सुडानमा हैजाको प्रकोप : एक सातामा १७२ जनाको मृत्यु

सुडानमा हैजाको प्रकोप : एक सातामा १७२ जनाको मृत्यु


सुडानमा हैजाका घटनामा वृद्धि भइ एक हप्तामा २७०० सङ्क्रमित हुनुका साथै १७२ जनाको मृत्यु भएको सुडानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘खार्तुम राज्यमा ९० प्रतिशत सङ्क्रमण भेटिएका छन्, उहाँ सन् २०२३ को अप्रिलदेखि सेनासँगको युद्धमा अर्धसैनिक रेपिड सपोर्ट फोर्सेज (आरएसएफ)लाई दोषी ठहऱ्याइएको ड्रोन आक्रमणका कारण हालैका हप्ताहरूमा पानी र बिजुली आपूर्तिमा गम्भीर अवरोध आएको छ। देशको दक्षिण, मध्य र उत्तरमा पनि सङ्क्रमण देखिएको छ ।’

गरिबी र सामाजिक रूपमा पछि परेको अफ्रिकी मुलुक सुडानमा हैजाको प्रकोप यसअघि पनि देखिने गरेको भएपनि युद्ध सुरु भएदेखि प्रकोप अझ खराब भएको छ । यहाँ पहिले नै कमजोर रहेको पानी, सरसफाइ र स्वास्थ्य पूर्वाधारहरूलाई युद्धले ध्वस्त बनाएको छ ।

गत साता मन्त्रालयले पछिल्लो तीन हप्तामा २३०० भन्दा बढी हैजाका बिरामीमध्ये ५१ जनाको मृत्यु भएको जनाएको थियो ।

आरएसएफले यसै महिना खार्तूममा ड्रोन आक्रमण गरेको थियो । आक्रमणबाट तीन वटा विद्युत गृह पनि प्रभावित भएका थिए तर गत हप्ता आरएसएफलाई राजधानीबाट पूर्ण रूपमा बाहिर निकालिएको थियो।

डक्टर्स विदाउट बोर्डर्स (एमएसएफ)का अनुसार द्वन्द्वका कारण बिजुली र स्थानीय पानीको सञ्जाल सेवाबाट बञ्चित भएपछि त्यहाँका बासिन्दा असुरक्षित पानीका स्रोततर्फ जान बाध्य भएका छन् ।

खार्तूमस्थित एमएसएफका मेडिकल कोअर्डिनेटर स्लेमेन अम्मरले भनेका छने्, “पानी प्रशोधन केन्द्रहरूमा अब बिजुली छैन र नाइल नदीबाट स्वच्छ पानी उपलब्ध हुन सक्दैन ।”

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सुडानको पहिलेदेखि नै कमजोर स्वास्थ्य सेवा प्रणाली युद्धका कारण ‘थप अस्तव्यस्त’ तर्फ धकेलिएको छ ।

चिकित्सक सङ्घका अनुसार देशकास्वास्थ्य संस्थामा पटक–पटक आक्रमण, बमबारी र लुटपाट हुने गरेका कारण यहाँका ९० प्रतिशतभन्दा बढी अस्पतालहरु कुनै न कुनै बेला युद्धका कारण बन्द भएका छन् र स्वास्थ्य संस्थामा पटक–पटक आक्रमण, बमबारी र लुटपाट हुने गरेको छ ।

अहिले तेस्रो वर्षमा प्रवेश गरेको यो युद्धले दशौँ हजारको ज्यान लिइसकेको छ । युद्धले एक करोड ३० लाख विस्थापित गरेको र विश्वको सबैभन्दा ठूलो विस्थापन र भोकमरीको सङ्कट सिर्जना गरेको छ ।