सेवाशूल्क लिने तर सुविधा नदिने : एटिएम बन्दले ग्राहकलाई सास्ती

सेवाशूल्क लिने तर सुविधा नदिने : एटिएम बन्दले ग्राहकलाई सास्ती


  • विकास रौनियार, धादिङ

आफ्ना ग्राहकका लागि प्रदान गरिने सेवा चुस्त तुल्याउन बैंकहरुले विभिन्न सुविधा उपलब्ध गराएका हुन्छन्, तीमध्ये एउटा सेवा हो एटीएम । चौविसै घण्टा पैसा निकाल्न मद्धत गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएका एटीएम आज भोलि भने दिउँसोको समयमा मात्रै खोलिन थालिएको छ । बेलुका ८ देखि १० बजे नै बन्द हुने एटीएमका कारण सेवा प्रयोग गरेवापत निश्चित शूल्कसमेत बुझाउने ग्राहक भने सास्ती खेप्न बाध्य छन् ।

अटोमेटिक टेलर मेसिन भनिने एटीएमहरु धादिङमा बिग्रिएर बन्द गरिएको भने होइनन् । अधिकांश एटीएम दिनको समयमा मात्रै सञ्चालन गरिने र रातको समयमा बैंकको शाखासंगै रातको समयमा बन्द हुँदै आएका छन् । धादिङको सदरमुकाम धादिङबेशी र पृथ्वीराजमार्ग संगै रहेका विभिन्न बैंकको एटीएममा यहाँको ग्राहक मात्रै नभएर यात्रा गरिररहेका व्यक्तिहरुले पनि आपतकालीन अवस्थामा यिनै एटीएमको प्रयोग गरी पैसा निलाल्नुपर्ने हुन्छ । तर यहाँका एटीएम भने कुनै ८ बजे, कुनै ९ बजे त कुनै १० बजे नै बन्द भइसक्छन् ।

खातामा पैसा भएपनि बिरामी परेको अवस्थामा एटीएमको अभावमा नगद पैसा निकाल्न नपाउँदा समस्या हुने गरेको कतिपयको भनाइ छ ।

धादिङबेशीमा मात्रै नभएर गजुरी लगायत जिल्लाका अधिकांश स्थलमा रहेका एटीएम रातको समयमा बन्द गरिँदै आएको छ । ग्राहकसंग एटीएमको नाममा शूल्क निकाल्ने तर कुनै एटीएम सटर लगाएर राख्ने त कुनै बिग्रिएको अवस्थामा हुने गरेकोप्रति ग्राहकको दुखेसो छ ।

बैंकहरुले आफूखुसी एटीएम बन्द गर्ने, मन लागे सञ्चालन गर्ने गरिरहेपनि नियामक निकाय नेपाल राष्ट्रबैंक अनभिज्ञता प्रकट गर्छ । नियमित रुपमा सेवा उपलब्ध गराउनकै लागि एटीएम राखिने राष्ट्रबैंकको स्पष्टोक्ति छ । यसअघि नै बैंकहरुलाई सर्कुरल जारी गरिसकेको राष्ट्रबैंकको भनाइ छ । उजुरी दिएको अवस्थामा राष्ट्रबैंकले बैंकहरुलाई कारबाहीको दायरामा ल्याउने नेपाल राष्ट्र प्रवक्ता रामु पौडेलले बताए ।

एटीएमहरु सुरक्षाको कारणले बन्द गर्नु स्वभाविकै होला तर चौबसै घण्टा सुरक्षाको व्यवस्था रहेको धादिङबेशी र गजुरीलगायत जिल्लाका अधिकांश स्थलमा पनि एटीएम बन्द हुनु दुःखद छ । ग्राहकहरुसँग सेवाशूल्क लिने तर सुविधा नदिने गर्नु एक हिसाबले ठगी नै हो ।