राजा महेन्द्रको ‘जनमुखी’ व्यवस्था बिग्रिएर बन्यो ‘राजामुखी’ !

राजा महेन्द्रको ‘जनमुखी’ व्यवस्था बिग्रिएर बन्यो ‘राजामुखी’ !


राजा महेन्द्रले लामो समय राज्य चलाउन पाएनन् । वि.सं. २०११ फागुन ३० गते राजा त्रिभुवनको देहावसानपछि युवराज महेन्द्र राजा भएका थिए । राजा महेन्द्रको जन्म आषाढ कृष्ण पक्ष नवमीको दिन वि.सं. १९७७ जेठ ३० गते शुक्रबार भएको थियो । त्यो समय राजा को थिए भन्दा पनि श्री ३ महाराजा को थिए भन्ने महत्वपूर्ण हुने समय थियो । तसर्थ महाराजा श्री ३ चन्द्रशम्शेरको प्रभुत्व रहेको समय थियो । राजा त्रिभुवनका दुवै रानीहरू भारत सीतापुरबाट विवाह गरेर ल्याइएको हुँदा राणा परिवारसँग धेरै निकटता थिएन ।

राणाकालमा राजाहरू पनि त्यति स्वतन्त्र थिएनन् । राणाकालमा खोलिएका पाठशाला तथा दरबार हाइस्कुलमा राजपरिवारका सदस्यहरूले अध्ययन गर्न पाएका थिएनन् । त्यसैले युवराज महेन्द्रको पनि दरबारमा नै शिक्षादीक्षाको प्रबन्ध मिलाइएको थियो । दरबारिया शिक्षकको रूपमा कीर्तिराज दलीले दरबारमै शिक्षा दिन थाले । साथै तुल्सीमान सिंह र मदनदेवले अंग्रेजी शिक्षा दिन थाले । अंग्रेजीका सुविख्यात कविका कविताहरू पढाउन थालेका थिए । भवनाथ पाण्डेलाई नेपाली साहित्य र संस्कृत अध्यन गराउन लगाइयो । पण्डित दधिराम पनि दरबारमा पढाउन आइपुगेपछि दुवै मिलेर हितोपदेश, पञ्चतन्त्र तथा कालिदासको रघुवंश कण्ठस्थ बनाए । बिस्तारै संगीततर्फ पनि रुचि देखाउन थालेपछि भुपालमानसिंहलाई शास्त्रिय संगीत सिकाउन लगाए । यसरी दरबारभित्रको सम्पूर्ण शिक्षाले सबै कुरामा पारंगत हुँदै गए ।

घोडचढीमा सिपालु रहेका युवराजको लागि सानो घोडा नै राखिएको थियो । बिस्तारै युवराज जवान हुँदै थिए, यता दरबारमा धाई तथा अन्य सेवाका लागि रुम्जाटारकी रम्बा गुरुङलाई राखिएको थियो । रम्बासँग भर्खर जवान हुँदै गरेका अल्लारे उमेरका युवराजले गर्भवती बनाइदिए । दरबारले भ्रुण हत्या नगर्ने चलनले गर्दा वि.सं. १९९६ मा छोरा जन्मियो । रम्बाको नाम दरबारले गीता राखिदियो र ल्याइतेसरहको अधिकार दियो । यसरी आमा-छोरालाई सम्पूर्ण खर्चको ब्यवस्था दरबारले गराइदियो तर राजपरिवारको सदस्यको अधिकारबाट भने वञ्चित नै राखियो । गीताबाट जन्मिएका छोरा रवीन्द्र बाबुजस्तै गीतकार एवं कवि भएर निस्किए । तर उनले पछि आमालाई भने हेरेनन् । दरबारले चार सेवकसहित वार्षिक खर्च र बस्नलाई बत्तिसपुतलीमा घर दिएको थियो । तर महेन्द्रको देहावसानपछि यो खर्चमा कटौती गरियो ।

यसरी दरबारभित्रकी सेविकासँग नै लसपस भेटिएपछि युवराजको विवाह ईन्द्र राज्यलक्ष्मीसँग वि.सं. १९९७ वैशाख २६ गते गराइदिए । विवाहको दश वर्षपछि दिल्ली पलायन हुनु केवल दुई महिनाअघि युवराज धीरेन्द्रको जन्मको समय अत्यधिक रक्तश्रावले गर्दा युवराज्ञी इन्द्रको देहावसान भयो । युवराज्ञी इन्द्रको देहावसान भएको दुई वर्षपछि २००९ मंसिर २५ गते कान्छी साली रञ्जना राणा (रत्न)सँग युवराज महेन्द्रले विवाह गरे । राजा त्रिभुवन यस विवाहको लागि मञ्जुर थिएनन्, जसले गर्दा युवराजले सुटुक्क नागार्जुन दरबारमा गएर रत्नसँग विवाह गरेका थिए । राजा त्रिभुवनको कडा निर्देशन तथा ६ बालबच्चाको भविष्यको लागि पनि विवाह अगाडि नै पाठेघर निकाल्न लगाइएको थियो भन्ने गरिन्छ । तर यसमा सत्यता थियो या थिएन जानकारी भएन । तर, सत्य जे भए पनि सन्तान नपाउने शर्तमा नै रत्नले विवाह गरेको चर्चा त्यतिबेला भएको थियो । हुन पनि युवराज्ञी रत्नले सबै सन्तानलाई आफ्नै सन्तानसरह हुर्काएका थिए ।

राजाको रुपमा महेन्द्रले खासै लामो समय शासन गर्न पाएनन् । पूरा १७ वर्ष पनि शासन गर्न पाएका थिएनन् । तर पनि छोटो अवधिमा पनि धेरै काम गरेर देखाएका थिए । शायद यो अवधिमा नेपालमा जुन किसिमको विकासका पूर्वाधारहरू बने यसले पछिसम्म विकासका लहरहरू नै चले । गाउँ-गाउँमा पुगेर गाउँलेका झुप्रामा पुगेर उनिहरूको दुःख सुन्ने परिपाटी उनले शुरु गरेका थिए, जुन पछि राजा वीरेन्द्रले पनि नियमित गरे । राजा महेन्द्रको यदि २०२८ सालको माघमा देहावसान नभएको भए सोही वर्ष फागुन ७ मा बहुदलिय ब्यवस्थाको घोषणा गर्दै थिए भन्ने पनि सुनिएको थियो । कहाँसम्म सत्य हो थाहा भएन ।

राजगद्दी सम्हालेको ५ महिनामा नै २०१२ साउन १७ गते चीनसँग दौत्य सम्बन्ध कायम गरेर भारतको प्रभावलाई केही मत्थर गर्ने कोशिस गरेका थिए । एक वर्ष नबित्दै असोज २२ मा पहिलो पञ्चवर्षीय योजनाको घोषणा गरेका थिए । तथा केवल नौ महिना पुग्दा मंसिर २९ मा नेपालले संयुक्त राष्ट्र संघको सदस्यता पाएको थियो । यसरी राजगद्दी सम्हालेको पहिलो साल नै दलहरू बीचको सामन्जस्य बढाउने प्रयासको थालनी पनि गरिसकेका थिए । देशमा प्रजातन्त्र आगमनपछिको राजनैतिक घटनाक्रमलाई राम्ररी नियाल्ने हो भने त्यसबेलाका राजनैतिक दलहरू सक्षम भइनसकेको आभास हुन्छ । यसबीच मातृकाप्रसाद कोइराला दुई पटक प्रधानमन्त्री बने तर अन्य प्रधानमन्त्रीहरू लामो समय टिक्न सकेनन् वा भनौँ टिक्न दिएनन् ।

२०१३ बैशाख २० गते भएको राजा महेन्द्रको शुभराज्याभिषेक नेपालमा विश्वका प्रमुख कुटनयिकहरूको पहिलो जमघट हो । यस शुभराज्याभिषेक समारोहले नेपाललाई विश्वभर चिनाउन मद्दत गरेको थियो । यस समारोहमा पहिलो पटक नेपालले विश्वभरका राजनयिकहरूलाई विशेष किसिमले स्वागत तथा सत्कार गर्ने अवसर पाएको थियो ।

देशमा प्रजातान्त्रिक सरकार बनेपछि राजा लामो विदेश भ्रमणमा निस्केका थिए । विश्व राजनीतिलाई नजिकबाट नियालेर फर्केका राजाले राष्ट्रिय आमचुनावबाट बनेको बिपी सरकारलाई पनि अपदस्थ गरिदिए । देशमा रहेका राजनैतिक आस्था भएकाहरूको सधै यहि गुनासो रहने गर्दछ, ‘किन राजाले जननिर्वाचित सरकारलाई अपदस्थ गरिदिए ।’

देशका जनतासँग प्रत्यक्ष सम्वादको थालनी पश्चिम नेपालबाट गर्दा बाटो–घाटोको अप्ठ्यारो महसूस गरी २०१८ मा पूर्व–पश्चिम राजमार्गको उद्घाटन गर्न पाउँदा राजा सबैभन्दा बढी खुशी भएका थिए । हुन पनि यस राजमार्गको निर्माणले पूर्वदेखि पश्चिमसम्मका नेपालीले आफ्नो देश सहजै चिन्न पाएका थिए ।

भनिन्छ- त्रिभुवन विश्वविद्यालय बनाउने समयमा देशको ढुकुटीमा रकम अभाव हुँदा मुमा बडामहारानी कान्ती र इश्वरीको गहना बेचेका थिए । राजकाजको समय कतिपय कठोर निर्णयहरू पनि भए होलान् । जसलाई केही वर्गले सहजै स्विकार गर्न सकेनन् । तर समग्रमा राजा महेन्द्रले चालेका कतिपय कदमहरू राजा वीरेन्द्रले अगाडि बढाउन सकेनन् । राजा वीरेन्द्र धेरै नरमवादी थिए तर राजा महेन्द्र समय अनुकुल बन्थे । कहिले कठोर कहिले नरम भएर आवश्यक कदम चाल्थे ।

धेरैले राजा महेन्द्रको २०१७ सालको कदमको आलोचना गर्दछन् । तर, राजाले २-३ दिनको निर्णयले यो कदम चालेका थिएनन् । उनले प्रजातान्त्रिक सरकार बनेदेखि नै यसमाथि गोप्य रुपमा कडा नजर राख्न थालेका थिए । साथै यसको विकल्पको लागि लामो अध्ययन पनि गरिरहेका थिए । पञ्चायत शब्द संस्कृत शब्द हो र यसको ब्यवस्थाको शुरुवात धेरै पहिलेदेखि भारतका ग्रामिण क्षेत्रमा शुरु भएको थियो । गाउँका केही पञ्च भलादमीहरूको समुहले गाउँको सम्पूर्ण ब्यवस्था गर्दथे । उनीहरूमा आफ्नै कानुनी अधिकार हुने गर्दथ्यो । यसैबाट प्रभावित भएर महेन्द्रले बृहत्तर रुपमा राष्ट्रिय ब्यवस्थाको थालनी गरेका थिए । पञ्चायती ब्यवस्था वास्तवमा पूर्णरुपमा जनतामुखी थियो । तर पछि यो पूर्णरुपमा राजामुखी हुन पुग्यो । जसले गर्दा यसका गुण भन्दा दोषहरू बढी बाहिरिन पुग्यो । पञ्च भलादमी भन्ने शब्दमा कति आस्था र श्रद्धा थियो पछि ‘पञ्चे’को रुपमा बदनाम भयो ।

राजा महेन्द्रले आफ्नो छोटो शासनकालमा सबैभन्दा बढी मुलुकको भ्रमण गरेर कुटनैतिक फाइदा लिए । देशको विकासको लागि विभिन्न देशबाट सहयोग पाएका थिए । उद्योग कलकारखानाहरू खुलेका थिए । क्रमशः बाटाहरूले पनि एक अर्को शहरलाई जोड्दै थियो । त्यति बेला ती उद्योग कल कारखानामा रहेका कर्मचारी तथा मजदूरहरू राष्ट्रमुखी सोच राख्ने थिए । तर अहिलेको तुलना गर्‍यो भने ब्यक्तीमुखी तथा दलमुखी हुन पुगे । जसले गर्दा सीमित ब्यक्ति त सम्पन्न भए तर समग्र देश सम्पन्न हुन सकेन ।

राजा महेन्द्रकै शासनकालमा राष्ट्रिय बैंकको रुपमा नेपाल राष्ट्र बैंकको स्थापना भएको थियो । सोही वर्षदेखि पञ्चवर्षिय योजनाको शुरुवात समेत भएको थियो । सोही सालमा नै सर्वोच्च अदालतको स्थापना गरिएको थियो । देशमा प्रजातन्त्र आएपछि भारत सरकारले धेरै किसिमको नियन्त्रण नेपालमाथि गर्न थालेको थियो । प्रशासनिक सुधारका नाममा भारतीय आयोग, सेनाको सुधारमा हस्तक्षेप, मन्त्रिपरिषदको बैठकमा समेत भारतीय प्रतिनिधिको उपस्थिति जस्ता कार्य भारत सरकारले गर्दै आएको थियो । यसमा पूर्ण रोक राजा महेन्द्रको शासनकालमा नै भयो ।

राजा महेन्द्रले देशको विकास विकेन्द्रिकरणबाट हुने बुझेर २०१८ सालमा भूगोलविद हर्क गुरूङको सुझावमा १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरेका थिए । यसअगाडि नेपालमा ३५ जिल्ला मात्र थियो । यसरी गरिएको विभाजनलाई अझ परिष्कृत गर्दै राजा वीरेन्द्रले २०२९ सालमा चार विकास क्षेत्रमा विभाजन गरेका थिए ।

जबसम्म देशका दलहरू र दलका अगुवाहरू राष्ट्रमुखी हुँदैनन् । केवल आफ्ना र दलको स्वार्थमा नै केन्द्रित रहन्छन् । देशले कुनै गतिशील निकास पाउँदैन । तसर्थ अहिलेको देशको राजनैतिक परिस्थितिको निकासको लागि कुनै नयाँ कदम छिट्टै आओस् भन्ने अपेक्षा गरौं ।

अन्तमा, राजा महेन्द्रको १०५औं जन्मजयन्तीको अवसरमा हार्दिक श्रद्धाञ्जली ।