‘लोडसेडिङ हुँदैन, हल्लाको पछि नलाग्नूस्’ : मन्त्री खड्का

‘लोडसेडिङ हुँदैन, हल्लाको पछि नलाग्नूस्’ : मन्त्री खड्का


ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले अब ‘लोडसेडिङ’ नहुने बताएका छन् । मन्त्री खड्काले आइतबार (११ जेठ) साँझ कुलेश्वरस्थित कालीमाटी ‘नो लाइट’ शाखाको स्थलगत निरीक्षण गर्दै अब लोडसेडिङ नहुने र हल्लाको पछि नलाग्न आग्रह गरेका हुन् ।

सोही अवसरमा नो–लाइट शाखाअन्तर्गत विभिन्न स्थानमा देखिएको विद्युत् आपूर्तिको समस्या, उपभोक्ता गुनासो तथा सम्भावित प्राविधिक कठिनाइबारे मन्त्री खड्काले जानकारी लिए । उनले हाल देशमा उत्पादन भइरहेको विद्युत्ले माग पूरा गर्न पर्याप्त रहेकाले अब लोडसेडि नहुने दोहोऱ्याए।

“केही समूह वा व्यक्तिहरूले नियोजित रूपमा बजारमा हल्ला फैलाइरहेका छन्, त्यस्ता भ्रामक प्रचारको पछि नलाग्न आम जनसमुदायलाई अनुरोध गर्दछु,” उनले भने ।

विगतका वर्षमा विद्युत् प्रणालीमा अहिलेभन्दा बढी समस्या देखिने गरे पनि अहिलेको अवस्थामा विगतभन्दा तुलनात्मक रुपमा सहजता भएको मन्त्री खड्काले बताए । असामान्य मौसम, हावाहुरी वा चट्याङका कारण केही क्षणको समस्या देखिएपनि त्यो चाँडै समाधान भइरहेको उनको भनाइ थियो ।

मन्त्री खड्काले स्युचाटारस्थित ‘लोड डिस्प्याच सेन्टर’को समेत आकस्मिक अवलोकन गरेका छन् । उनले उक्त सेन्टरमार्फत मुलुकभरको विद्युत् प्रवाह अवस्था नियाल्दै, प्रविधि र कर्मचारी व्यवस्थापनको स्थितिबारे जानकारीसमेत लिए ।

सेन्टरको निरीक्षण गर्दै उनले नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई उपभोक्ताप्रति जिम्मेवार र जवाफदेही भएर काम गर्न निर्देशन दिए । बजारमा सञ्चालित अपुष्ट सूचना र असत्य प्रचारले आमजनतामा भ्रम सिर्जना गर्ने भन्दै त्यसप्रति सचेत रहनुपर्ने उनको सुझाव थियो ।

सरकारले लोडसेडिङको पुनरावृत्ति हुन नदिन प्रणाली सुदृढीकरण, आपूर्ति निरन्तरता र गुनासो व्यवस्थापनमा कडाई गर्ने नीति अवलम्बन गरेको मन्त्री खड्काले जानकारी दिए । निरीक्षण टोलीमा मन्त्री खड्कासँगै ऊर्जा सचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसहित अन्य प्राविधिक कर्मचारीको उपस्थिति थियो ।