पोसम, छेपारो र ट्यारान्टुलासहित भारतीय तस्कर पक्राउ

पोसम, छेपारो र ट्यारान्टुलासहित भारतीय तस्कर पक्राउ


भारतीय भन्सारले थाइल्यान्डबाट आएका एक यात्रुबाट लुप्तप्रायः वन्यजन्तुहरू जफत गरेको छ । सम्बद्ध अधिकारीहरुले वक्तव्यमार्फत जनाएअनुसार जफत गरिएका वन्यजन्तुहरूमा छेपारो, सनबर्ड र रूखमा चढ्ने पोसमसहित झन्डै एक सय जीवजन्तु रहेका छन् ।

भन्सार अधिकारीहरूका अनुसार दुई ट्यारान्टुला माकुरा र कछुवा समेत बोकेका यात्रुले भारतको वित्तीय राजधानी मुम्बई आइपुग्दा आत्तिएर अस्वाभाभिक व्यवहार देखाएका थिए ।’

जुन महिनाको सुरुमा थाइल्यान्डबाट पनि आएका दर्जनौँ विषालु भाइपरहरू तस्करी गर्नबाट एक यात्रुलाई रोकेपछि यो जफत गरिएको हो ।

जफत गरिएका वन्यजन्तुहरूमा इगुआनासका साथै किन्काजौ वा हनी बियर-मेक्सिकोको वर्षावनबाट आएको सानो रेकुन जस्तो जनावर-साथै अस्ट्रेलियामा फेला परेको ग्लाइडिङ पोसम, ६ वटा ‘सुगर ग्लाइडर’ समावेश छन् ।

भन्सार एकाइले जारी गरेको तस्बिरहरूमा छवटा सुगर ग्लाइडर टोकरीमा सँगै बसेका र छेपारोले भरिएको बक्स पनि देखाइएको छ ।

“एउटा महत्त्वपूर्ण कारबाहीमा भन्सार अधिकारीहरूले… एक भारतीय नागरिकलाई रोके… जसले गर्दा धेरै जीवित र मृत वन्यजन्तु प्रजातिहरू जफत गरियो, तीमध्ये केही वन्यजन्तु संरक्षण कानून अन्तर्गत संरक्षित छन्”, भारतको वित्त मन्त्रालयले सोमबार राति एक विज्ञप्तिमा भनेको छ ।

जङ्गली जनावर र बोटबिरुवाको तस्करीसँग लड्ने वन्यजन्तु व्यापार मोनिटर ट्राफिकले मङ्गलबार विदेशी घरपालुवा जनावरको व्यापारद्वारा सञ्चालित तस्करीमा ‘धेरै चिन्ताजनक’ प्रवृत्तिको चेतावनी दिएको छ ।

पछिल्लो साढे तीन वर्षमा थाइल्यान्ड-भारत हवाई मार्गमा सात हजारभन्दा बढी जीवित र मृत जनावर जफत गरिएको छ ।

मुम्बई विमानस्थलका भन्सार अधिकारीहरू तस्करी गरिएको सुन, नगद वा गाँजा जफत गर्न बढी अभ्यस्त छन्, तर हालै वन्यजन्तु जफत गर्ने घटनाहरूमा क्रमिक वृद्धि देखिएको छ ।

भन्सार अधिकारीहरूले जुनको सुरुमा थाइल्यान्डबाट उडेको एक भारतीय नागरिकबाट दर्जनौँ सर्प र धेरै कछुवा जफत गरेका थिए ।

तिनीहरूमा धेरै स्पाइडर-टेल्ड हर्न्ड भाइपरहरू थिए । स्पाइडर-टेल्ड हर्न्ड भाइपर विषालु प्रजाति हो जसलाई वैज्ञानिकहरूले सन् २००६ मा मात्र वर्णन गरेका थिए र प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्घ (आइयुसिएन)द्वारा ‘लुप्तप्रायको नजिक’ भनेर वर्गीकृत गरिएको छ ।

ट्राफिकले आफ्नो विश्लेषणले अधिकांश मामिलामा थाइल्यान्डबाट तस्करी गरिएका जनावरहरू समावेश भए पनि ८० प्रतिशतभन्दा बढी अवरोधहरू भारतमा भएको देखाएको छ ।

फेब्रुअरीमा मुम्बई विमानस्थलमा भन्सार अधिकारीहरूले इन्डोनेसिया, मलेसिया र थाइल्यान्डको जङ्गलमा पाइने सानो बाँदर, पाँच सियामाङ गिब्बनसहित एकजना तस्करलाई पनि रोकेका थिए ।

भन्सार अधिकारीहरूका अनुसार आइयुसिएनले लुप्तप्रायः भनेर सूचीबद्ध गरेको ती साना जीवरू यात्रुको ट्रली ब्यागभित्र राखिएको प्लास्टिकको क्रेटमा ‘कुशलतापूर्वक लुकाइएको’ थियो ।

नोभेम्बरमा अधिकारीहरूले १२ वटा कछुवाको जीवित कार्गो बोकेका एक यात्रुलाई भेट्टाएका थिए ।