कस्ता शब्दहरू प्रयोग गरिरहेका छौँ ?

कस्ता शब्दहरू प्रयोग गरिरहेका छौँ ?


अरुलाई धेरै गालीगलौज गर्ने मान्छेहरू प्रायः आफू असुरक्षित महसूस गरिरहेका हुन्छन् भन्ने छ । कुनै पनि घटना, सन्दर्भको प्रतिक्रिया (रेस्पोन्स) गर्नु र टिप्पणी (रियाक्ट) गर्नु फरक कुरा हो । हामीकहाँ ‘रेस्पोन्स’ भन्दा बढि ‘रियाक्ट’ गर्ने चलन छ । टिप्पणीमा ‘हेट स्पीच’ सामान्य झैँ बन्दै गइरहेको छ, जुन सभ्य समाज निर्माणका लागि बाधक हुन्छ । मानिसले आफ्नो ‘माइण्ड’लाई जता लग्यो उतै जान्छ । शब्दको प्रयोग पहिला मष्तिष्कले सोचेपछि गरिन्छ, चाहे त्यो लेखेर होस् या बोलेर । कसैलाई नराम्रो भन्न, गर्नका लागि पहिला आफूले नराम्रो सोचेर आफ्नो मष्तिष्कलाई दुःख दिनुपर्ने हुन्छ ।

मानिसको जीवनमा सोच सबैभन्दा महत्वपूर्ण कुरा हो । तपाईंले राम्रो सोच्नुभयो भने कैयन कुरा आफै राम्रो बन्दै जान्छन्, नराम्रो सोच्नुभयो भने परिस्थिति त्यस्तै बन्दै जान्छ । आफू वरिपरिको परिस्थिति कस्तो बनाउने प्रायः मानिसको आफ्नै हातमा हुन्छ । तपाईं कसैसँग हाँसेर, मुस्कुराएर बोल्नुभयो भने अर्को मान्छे पनि मुस्कुराउँछ नै, एकछिन यो मान्छे को होला भनेर दोधारमा पर्ला तर उसले रिसाएर हेर्दैन । हामीकहाँ हिजोआज जसलाई जे पनि बोले, लेखे हुनेजस्तो अवस्थाको सिर्जना भएको छ । जसले मान्छेको मानसिक स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको छ ।

अहिले मुलुक आन्दोलनमय बनिरहेको छ र यो आन्दोलनमा विगतमा भन्दा बढि ‘हेट स्पीच’ अर्थात् घृणास्पद अभिब्यक्तिको प्रयोग भइरहेको छ । शिक्षित र परिचित मानिसहरूले बोलेका शब्दहरू सुन्दा उनीहरूप्रतिको दृष्टिकोण नै बदलिन थालेको छ । ‘लौ न…यो मान्छेले यतिसम्म बोल्न सक्छ ? यस्तो लेख्न सक्छ ?’ जस्तो लाग्न थालेको छ । मानिसलाई चिन्ने, बुझ्ने भनेको उसले प्रयोग गर्ने शब्द र गर्ने ब्यवहारबाट नै त हो । हामी प्रायः अरुको बारेमा लेख्दा, बोल्दा आफूचाहिँ के गरिरहेको छु भन्ने कुरा बिर्सन्छौँ । बोल्ने, लेख्ने कतिपय कुरालाई भावनात्मक रूपमा लिएर बेवास्ता गर्न सकिन्छ तर ‘हेट स्पीच’को प्रयोग अपराध भएकाले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने हुन्छ । हाम्रा नीति, कानूनहरूले कोही मान्छे मन परेन भने जे पनि लेख्न, बोल्न पाउने छुट दिएको छैन । कुनैपनि आन्दोलन या आन्दोलनको प्रतिकारका नाममा अभिब्यक्ति दिन पाइन्छ तर घृणास्पद अभिब्यक्ति दिन पाइँदैन । संविधानले हामीलाई अभिब्यक्ति स्वतन्त्रता दिएको छ तर घृणा फैलाउने खालको अभिब्यक्ति स्वतन्त्रता होइन । र, हाम्रो मुलुकमा यो अभिब्यक्ति स्वतन्त्रता त्यसै आएको पनि होइन ।

विगतमा लेख्दै-बोल्दै आएको कुरा फेरि एकपल्ट दोहोऱ्याउँछु, कुनैबेला थियो मानिसहरू आफ्नो मनमा लागेको कुरा, ब्रम्हले देखेको कुरा बोल्न, अभिब्यक्त गर्न पाउँदैन थिए । राणाकालमा ‘मकैको खेती’ पुस्तक लेखेबापत सुब्बा कृष्णलाल अधिकारी जेल जानु पऱ्यो । राणा शासनप्रतिको आफ्ना असन्तुष्टिलाई साहित्यिक रूपमा उल्लेख गरेको भनी जेल हालिएको थियो । भनिन्छ, जेलमा बस्दा उहाँलाई मकैबाहेक अन्य कुनै पनि खानेकुरा खान दिइएको थिएन । नौ वर्ष कठिन समय बिताएपछि जेलमै उहाँको मृत्यु भएको थियो । अभिब्यक्ति स्वतन्त्रता कुण्ठित भएका बेला बोल्न पाउनु, शासकको आलोचना गर्नु कति ठुलो कुरा थियो भन्ने इतिहासका विभिन्न कालखण्डमा जनतामाथि भएका दमन र हत्या साक्षी छन् । शहीद गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीले राणाहरूको विरोध गरे बापत फाँसी नै चढ्नुपऱ्यो । पञ्चायतकालमा पनि आफ्ना विचार अभिब्यक्त गरेवापत धेरै मानिसहरूले आफ्नो उर्वर समय जेलमा बिताए ।

हरेक नागरिकलाई अभिब्यक्तिको स्वतन्त्रता हुनुपर्छ भन्ने आवाजका लागि हाम्रा अग्रजको कठिन संघर्षको पृष्ठभूमि जोडिएको छ । नेपाली नागरिकले अभिब्यक्तिको स्वतन्त्रता सहजै प्राप्त गरेका होइनन् । वि.सं. २०४७ को प्रजातन्त्रपछि अभिब्यक्तिको स्वतन्त्रतालाई संविधानमा राखियो । नेपाल अधिराज्यको संविधान २०४७ भाग ३ को धारा १२ मा स्वतन्त्रताको हकअन्तर्गत पहिलो नम्बरमै ‘विचार र अभिब्यक्तिको स्वतन्त्रता’लाई राखिएको थियो । वि. सं. २०७२ को संविधानमा पनि स्वतन्त्रताको हकअन्तर्गत पहिलो नम्बरमै ‘विचार र अभिब्यक्ति स्वतन्त्रता’लाई राखिएको छ । प्रजातन्त्रमा अभिब्यक्ति स्वतन्त्रता पहिलो शर्त नै हो भनेपनि हुन्छ ।

‘हेट स्पीच’को अर्थ यस्तो अभिब्यक्ति जसले घृणा फैलाउँछ भन्ने हुन्छ । कुनैपनि लिङ्ग, धर्म, समूदायलाई भड्काउने, एकर्काको सद्भाव मेट्न खोज्ने अभिब्यक्ति दिनु हेट स्पीच हो । कुनै पनि शब्द बोलेर, लेखेर, दृष्यबाट अरुमा डरत्रास पैदा हुन्छ, हिंसा महसूस हुन्छ र भड्किन्छ भने त्यसलाई हेट स्पीच मान्नुपर्ने हुन्छ । कसैलाई चोट पुऱ्याउने तथा सम्मान र आत्मसम्मानमा आँच पुऱ्याउने अभिब्यक्ति हेट स्पीच हो । हामीकहाँ केही समययता हेट स्पीच ब्यापक बन्दै गइरहेको छ । हेट स्पीच र आलोचना फरक कुरा हुन् । आलोचनामा सुधारको अपेक्षा हुन्छ, हेट स्पीचमा घृणा फैलाउने उद्देश्य हुन्छ, आलोचना रचनात्मक र तार्किक हुन्छ, हेट स्पीचमा घृणा हुन्छ । आलोचनामा सुधारका लागि सुझाव दिइन्छ भने हेट स्पीच ‘हुँदैन’ भन्नेबाट सुरु भइ अनेक गालीगलौजपछि ‘हुँदैन’मै टुङ्गिन्छ । किन हुँदैन ? भन्ने तर्क खासै हुँदैन ।

हामीकहाँ अहिले हेट स्पीच सबैभन्दा बढि राजनीतिकर्मीहरूमा प्रयोग भइरहेको छ । साथै हेट स्पीच प्रयोग गर्ने राजनीतिकर्मीहरू पनि त्यत्तिकै छन् । कुनै सभा-समारोहमा एकर्कालाई गरिएका गाली र लगाइएका आक्षेप सुन्दा तर्कपूर्ण भन्दा बढि ‘त्यो त खत्तम’ भन्नेमा जोड दिएको पाइन्छ । सार्वजनिक अभिब्यक्तिहरूलाई हेर्ने हो भने आलोचना भन्दा बढि हेट स्पीच नै प्रयोग भएको पाइन्छ । हामीकहाँ स्कुल-कलेज देखि नै राजनीति सुरु हुने हुँदा विद्यार्थी राजनीतिदेखि नै यसको सुरुवात हुने गरेको छ । एकर्कालाई सिध्याउने मनसायले गरिएका अभिब्यक्ति ढुंगामुडा, तोडफोड र हात हालाहालसम्म पुगेका अनेकौँ उदाहरणहरू छन् । युवाका नाममा खडा भएका संगठनहरूले पनि हेट स्पीचको प्रयोग गर्ने गरेका छन् । विगतमा वाइसीएलदेखि युथ फोर्ससम्म र अहिले विभिन्न नाममा खुलेका संगठनहरूमा संलग्न केही ब्यक्तिहरूले हेट स्पीचको ब्यापक प्रयोग गर्दै आएका छन् । अहिले यी संगठनका नेताहरूले आक्रामक रुपमा अघि बढ्ने प्रतिबद्धता जनाएका भन्ने कुराहरू सार्वजनिक भइरहेका छन् । अहिलेसम्मको अभ्यासलाई हेर्दा आक्रामकरूपमा अघि बढ्नुको अर्थ अरुलाई गालीगलौज र धम्कीपूर्ण अभिब्यक्तिका साथ अघि बढ्नु हो ।

विगतमा मुखले बोलेर उपभोग गर्दै आएको अभिब्यक्ति स्वतन्त्रता अहिले प्रविधिको प्रयोगबाट हुने गरेको छ । मिडिया र सोसियल मिडिया अभिब्यक्ति स्वतन्त्रताका प्रमुख माध्यम बनेका छन् । अभिब्यक्ति स्वतन्त्रताका मात्रै नभइ हेट स्पीचका लागि पनि मिडिया र सोसियल मिडियाको ब्यापक प्रयोग भइरहेको छ । ब्यक्तिगत गालीगलौजदेखि कुनै वर्ग, समुदायलाई नै होच्याउने काममा मिडिया र सोसियल मिडियाको प्रयोग भइरहेको छ । राजनीति र अन्य सार्वजनिक जीवनमा भएका मानिसहरूको नामै लिएर हेट स्पीचको प्रयोग बढ्दो छ ।

विश्वका कतिपय मुलुकमा धर्मका नाममा हेट स्पीच बढेका छन्, हामीकहाँ राजनीतिका नाममा भइरहेको छ । सामाजिक संजाल र प्रविधिबाट हेट स्पीच प्रवाह हुन नदिन ट्वीटर, फेसबुक, टीकटक, गुगलले प्रतिबद्धता जनाएका छ्न् । तर, यिनीहरूले अङ्ग्रेजी भाषा मात्रै टिप्न सक्छन्, अन्य भाषामा कहाँ के भइरहेको छ उजुरी नै गर्नुपर्ने हुन्छ । नेपालमा यी कुनै पनि सामाजिक संजालका कार्यालय छैनन् । हेट स्पीचका लागि हामीकहाँ छुट्टै कानून नभएपनि यसलाई रोक्नका लागि सूचनाको हकसम्बन्धी कानूनमा भएको ब्यवस्था र अन्य केही संवैधानिक ब्यवस्थाले काम गर्छ ।

मानिस भएर जन्मिएपछि हरेक कुरामा प्रतिक्रिया दिनैपर्ने झैँ गरी हामी सामाजिक संजालमा टीका-टिप्पणी गरिरहेका हुन्छौँ । मैले बोलेका, लेखेका कुराले अरुलाई के प्रभाव पाऱ्यो वा असर गऱ्यो होला ? मैले कतिलाई चित्त दुखाएँ या घृणा फैलाइरहेको छु कि ? भन्ने बारेमा हामी खासै सोच्दैनौँ । कसैलाई चोट पुऱ्याउन ढुंगामुढा गरिरहनु पर्दैन, हतियार चलाउनु पर्दैन, बोली र शब्दहरू नै काफी हुन्छन् । अरुलाई दोषी देखाएर आफू नैतिकवान बन्न खोज्नेहरूको सङ्ख्या हामीकहाँ ठुलो छ । कतिपय अवस्थामा विषयकेन्द्रित आलोचना आवश्यक हुन्छ । तर नकारात्मक भावना र आलोचनात्मक दृष्टिकोण फरक कुरा हुन् । ‘क्रिटिकल’ हुनु र ‘नेगेटिभ’ हुनुबीचको दूरी निकै लामो छ । आफूले बोलेको, लेखेको कुराले के सन्देश दिन्छ ? आफ्ना अभिब्यक्तिप्रति आफै जिम्मेवार हुने अवस्था छ कि छैन ? हाम्रा सोचहरू हाम्रो दिमागमा रहुञ्जेल हाम्रा हुन्, सार्वजनिक गरेपछि तिनले सकरात्मक, नकरात्मक दुवै बाटो तय गर्न सक्छन् । तिनले ब्यक्ति र समाजमा हिंसा फैलाउने काम पनि गर्न सक्छन् । मिडिया या सोसियल मिडिया एउटा माध्यम मात्रै हुन्, सोच र अभिब्यक्ति त हाम्रा हुन् । आफ्ना अभिब्यक्तिको उत्तरदायित्व हामी आफैले लिनुपर्छ । के बोल्ने, के लेख्ने- हामी स्वतन्त्र छौँ, तर स्वतन्त्रतामा उत्तरदायित्व सधैं जोडिएर आउँछ । त्यसैले अभिब्यक्ति स्वतन्त्रताको सीमा र घृणास्पद अभिब्यक्तिको परिणामलाई अब हामीले बहसको विषय बनाउनु पर्छ ।