दैन ।
बोल्न त बस्नेत बहादुरले ‘शिशमहलमा बस्नेले मलाई फसाए’ भन्ने बोलेका छन् तर शिशमहलमा बस्ने को हो बताउन सकेनन् । शिशमहलमा बस्नेको नाम बताउनु पर्थ्यो’नि, किन छुपाएको ? उनले छुपाए पनि पहिल्यै ठुलै भ्रष्टाचार गरेको मान्छेले उनलाई फसाउँदैछ भन्ने प्रष्ट बुझिन्छ । अख्तियार प्रमुखमाथि नै गम्भीर आरोप लागेको थुप्रै भयो । कतै उनले उतै शंका गरेका त होइनन् ! कति होलान् यो देशमा यल्ले उल्लाई र उल्ले यल्लाई फसाएर देशखाने भ्रष्टहरू ? जसरी सर्पको खुट्टा सर्पले देख्छ उसैगरी भ्रष्टले भ्रष्टलाई देख्दोरहेछ । यसरी भ्रष्टहरूले देखादेखि देश खाईसके तर देशको कानुन हातमा लिनेहरूले भ्रष्टहरूलाई देखे–नदेख्यै गर्दारहेछन् । ओहो ! यस्तो भ्रष्ट व्यवस्था कहिलेसम्म रहने हो, हँ ?
काले-काले मिलेर भाले खाने व्यवस्था भनेर त्यसै भनिएको रहेनछ ! गणतन्त्रभित्रका तीनवटा कालेहरू कहिले ‘रातो भाले’ कहिले ‘पहेँलो भाले’ छोप्दै खाँदै गरेका छन् । यी कालेहरूले पहेँला भाले खाएको देख्दादेख्दै पनि राज्यका नियमनकारी अंगहरू चुपचाप बस्छन् । देखेकोनदेख्यै गर्छन्, वास्तै गर्दैनन् । पार्टीमा हुँइयाँ गर्ने स्यालहरू जो ठाउँ ओगटेर बसेका छन् ! ब्वाँसो देखेपछि यी स्यालहरू कुलेलम ठोक्छन् कि पुच्छर लुकाएर ङिच्च दाँत देखाउँछन् !
पत्रकारकै अघिल्तिर खुलेआम ‘लौ मैले ७० करोड नै हान्दिएँ, के गर्छौ ?’ भन्दै हुँकार गर्छन् तर यो देशमा त्यस्ता व्यक्तिलाई सोधपुछ, छानविन केही पनि हुन्न । किनकि, झोलेहरूले मालिकको नूनको सोझो गर्नैपऱ्यो । तर यौटा अचम्मको सजाएँ उनले पाइराखेका छन् है ! जस्तै, उनलाई राज्यले केही नगरेपनि कमसेकम हरेक मान्छेले ‘७० करोड – ७० करोड’ भनेपछि उनी तर्सन्छन् । जहिलेसम्म उनी झस्कन्छन् र तर्सन्छन्, उनलाई जेलभित्रै बसेसरह भएको मान्नुपर्छ ।
करोड-करोडका होइन अब अर्बका माछा खेल्न थाले रानीपोखरीमा । ठुला माछा बढेर ह्वेल माछा हुन थाले ! रानीपोखरीका माछाका समाचारहरू सुन्दा-पढ्दा दिक्क लाग्छ । लौ आज ठुलो माछो समातियो भन्यो रातारात छुट्छ । ठुलो माछो समाएपछि भ्रष्टहरू ओइलाए कि भन्यो झन्-झन् ठाँटबाँट बढाउँछन् । समाइएकालाई बनावटी बयान लियो छोड्यो ! ह्वेल माछोलाई त कसैले छुनै सक्दैन, उल्टै छुनेलाई निल्दिन्छ । यस्तो भएपछि भ्रष्टहरू त झन्-झन् सूरा भएर पो आउँदा रहेछन् !
माछाहरूलाई समातेर छोड्दा जनतालाई भ्रष्टहरूको सूची त थाहा हुन्छ तर सजाय भएको पत्तै पाइँदैन । उनीहरू त्यस्ता थिएनन् भने नाम किन प्रकाशमा ल्याउनु ? कसैलाई बाख्रा भन्यो भने उसको नाम काड्नै पर्दैन, आफै तर्सन्छ । त्यस्तै घडी, सर्प, टेरामक्स गिरीबन्धु, ललिता निवास, शेरा दरबार, क्यान्टोन्मेण्ट, बालमन्दिर, पोखरा-भैरहवा एयरपोर्टहरू आ-आफै सम्झेर तर्सन्छन् । भ्रष्टहरू तर्सिरहने तर कानुनबमोजिम कारबाही कसैलाई नहुने ! कानुनको नजरमा सबै समान हुनुपर्ने हो, तर हुँदैन । नभए के गर्ने ? जनता जाग्नुपर्ने हो ! तर जनता दलको दलदले बिछ्यौनामा कुम्भकर्ण झैँ निदाउँछन् । यस्तो भएपछि भ्रष्टहरू नै जाग्छन् अनि विरोधको स्वर मसिनो र उनकै स्वर ठुलो हुन्छ- मलाई छुने कसका बाउको तागत ?
माथि उल्लिखित भ्रष्टका उपनामहरू देखेर उनीहरूले अहम् म.. म.. त भन्छन् तर यिनलाई कसैले छुनै सक्दैन । तैपनि लैनचौरले चाह्यो भने छुने रहेछ । लैनचौरको इशाराले छोयो भने गरुडको छायामुनि परेको सर्पजस्तो उत्तानो पर्छन् । नत्र, नेपालका जाबा अख्तियारले छोएर केही लछारपाटो लाग्दैन । अख्तियार एक्लैले छुनै सक्दैन, छोयो भने उही हो, बुरुक्क उफ्रन्छन् र भन्छन्- कसका बाउको तागत मलाई जेल हाल्ने !
अहिले त ‘कसको बाउको तागत’ भन्ने वाक्यांश यति बलियो भएर आएछ कि प्रधानमन्त्रीले पनि भित्रभित्र खुबै कण्ठ पारेका छन् रे ! बालुवाटारे सुत्र प्रयोग गर्दा शेरबहादुरले धेरै खिसखिस गरे भने प्रमले भन्ने गर्छन् रे – ‘मेरो सरकार ढाल्ने कसका बाउको तागत ?’ तर प्रम ओली शेरबहादुरको खिसखिस भन्दा बालेन शाहको खिसखिसले दिक्क भएको बालुवाटार श्रोतको दाबी छ । हेर्दै जाऊँ, समयले बताउला कसको तागत कति रै’छ ! अथवा पहिलाकै इन्द्रेको बाउ चन्द्रे नै आएर तागत देखाउँछ कि, कसलाई के थाहा !?
प्रतिक्रिया