नारायणहिटीबाट राजा बहिर्गमनको सत्र वर्ष

नारायणहिटीबाट राजा बहिर्गमनको सत्र वर्ष


राजा ज्ञानेन्द्रको नारायणहिटीबाट बहिर्गमनको पनि १७ वर्ष बितेछ । २०६५ जेठ १५ गते बसेको प्रतिनिधिसभाको बैठकले राति ११ः२५ बजे संविधानसभाको जेष्ठ सदस्यको नाताले सभाको पहिलो बैठकको अध्यक्षता गर्दै कुलबहादुर गुरुङले सरकारको प्रस्तावमा भएको मतदानको परिणाम सुनाएका थिए । यसरी नेपालमा गणतन्त्रको घोषणा भएको थियो । साथै नेपालमा राजतन्त्रको अन्त्य भएको तथा राजा ज्ञानेन्द्रलाई १५ दिनभित्र नारायणहिटी दरबार छोड्न पनि भनिएको थियो । यसरी दरबार छोड्न आग्रह गरिएपछि राजा ज्ञानेन्द्रले सहजै स्विकार गरी २०६५ जेठ २९ गते नारायणहिटी दरबार छोड्ने घोषणा गरेका थिए ।

यसरी देशमा २३९ वर्ष लामो राजतन्त्रको अन्त्यको घोषणा भइसकेको तथा जेठ १५ मा नै १५ दिनभित्र राजदरबार खाली गर्न गरिएको अनुरोधलाई स्विकार गर्दै राजाले २०६५ जेठ २९ गते साँझ ५ बजे नारायणहिटी दरबारमा पत्रकारलाई जानकारी गराएका थिए । सो सम्बोधनको क्रममा राजाले, ‘मैले देश छोडेर जाने सोच बनाएको छैन । म मातृभूमिमै बसी मुलुकको वृहत्तर हित र शान्तिका लागि योगदान पुऱ्याउन चाहन्छ’। यसको लागि सबैको सहयोग हुने नै छ भन्ने आशा लिएको छु’ भनेका थिए ।

साथै, नियतिले अचानक दाजुको परिवारमा परेको बज्रपातले आफू राजा भएपछि पदीय दायित्वले ब्यक्त गर्न नपाएको भन्दै राजाको पदबाट मुक्त भइसकेको हुँदा भन्न चाहेको भन्दै राजा ज्ञानेन्द्रले त्यतिबेला भनेका थिए– ‘मैले हिजो पदीय दायित्वका कारण व्यक्त गर्न नसकेको तर मेरो अन्तरआत्मामा गुज्रिरहेको केही कुरा ईश्वरलाई साक्षी राखी आज म पत्रकार मित्रहरूमार्फत नेपाली दाजुभाइ, दिदीबहिनी एवं अन्तर्राष्ट्रिय समुदाय समक्ष राख्न चाहन्छु । नियति नै भन्नुपर्ला म एउटा अबोध बालक छँदा मेरो शिरमा पहिर्याइएको श्रीपेच चुपचाप थाप्ने बाध्यताबाहेक मेरो न चाहना थियो, न इच्छा न त कुनै भूमिकाको गुञ्जायश नै थियो । त्यस्तै ०५८ साल जेठ १९ गते राति दोस्रोपटक फेरि एउटा अकल्पनीय त्रासदीपूर्ण घटना राजदरबारमा घट्दा मेरा पूजनीय दाजु–भाउज्यू लगायत आफ्ना आत्मीय परिवारको वीभत्स विनाश भएको र ती प्रिय आदरणीय परिवारजनका शवमा आँसु बगाएर मन हलुका पार्ने मौकासमेत पाउन नसक्ने परम्परा र कर्तव्यको जञ्जीरमा बाँधिन विवश मेरो अन्तरवेदना शब्दमा व्यक्त गर्न सक्दिनँ । यसै अवस्था र घटनालाई लिएर केही र कतिले अत्यन्त निर्विवेक र निर्दयतापूर्वक म र मेरो परिवारमाथि लगाएका कठोर आरोप र लाञ्छनालाई हामीले सहनुबाहेक न कुनै उपाय थियो न त हाम्रो तर्फबाट बोलिदिने नै कोही थिए । तत्कालीन परिस्थिति र घटनाबाट फाइदा उठाउन म र मेरो परिवारप्रति पूर्वाग्रही भई विभिन्न माध्यमबाट म र मेरो परिवारलाई बदनाम गर्ने काम निरन्तर रूपमा भइरह्यो, जुन मेरो लागि अति दुःखदायी थियो र छ । दरबारमा घटेको घटनामा परी घाइते भएका राजपरिवारका अन्य जीवित सदस्यहरू अझै पनि जीवितै छन् । उनीहरू त्यसका प्रत्यक्ष साक्षी पनि हुन् । सोही घटनामा घाइते भइ बाँचेकी मेरी श्रीमतीको शरीरमा प्राविधिक कारणले निकाल्न नसकिएका गोलीका टुक्राहरू अझै रहेका छन् । यस सम्बन्धमा उपचारमा संलग्न चिकित्सकहरूबाट सत्यतथ्य पनि बाहिर आएकै थियो । उच्चस्तरीय छानबिन आयोगले घटनाबारे सत्यतथ्य जनसमक्ष ल्याएकै हो । समस्त नेपाली जनता र राजसंस्था शोकविह्वल रहेको अवस्थामा यस्तो प्रकारसँग आक्षेप लगाउनु मानवीय समवेदनासँग मेल नखाने तथा राजसंस्थाप्रति नेपाली सामु रहेको सद्भावलाई बिगार्ने र मात्र दुर्भावना फैलाउने रणनीति रहेको देखिन्छ ।’

यसको साथै राजाले आफूले विदेशमा कुनै चलअचल सम्पति जम्मा नगरेको पनि जानकारी गराए । र, ‘परम्परागत रूपमा शाहवंशीय राजाहरूबाट प्रयोग भई शाहवंशको विरासतको रूपमा रहेको श्रीपेच र राजदण्ड चिरकाल पर्यन्त सुरक्षित रूपमा राख्ने गरी संरक्षणका लागि आजकै मितिमा नेपाल सरकारको जिम्मामा रहनेगरी मैले हस्तान्तरण गरेको छु’ भन्दै राजतन्त्रको चिनो पनि देशलाई हस्तान्तरण गरेको घोषणा गरेका थिए ।

यसरी राजाबाट दरबार छोड्ने घोषणा गरेपछि नारायणहिटी दरबारको चारै ढोकाबाहिर सर्वसाधारण जनता तथा गणतन्त्रका हिमायतीहरू राजाको बहिर्गमनको प्रतिक्षा गरेर बसेका थिए । साथै प्रहरीले पनि बलियो सुरक्षा दिएर राखेका थिए ।

यता राजा नारायणहिटीबाट बहिर्गमनपछि आउन लागेको आफ्नै भवन निर्मल निवासमा पनि सम्पूर्ण तैयारी गरिसकेको थियो । राजाको आगमनमा त्यहाँ पनि दरबारका आफन्तहरु प्रतीक्षारत थिए । केही पत्रकारहरू राजाको निजी निवास हेर्न पुगेका थिए । राजाको शयनकक्ष तथा टेबल कुर्चीको अवस्था हेर्दा कुनै राजर्षी ठाँटवाटको अनुभूति हुँदैनथ्यो ।

अन्ततः निकै ढिलो गरि राति ८ः४५ बजे बा १ च ५६२४ नं. को कालो मर्सिडिज कारमा राजा तथा रानीको बहिर्गमन नारायणहिटीबाट भयो । सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा सेनाले सुरक्षाका साथ बाहिरिएका राजाको सामानको रुपमा एउटा गाडीमा केही झोलाहरु देखिएको थियो ।

बहिर्गमनको समय राजा ज्ञानेन्द्र तथा रानी कोमलको अनुहारमा कुनै पनि किसिमको अफसोस वा संकोच थिएन । खुशीले निस्केका थिए । राजनीति गर्ने नेता तथा उनका आसेपासेले राजाप्रति जस्तो किसिमको लाञ्छना लगाएको भए तापनि दरबारबाट बहिर्गमन हुँदा अनुहारमा कुनै पनि अफसोस वा चिन्ता वा ग्लानी देखिँदैनथ्यो । जे भयो जनताको चाहनाले भयो भन्दै सम्पूर्ण अवस्थालाई सहर्ष स्विकार गरेका थिए । तर केही गणतन्त्रका हिमायतीबाहेक अन्य जनताको मनमा भने पीडाको अनुभूति भएको थियो ।

आखिर ०६२/६३ को आन्दोलनको मर्म तथा उद्देश्य के यही नै थियो त ? जनताले राजसंस्था हटाउनको लागि नै नारा-जुलुस र आन्दोलन गरेका थिए त ? प्रश्न गम्भीर छ । यसको जवाफ खोज्यौँ भने केहीका जवाफ सहमतिका आउलान् तर अधिकांशका जवाफ नकारात्मक नै हुनेछ ।

नारायणहिटी दरबारलाई संग्रहालय बनाइएपछि राजाका शयनकक्ष तथा अन्य कक्षहरुको भ्रमण गर्दा आमजनताको धारणा केही बदलियो । राजा पनि हामीजस्तै साधारण जीवन नै जिउने रहेछन् ।

नेपालमा राजतन्त्र पुनः फर्केला वा नफर्केला यो भविष्यले नै बताउनेछ । तर दलिय तन्त्रप्रति जनताको वितृष्णा भने जागिसकेको छ । जनताले दलप्रति भन्दा दलसँग आबद्ध नेता-कार्यकर्ता तथा आसेपासेप्रति नकारात्मक धारणा बनाउन थालिसकेका छन् ।