खर्क व्यवस्थापनसम्बन्धी प्रशिक्षक तालिम सम्पन्न
- विकाश रौनियार, धादिङ
धादिङको रुबिभ्यालीमा खर्क व्यवस्थापनसम्बन्धी प्रशिक्षक तालिम सम्पन्न भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको आयोजनामा रुबिभ्याली गाउँपालिका वडा नम्बर १ स्थित लिंजोमा आयोजनामा खर्क व्यवस्थापनसम्बन्धी प्रशिक्षक तालिम सम्पन्न भएको हो ।
चौँरीपालक, भेडापालक र बाख्रापालक किसानहरुका लागि आयोजना गरिएको तालिम पाँच दिनसम्म चलेर शुक्रबार (९ जेठ) सम्पन्न भएको हो । डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यको अध्यक्षतामा आयोजित तालिम समापन समारोहमा कृषकहरुले आगामी दिनमा व्यवसायीकरुपमै चौँरी, भेडा र बाख्रा पालन गर्ने प्रतिवद्धता जनाए ।
लेकाली पशु चौपायाहरुको संरक्षण र व्यवसायीकताका लागि तालिम लिएका किसानहरु मध्येबाट बी बहादुर तामाङको अध्यक्षतामा चौरीपालक समूह, शेर बहादुर तामाङको अध्यक्षतामा भेडा पालन समूह, ए बहादुर तामाङको अध्यक्षतामा बाख्रा पालन समूह समेत गठन गरिएको छ ।
तालिमको अवसरमा सहभागि किसानहरुले दुई ओटा भेडा फार्म र एउटा चौँरी फार्ममा प्रत्यक्ष अन्तरक्रिया गरेका थिए । तालिममा खर्क, चौँरी, भेडापालनका समस्या, पशुहरुमा लाग्ने रोग र व्यवस्थापनका बारेमा छलफल भएको र तालिमको सहजीकरण डिभिजन वन कार्यालय प्रमुख विष्णु आचार्य, उमेश घले र सुनिल सापकोटाले गरेका थिए ।
आठ हजार भेडा रहेको, ३ सय चौँरी र तेल्मा रहेको, याक १० ओटा र नाक १७ मात्र रहेकोले संरक्षण लागेर यसबाट आम्दानी गर्न किसानहरुले प्रतिवद्धता जनाएका छन् ।
उन्नत, व्यवस्थित, आम्दानीको श्रोत बनाउन तालिमपछि किसानहरु प्रतिवद्ध रहेको लिखित प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
उत्साहपूर्ण र सहभागिमूलक तालिम रहेको भन्दै डिभिजन वन कार्यालय प्रमुख आचार्यले आगामी दिनमा डिभिजन वन कार्यालयले कृषि, पशुविकास कार्यालय लगायतसंग समन्वय गर्ने र जिविकोपार्जनमा सघाउने बताए । पछिल्लो समय हिमाली क्षेत्रमा समेत कृषकहरुलाई व्यवसायिक बनाउने उद्देश्यले विभिन्न तालिमहरु सञ्चालन गरिँदै आएको छ ।
प्रतिक्रिया