अमेरिकाले एक दर्जन देशका नागरिकलाई संयुक्त राज्य अमेरिकामा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ । ह्वाइट हाउसले जनाएअनुसार अफगानिस्तान, म्यान्मा, चाड, कङ्गो-ब्राजाभिल, इक्वेटोरियल गिनी, इरिट्रिया, हाइटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकहरूद्वारा संयुक्त राज्य अमेरिकाको सबै यात्रामा प्रतिबन्ध लगाइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यो कदमले शरणार्थी मार्गहरूमा बाधा पुर्याउनुका साथै अवैध प्रवेशमाथिको कारबाहीलाई विस्तार गर्दै अध्यागमनलाई थप प्रतिबन्धित गर्ने अनुमान गरिएको छ ।
प्रतिबन्धले समेटेका इरान र अफगानिस्तान जस्ता धेरै राष्ट्रको संयुक्त राज्य अमेरिकासँग शत्रुतापूर्ण सम्बन्ध छ भने हाइटी र लिबिया जस्ता मुलुकले गम्भीर सङ्कटको सामना गरिरहेका छन् ।
गत हप्ता आफ्नो प्रतिबन्धको घोषणा गर्दै ट्रम्पले कोलोराडोमा यहुदीहरूमाथि हालै भएको ‘आतङ्कवादी आक्रमण’ ले नयाँ उपायलाई उत्प्रेरित गरेको बताएका छन् । ‘उचित जाँच नगरिएका वा भिसा अवधि नाघेका विदेशी नागरिकहरूको प्रवेशबाट हाम्रो देशमा चरम खतरा उत्पन्न गरेको छ’, ट्रम्पको भनाइ छ ।
राष्ट्रपति ट्रम्पले बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका यात्रुहरूमा पनि आंशिक प्रतिबन्ध लगाएका छन् । ती देशबाट केही अस्थायी कार्यभिसाहरूलाई अनुमति दिइने जनाइएको छ ।
ट्रम्पले संसारभरि खतराहरू देखापर्दै गएअनुसार अमेरिका प्रवेश प्रतिबन्धमा नयाँ मुलुक थप्न सकिने चेतावनी पनि दिएका छन् ।
प्रतिक्रिया