अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वप्रसिद्ध अमेरिकी उद्यमी एलन मस्कले ‘आफ्नो सोच्ने शक्ति गुमाएको’ बताउँदै आफ्ना अर्बपति पूर्व सहयोगीसँगको विवादलाई थाती राख्दै अघि बढ्ने बताएका छन् । विश्वका सबैभन्दा धनी र शक्तिशाली व्यक्तिहरूबीचको तीव्र सार्वजनिक सम्बन्ध विच्छेदले विश्वलाई चौतर्फीरूपमा राजनीतिक र आर्थिक जोखिमतर्फ धकेलेको छ ।
ह्वाइट हाउसका अधिकारीहरूलाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार ट्रम्पले मस्कसँग वार्ता गर्ने सोचलाई त्यागिसकेका छन् ।
ट्रम्पले एयर फोर्स वानमा आफ्नो न्यूजर्सी गल्फ क्लब जाने क्रममा पत्रकारहरूसँग भनेका छन्, ‘इमानदारीपूर्वक भन्नुपर्दा म चीन, रूस, इरानसँगको छलफलमा व्यस्त भएको छु । म एलन मस्कको बारेमा सोचिरहेको छैन, म उहाँको राम्रो कामको लागि कामना गर्दछु।’
रिपब्लिकन नेतासमेत रहेका ७८ वर्षीय राष्ट्रपति ट्रम्पले ‘निकट मित्र’बाट ‘शत्रु’ बनेका दक्षिण अफ्रिकी मूलका आफ्ना पूर्व सहयोगीलाई निशाना बनाउनबाट आफूलाई टाढा राख्न सकेका छैनन् । मस्कको बारेमा सोधिएको प्रश्नमा ट्रम्पले भनेका छन्, ‘सोच्ने शक्ति गुमाएको मान्छेसँग कुरा गर्न म खासै इच्छुक छैन। मस्कले सोच्ने शक्ति गुमाउनुभएको छ ।’
ट्रम्प र मस्कबीच विवाद चुलिएपछि तथाकथित ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसियन्सी (डिओजिई)’मा चार महिना काम गरेपछि आफ्नो लागत कटौतीको भूमिकाबाट मस्कले एक साताअघि मात्र बिदा लिने निर्णय गरेका थिए ।
व्यापार तनावका समाचारहरू आइरहेका बेला यी दुईको सम्बन्ध जुन तीव्र गतिमा बिग्रियो, त्यसले वासिङ्टनलाई स्तब्ध बनाएको छ । मस्कले गत मङ्गलबार ट्रम्पको खर्च विधेयकलाई ‘घृणित’ भनेपछि ट्रम्पले बिहीबार आफ्नो कार्यालय (ओभल अफिस) बाट एक टिप्पणीमार्फत् जवाफ दिँदै मस्कबाट आफू ‘धेरै निराश’ भएको बताएका थिए।
ट्रम्पको खर्च विधेयकले कंग्रेसमार्फत कठिन मार्गको सामना गरिरहेको छ यसले अमेरिकी घाटा बढाउने र लाखौं गरिब अमेरिकीहरूको स्वास्थ्य सेवामा कटौती गर्ने आलोचकहरूले बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेस एक्सका प्रमुखको अर्बौं डलरको रकेट र स्याटेलाइट सम्झौता रद्द गर्न सक्ने बताएका छन् । मस्कको सम्झौता कटौती गर्नेबारे कत्तिको गम्भीरतापूर्वक विचार गरिरहनुभएको छ भनी सोधिएको प्रश्नमा ट्रम्पले शुक्रबार राति यसबारे भने, ‘यो धेरै पैसा हो, यो धेरै अनुदान हो, त्यसैले हामीले एक नजर लगाउनेछौँ र यो देशको लागि उचित हुन्छ भने मात्र अघि बढाइनेछ।’
सामाजिक सञ्जालमा शत्रुतालाई कम गर्ने प्रयास गर्दै नासाका अन्तरिक्ष यात्रीलाई अन्तरिक्ष केन्द्रसम्म पुऱ्याउनका लागि आवश्यक पर्ने आफ्नो कम्पनीको ड्रागन अन्तरिक्ष यानलाई रद्द गर्ने चेतावनीलाई मस्कले शुक्रबार फिर्ता लिएका थिए ।
प्रतिक्रिया