विश्वकपको कांश्य पदक विजेता उसु खेलाडीहरुले सो क्रममा सहभागी हुँदा भएको खर्च युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले रोकेकोमा असहमति जनाउँदै तत्काल रकम निकासाका लागि अनुरोध गरेका छन् । उसुका अन्तर्राष्ट्रिय पदकधारी खेलाडीहरु दीपक हमाल, विजय सिंजाली, पासाङ शेर्पा, राजिव तामाङ र निमा घर्ती मगरले गतवर्ष अक्टोबरको अन्त्यमा जापानको योकोहामामा भएको थाउलु विश्वकपमा सहभागी भएर कांश्य पदक जित्दा खाना तथा बसोबासबापत भएको खर्च तत्काल उपलब्ध गराउन माग गरेका हुन् ।
सन् २०२४ को अप्रिलमा चीनको जियानज्यिनमा सम्पन्न विश्वकप छनोटमा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङबाट बिदाई भएर १४ खेलाडीसहितको टोलीले सहभागिता जनाएको थियो । सोही प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा अन्तर्राष्ट्रिय उसु महासंघले नेपालका पाँच खेलाडीलाई विश्वकपमा सहभागिताका लागि छानेको थियो । परिषदबाट विश्वकप सहभागिताको क्रममा खेलाडीको खाना र बसोबासको खर्च बिलअनुसार भुक्तानीको प्रकृया अन्तिम चरणमा पुगेको बेला मन्त्री चौधरीले रोकेको खेलाडीहरुले पत्रकार सम्मेलन गर्दै आरोप लगाएका छन् ।
मन्त्री चौधरीको रवैया खेल र खेलाडीप्रति सकारात्मक नरहेको खेलाडीहरुको गुनासो छ । नेपालबाट प्रतिभावान खेलाडीहरु प्रत्येक दिन विदेश पलायन हुनुमा सम्पूर्ण खेलकुदको अभिभावकत्व ग्रहण गर्नुपर्ने मन्त्रालयको नेतृत्वबाट हुने यस्तै अपमानजनक व्यवहार मुख्य कारण रहेको खेलाडीहरुले जिकिर गरेका छन् । पदकविजेता खेलाडीहरुले आफूहरु अत्यन्तै दयनीय अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै न्यायका लागि अपिल गरेका छन् ।
प्रतिक्रिया