अमेरिकाको क्यालिफोर्निया राज्यको सान डिएगो नगरमा बाक्लो कुहिरोबीच एक सानो निजी विमान आवासीय क्षेत्रमा खस्दा पाइलटसहित विमानमा सवार सबै ६ जनाको मृत्यु भएको छ ।
अमेरिकी राष्ट्रिय यातायात सुरक्षा निकायका अनुसार ‘सेसना ५५० सिटेसन’ नामक सो विमान गत बिहीबार बिहान ३ः४७ बजे विद्युतको तारमा ठोक्किएर सिधै आवासीय क्षेत्रमा खसेको थियो । विमानमा आगो लागेपछि आसपासका थुप्रै घरहरूमा क्षति पुगेको बताइएको छ ।
उक्त विमान चर्चित सङ्गीत व्यवसायी डेभ शापिरोको स्वामित्वमा रहेको थियो । दुर्घटनामा उनीसहित अन्य पाँच जनाको पनि ज्यान गएको छ ।
सान डिएगोको मर्फी क्यान्यन क्षेत्रका कम्तीमा १० घरमा विमानका भागहरू खस्दा सामान्य क्षति पुगेको र जमिनमा रहेका मानिसहरूमा गम्भीर चोटपटक नपरेको जनाइएको छ ।
सङ्गीत संस्था साउन्ड ट्यालेन्ट समूहले एक वक्तव्य जारी गर्दै भनेको छ, ‘हामी हाम्रो सहसंस्थापक, प्रिय सहकर्मी र साथीहरूको असामयिक निधनबाट अत्यन्त मर्माहत भएका छौँ । यो कठिन घडीमा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।’
दुर्घटनाको कारण अहिलेसम्म खुल्न नसकेको एनटीएसबीले जनाएको छ । त्यहाँको सुरक्षा निकायले प्रारम्भिक अनुसन्धानको प्रतिवेदन आउन केही सातासम्म लाग्ने जानकारी गराएको छ ।
प्रतिक्रिया