‘आगामी वर्षको बजेट खेलकुद क्षेत्रका लागि उत्साहजनक’

‘आगामी वर्षको बजेट खेलकुद क्षेत्रका लागि उत्साहजनक’


राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टङ्कलाल घिसिङले इतिहासमा पहिलोपटक नेपाली खेलकुदको बजेटको अङ्कमा निकै ठूलो बढोत्तरी भएको बताएका छन् ।

सरकारले आगामी वर्ष २०८२/८३ का लागि बिहीबार सदनमा प्रस्तुत गरेको बजेट नेपाली खेलकुद क्षेत्रका लागि उत्साहजनक रहेको उनले उल्लेख गरे । पोखरामा शुक्रबार (१६ जेठ) खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको पत्रकार भेटघाटमा सदस्यसचिव घिसिङले खेलकुद क्षेत्रलाई सरकारले प्राथमिकता दिनुलाई सबैले सकारात्मक रूपमा लिनुपर्ने बताए ।

‘इतिहासमै पहिलोपटक खेलकुद क्षेत्रमा बजेट वृद्धि भएको छ । यसलाई हामी सबैले उत्साहजनक रूपमा लिनुपर्ने हुन्छ’, उनले भने । सदस्यसचिव घिसिङले पोखरा रङ्गशालाभित्रको क्रिकेट मैदान निर्माण तथा स्तरोन्नतिका लागि प्राथमिकता राखेर बजेट विनियोजन गरिएको जानकारी दिए ।

परिषद्को बजेट प्रस्ताव गर्दा क्रिकेटको उमेर समूहको वल्र्डकपका लागि समेत मध्यनजर गरी प्रस्ताव गरिएको उनले जानकारी दिए । ‘पोखरा रङ्गशालाभित्रको क्रिकेट मैदान निर्माणाधीन रहेको छ । यस रङ्गशालाका लागि तेब्बर बढाएर प्रस्ताव गरिएको छ । विस्तृत बजेटको खाका आउँदा तपाईँहरूले थाहा पाउनुहुने छ’, सदस्यसचिवले भने ।

उनले उच्च पर्वतीय खेलमैदानका लागि पनि बजेट विनियोजन भएको जानकारी दिँदै भने, ‘प्रदेश र केन्द्रका साझेदारी प्रकृतिका कार्यक्रमसमेत राखेका छौँ । स्थानीय तहमार्फत कार्यान्वयन गर्नेगरी प्रस्ताव बजेटमा गरिएको छ ।’

सदस्यसचिव घिसिङले पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुदको समापन समारोहमा कर्णालीमा गर्नेगरी १०औँ झण्डा हस्तान्तरण गरिएको भए पनि विविध कारणले तोकिएको मितिमा राष्ट्रिय खेलकुद हुन नसकेको बताउनुभयो । दशौँ राष्ट्रिय खेलकुदका लागि पनि बजेट विनियोजन गरिएकाले आगामी वर्षमा प्रतियोगिता हुने उनले बताए ।