नेपाली ट्राभल एजेन्सीसँग ‘फिरौती’ असुल्ने प्रयास !
सन् २०२३ र २०२४ मा भएको कारोबारमा लाग्ने जरिवाना भन्दै विमान बंगलादेशले नेपाली ट्राभल एजेन्सीलाई अनाधिकृत विल पठाएर आतंक मच्चाएको छ । २०२३ अक्टुबरदेखि २०२४ जुन महिनासम्म भएको टिकट बुकिङमा जिडिएस सिस्टमको गलत प्रयोग गरेबापातको जरिवाना ९एडिएम० भन्दै तीन ट्राभल एजेन्सीलाई झण्डै एक करोड नेपाली रुपैंयाको बिल पठाइएपछि सम्बद्ध क्षेत्रमा आतङ्कको भाव पैदा भएको हो ।
‘यो विल पूर्ण रुपमा पूर्वाग्रही ढंगबाट तयार गरिएको छ’- पीडित ट्राभल एजेन्सीका संचालकहरुले बताएका छन्, ‘हामी कुनै पनि प्रकारले संलग्न नभएको कारोबारको बिल एकतर्फी रुपमा विमान बंगलादेशले पठाइ हामीसँग फिरौतीको रुपमा रकम माग गरिएको अनुभूति भएको छ ।’
के हो विवाद ?
इम्पायर ट्राभल, सेभेनस्टार इन्टरनेशनल ट्राभल र ओशो ट्राभल्सलाई विमान बंगलादेशले एडिम पठाएको घटनामा तीनै ट्राभल एजेन्सी कतै पनि संलग्न नै नभएको कारोबारमा पठाइएको ठूलो रकमको जरिवाना नै यसको विवादको जड हो । आएटा सर्टिफिकेसन नलिएका नन् आएटा ट्राभल एजेन्सी स्काईलाइन, मिदोरी, फ्लाइट सस्तो र जर्नी ज्वेल्स् ट्राभल एजेन्सीमार्फत जिडिएस सिस्टमको दुरुपयोग गरिएको र सोको जरिमाना भन्दै इम्पायर ट्राभल, सेभेनस्टार इन्टरनेशनल ट्राभल र ओशो ट्राभल्सलाई विमान बंगलादेशले जरिमानाको बिल पठाएको हो । स्काईलाइन, मिदोरी, फ्लाइट सस्तो र जर्नी ज्वेल्स् ट्राभल एजेन्सीसँग ब्यावासायिक कारोबार बाहेक कुनै सम्बन्ध नभएका इम्पायर ट्राभल, सेभेनस्टार इन्टरनेशनल ट्राभल र ओशो ट्राभल्सलाई विमान बंगलादेशले आएटामार्फत एडिम पठाएर रकम असुल्न खोज्नु भनेको अपहरण गरेर फिरौती असुल्नुबराबर हो । ट्राभल ब्यावसायीहरु भन्छन्, ‘यो अन्याय मात्र नभइ यसभित्र ठूलो षड्यन्त्रको गन्ध छ ।’
कसरी पठाइयो एडिएम ?
बंगलादेशबाट जापान, लण्डन र क्यानडासम्म उडान भर्न थालेपछि विमान बंगलादेशले कोभिडपछाडिको समयमा नेपालबाट उल्लेख्य यात्रु प्राप्त गर्न थाल्यो । निक्कै महँगो हवाई टिकट दर भएको तत्कालिन समयमा विमान बंगलादेशले सस्तो टिकट दर सार्वजनिक गरेपछि सेवा राम्रो नभए पनि ट्राभल एजेन्सी र यात्रुसमेत विमान बंगालदेशतर्फ आकर्षित भए । यससँगै बिना कमिसन र घुस डेग नहल्लिने भनेर चिनिएका तत्कालिन कन्ट्री म्यानेजर अनिसुर रहमान पैसा नै असुल्ने धन्दामा लागिपरे । ट्राभल एजेन्सीले पनि बाध्य भएर दशौं लाख कमिसन बुझाउँदै क्यापिङ र टिकेटिङ अथोरोटी लिए । तर पनि बिमान बंगलादेशका कन्ट्री म्यानेजरलाई कमिनस नबुझाएसम्म सिस्टममा सिट नै देखिंदैन थियो । उनलाई जसले कमिसन बुझायो त्यसैले मात्र सिट पाउने अवस्था थियो । यसमा एक ठूलै ट्राभल्स एजेन्सीका निर्देशकले पनि विचौलियाको राम्रै भूमिका खेलेका बताइन्छ । उनै विचौलियामार्फत नै अनिसुर रहमानले कमिसन र अण्डर टेबल रकम बुझ्नेगर्थे ।
यही क्रममा स्काईलाईन ट्राभल्सका सुदिप खनाल पिक्चरमा आउँछन् । उनले विमान बंगलादेशको यो परिस्थितीलाई ठूलो अवसरको रुपमा देखे र स्काईलाइनका साथमा थप तीन वटा ट्राभल एजेन्सी मिदोरी, फ्लाईट सस्तो र जर्नि ज्वेल्स ट्राभलका नाउँमा समेत ग्यालिलियो नेपालबाट टिकेटिङ सिस्टम लिन सफल भए । यसमा ग्यालिलियोले कस्ता डकुमेन्टका आधारमा एकै व्याक्ति लाई एकै ठेगानमा चार चार वटा अलग सिस्टम किन र कसरी दियो त्यो पनि ठूलो प्रश्न बनेको छ ।
‘यता चार भिन्न एजेन्सीको नाउँमा टिकेटिङ सिस्टममा एक्सेस पाएका सुदिपले विभिन्न सिस्टममा बिमान बंगलादेशका सबै टिकट बुक गर्ने र लामो समय होल्ड गर्न थाले । जसबाट सिस्टममा सिट आउँदैन थियो र उनीसँग मात्रै हुन्थ्यो । उनले सो अवधिमा एकछत्र ब्यापार गरे । यो लेभलको ब्यापार कसरी एउटै ट्राभल एजेन्सीबाट भयो हामी छक्क पर्थ्यौँ, त्यही बेला शंका त लागिसकेको थियो एअरलाईन्सको मिलेमतो विना यो संभव थिएन । त्यही बेला सुदिप र अनिसुरको मिलेमतो शुरु भइसकेको रहेछ’– पीडित ब्यावसायी बताउँछन् ।
सामान्यतया एअरलाइन्सले यो कुरा थाहा पाउन कत्ति पनि समय लाग्दैन र समयमै थाहा पनि पाएकै रहेछ । त्यसैले, अनिसुरले भविष्यमा केहि परे बच्नकै लागि त्यहीबेला ग्यालिलियोसँग इन्क्वायरी पनि गरेछन् । सिट धेरै होल्ड गर्ने यी चारै एजेन्सीको बारेमा, जसलाई ग्यालिलियोले पनि आधिकारीक रुपमा जवाफ विमान बंगलादेशलाई सोही बेला दियो तर बजारमा यो कुरा आइपुगेन । अनिसुरले आफैसँग गुपचुप राखे ।
अनिसुर रहमानले पनि यो जानकारी आएपछि न ती नन् आयटा एजेन्सीको टिकट इस्यु गरिदिने ट्राभल एजेन्सीलाई सोको जानकारी गराए न त स्काईलाइन तथा ती ट्राभल एजेन्सीलाई कारवाहीको दायरामा ल्याउने कोशिस गरे । बरु यो केस मिलाइदिने भन्दै रकम उठाउन विचौलिया सल्बलाए । स्काईलाइनका सुदिपले पैसा दिए–दिएनन् प्रष्ट भएन तर जिडिएस मिसयुज रोकिएन झन् मौलायो । यो अहिले बिमान बंगलादेशले पठाएको समरीले प्रष्टै देखाउँछ । यसबाट स्काईलाइनका सुदिप र अनिसुर रहमान तथा जिडिएसको समेत मिलेमतोमा राम्रै रकम कुम्ल्याउन उनीहरु सफल भए ।
अनिसुर रहमान कन्ट्री म्यानेजर रहँदासम्म यो धन्दा अन्तिम दिनसम्मै मौलाएको देखिन्छ । तर, उनको यो आर्थिक अनियमितता लामो समय छुप्ने खालको थिएन । विमान बंगलादेशको मुख्यालयले थाहा पायो र अनिसुरको नेपालमा कार्यकाल नथप्ने भयो । अनिसुर बंगलादेश फर्किए, अनिसुरको यो धन्धा छताछुल्ल भयो । अनि आफ्नो जागिर जोगाउन अनिसुरले बल्ल इनिसिएटिभ लिए, एडिएम रेज गरे अनि विलिङचाहिं इम्पायर ट्राभल, सेभेनस्टार इन्टरनेशनल ट्राभल र ओशो ट्राभल्सलाई भागबण्डा लगाएर गरिदिए । स्काईलाइन, मिदोरी, फ्लाइट सस्तो र जर्नि ज्वेल्स् ट्राभल एजेन्सीले यसमा छुट पाए, उनीहरुले गरेको घोटालाको विल तिर्ने जिम्मा अरुलाई दिइयो । किनकि नन् आएटा एजेन्सीलाई एअरलाईन्सले आएटाबाट फाइन लगाउन मिल्दैन र सिधै स्काईलाइनबाट उठाउन अनिसुरले मिल्ने भएन, किनकि उनको त मिलेमतो भएको ठाउँ नै त्यही थियो । त्यसैले यहाँ यी ट्राभल एजेन्सीसँग कारोबार गर्ने गरेकै भरमा फिरौती उठाउने शैलीमा इम्पायर ट्राभल, सेभेनस्टार इन्टरनेशनल ट्राभल र ओशो ट्राभल्सलाई बिल पठाइयो ।
के भन्छन् अन्य ट्राभल एजेन्सी ?
इम्पायर ट्राभल, सेभेनस्टार इन्टरनेशनल ट्राभल र ओशो ट्राभल्समाथि अन्याय भएकोमा नेपालका प्रमुख र ठूला ट्राभल एजेन्सीको ऐक्यबद्धता रहेको छ । २० भन्दा बढी ठूला ट्राभल एजेन्सीले विमान बंगलादेशको मुख्यालय तथा सम्बन्धित पक्षलाई यो अन्यायको विरुद्ध आवाज उठाउँदै एडिएम पुनरावलोकनको आग्रह गरेका छन् । नेपालको दश उत्कृष्ट ट्राभल एजेन्सी मध्येको प्रवास ट्राभल्सका संचालक तथा प्रबन्ध निर्देशक प्रकाश लोहनी भन्छन्, ‘यो हदैसम्मको अन्याय हो । नखाएको विष कसैलाई लाग्दैन । विना आधार, विना प्रमाण एअरलाइन्सले एडिएम लगाउने, अनि यसलाई स्विकार गर्नु भनेको यो ब्यावसाय नगर भनेको हो । यसलाई बिमान बंगलादेशले तत्काल नसच्याए हामी बिमान बंगलादेशसँग थप कारोबार गर्न सक्दैनौं, सबै किसिमका सेवा वहिस्कार गर्दै बिमान बंगलादेशको टिकट काट्न बन्द गर्छौं । त्यतिमात्र नभइ विमान बंगलादेशको काठमाडौंस्थित कार्यालय ताला लगाउन पनि बाध्य हुनेछौं । हामी यस विषयको समाधानको लागि हाल विभिन्न निकायमा समन्वयन गरिरहेका छौं, र बिमान बंगलादेशलाई तत्काल आफ्नो गल्ति सच्याउन पनि अनुरोध गर्दछौं । कुनै गल्ति वा त्रुटी विना कारवाही गर्नु पनि अपराध हो यो अपराध बिमानले तत्काल सच्याओस् ।’
विना कानुनी आधार दिइएको दबाब
बिमान बंगलादेशको यो पूरा एडिएम रेज गर्ने प्रयासमा कुनै पनि कानुनी मान्यता, आएटाका नियम, एअरलाइन्सका आफ्नै नियम र इण्डष्ट्रि नर्म्स् पनि पालना गरिएको छैन । यो पूर्ण गैह्रन्यायिक छ । अनि एअरलाइन्सका कर्मचारीका गल्तिहरुको ढाकछोप गर्न पुरा एअरलाइन्स संयन्त्र र मुख्यालयले पनि न्यायिक सिद्धान्त विपरीत कार्य गरेको प्रष्ट देखिन्छ । यसको विरुद्धमा ट्राभल एजेन्सीहरु एक भएर ब्यावसायिक संगठनहरु नाटा, पर्यटन विभाग, पर्यटन मन्त्रालय तथा नागरिक उड्डयन प्राधिकरण समेत गुहार्दैछन् ।
प्रतिक्रिया