नागरिक लगानी कोषले नेपाल कमर्श क्याम्पस मिनभवनका एमबीए फाइनान्सका विद्यार्थीहरूलाई कोषले सञ्चालन गर्दै आइरहेको नागरिक पेन्सन योजना र पुँजी बजार सम्बन्धमा प्रशिक्षण दिएको छ ।
कोषले पेन्सन योजनामा सहभागिता जनाउने प्रक्रिया, त्यसबाट हुने फाइदा लगायतका विषयमा जानकारी गराउँदै नागरिक पेन्सन योजना सहभागी होऔं, अवकाशपछिको जीवन सुरक्षित बनाऔं भन्ने नारालाई आत्मसाथ गर्नु पर्ने विषयमा कोषका उपनिर्देशक नारायण घिमिरेले प्रकाश पारे ।
सोही अवसरमा नेपालको पुँजी बजार, शेयर खरिद बिक्री र पुँजी बजारका औजारहरूको बारेमा विवेक अधिकारीले प्रशिक्षण दिए । उनले सेयर बजारसम्बन्धी जानकारीसहित आर्थिक र प्राविधिक विश्लेषणको बारेमा बताए ।
सेयर बजारका उपकरणहरू, दोस्रो बजार, सूचीकृत कम्पनीको पोर्टफोलियो, पुँजी बजारका चरणहरू, सूचक विश्लेषण विधिका बारेमा उनले प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा कोषका निर्देशकद्धय शोभा श्रेष्ठ र हेमन्त पोखरेल एवं क्याम्पसका सह-निर्देशक मदन पोखरेल, सहायक क्याम्पस प्रमुख निश्चल रिसाल एवं सन सेक्युरिटिजका प्रबन्ध निर्देशक कृष्ण गिरी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया