कोलम्बियाका राष्ट्रपतिका उम्मेद्वार गोली प्रहारबाट घाइते

कोलम्बियाका राष्ट्रपतिका उम्मेद्वार गोली प्रहारबाट घाइते


कोलम्बियाका दक्षिणपन्थी विपक्षी सिनेटर तथा आगामी वर्षको राष्ट्रपति चुनावका उम्मेदवार शनिबार बोगोटामा भएको चुनावी कार्यक्रममा गोली लागेपछि गहन उपचार कक्षमा रहेको अधिकारीहरूले बताएका छन् ।

सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोमा ३९ वर्षीय मिगुएल उराइबले अचानक गोली चल्दा धेरै मानिसको अगाडि भाषण दिँदै गरेको देखिन्छ ।

अन्य तस्बिरहरूमा उनी रगतले लतपतिएको अवस्थामा सेतो कारको बोनटमा ढलेको र पुरुषहरूको समूहले उनलाई सम्हालेको देखिन्छ । मिडियाका अनुसार संदिग्ध बन्दुकधारी एक किशोरलाई पक्राउ गरिएको छ ।

महान्यायाधिवक्ता लुज एड्रियाना कामार्गोले काराकोल रेडियोलाई उराइब ‘गहन उपचार कक्षमा’ रहेको बताएका छन् । स्थानीय मिडियाका अनुसार कम्तीमा एउटा गोली सिनेटरको घाँटी वा टाउकोमा लागेको छ ।

वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोको सरकारले राजधानीको पश्चिममा चुनावी अभियानका क्रममा उराइबमाथि भएको आक्रमणको ‘स्पष्ट र कडा’ निन्दा गरेको छ । ‘हिंसाको यो कार्य उहाँको व्यक्तित्वमाथि मात्र नभएर लोकतन्त्र, विचारको स्वतन्त्रता र कोलम्बियामा राजनीतिको वैधानिक अभ्यासमाथिको आक्रमण हो’, राष्ट्रपति कार्यालयले विज्ञप्तिमा भनेको छ । विज्ञप्तिमा एक ‘सशस्त्र व्यक्ति’ले सिनेटरलाई पछाडिबाट गोली हानेको जनाइएको छ ।

पेट्रोका कडा आलोचक उराइब डेमोक्रेटिक सेन्टर पार्टीका सदस्य छन् । उनले गत अक्टोबरमा सन् २०२६ को राष्ट्रपति चुनावमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।