गुरुसँगको भेट : भर्सेली र पेन्ट !

गुरुसँगको भेट : भर्सेली र पेन्ट !


केही समय अघिदेखि भर्सेली र पेन्टको कुराले छोड्न सकेन । नेपाली समाजमा परम्परागत प्रयोगको चुलो र भर्सेली एकापसमा जोडिएर आउँछन् । तर, यहाँ भने गत माघदेखि भर्सेली र पेन्टले डेरा जमाएको छ ।

अहिलेको पुस्तालाई थाहा नहुन पनि सक्छ- भर्सेली बारे । त्योबेला पुरुषले भात-भान्साको काम खासै नगर्ने हुँदा शायद बुबा दाजुहरूलाई याद नहुन सक्छ । सामान्यतया भर्सेली भन्नेबित्तिकै पुरानो पुस्ताका आमा, दिदी-बहिनीहरूले बुझ्नुहुन्छ । तर, अब त्यो पुस्ता क्रमिक रुपमा घट्दै गएको छ । चुलाहरू आधुनिक बनिसके । त्यसैले पनि येनकेन प्रकारेण आधुनिक चुलो चिनेपनि भर्सेली चिन्ने मौका अबका पुस्तालाई हुने छैन ।

भर्सेलीसँगै देख्न नपाइने अर्को पनि दृश्य छ- आमाहरूले चोलो फुकाएर भात पकाएको । आजभन्दा लगभग दुई-अढाइ दशक अघिसम्म भात पकाउने भान्सेले आफूले लगाएको चोलो फुकाएर छातीमा कपडा (पटुका, मजेत्रो) बेरेर चुलामा पस्नुपर्थ्यो । भात पाकेपछि उक्त भात तातै रहोस् भन्नका खातिर चुलाबाट निकालेर छेवैमा तातो कोइला (भुङग्रो) राखेर भातको भाँडो राख्ने ठाउँ हो भर्सेली । नेपालका पहिलो जगत गुरुसँगको भेटमा उहाँबाट अभिव्यक्त वाक्यले पेन्टलाई भर्सेलीसँग जोड्यो र प्रश्न उठाइरह्यो ।

ढुङ्गा र माटोले बनेको तीनतले घर । वरिपरि पेटी, दुईतिर ढोका । एकातिरको मूल ढोका भनेर चिनिन्थ्यो भने अर्कोतिरको ढोकालाई जस्केलो । जस्केलो र मूल ढोकाबीच केही फरक अवश्य थियो । मूल ढोकाको पल्लादेखि, चौकोस (अर्थात् ढोका अड्याउन प्रयोग गरिने अन्य काठजन्य सबै सामग्री) प्रायः बुट्टादार देखिन्थे । त्यतिमात्र होइन जस्केलो र ढोकाबीचको फरक उचाइ र चौडाईमा पनि देखिन्थ्यो । ढोकाको तुलनामा जस्केलो अलि कमसल, सानो, उचाई र चौडाई पनि कम हुन्थ्यो । भित्र मूल थाम, जहाँ प्रायः वास्तुदेवता राखिन्थ्यो रे ! मूलथाममा वास्तु राख्ने साझा चलन भने पनि हुन्छ, पहाडको । तराइमा भने वास्तुदेवता पूर्वोत्तरको पिलरमा राख्ने गरिन्छ ।

हाम्रो घरमा वास्तु राखेको मूल थामभन्दा केही अगाडि अलिमाथि चुलो (चुल्हो), भर्सेली, चूलोभन्दा तल अँगेनु थियो । अँगेनु र चुलोको बीच भनौँ वा घरको लम्बाई र चौडाई अनि आलमारी लगायतका सामग्री राखेको ठाउँका आधारमा चुलो र अँगेनुको बीचको भाग निर्धारण हुन्थ्यो । चुलो र अँगेनु छुट्याउनका लागि सानो माटोको डिल हुन्थ्यो । त्यो साँधको खास अर्थ ब्रतबन्ध र बिहे नगरेकाहरूलाई चुलोमा जान रोक लगाउनका लागि लक्ष्मणरेखा थियो । जतिबेला चूलामा भात-भान्सा पाकेको हुन्थ्यो त्यो भात-भान्साका भाँडा खाली नभएसम्म माथिका दुई कर्म चलेकाले जान पाइँदैनथ्यो । अर्को तरिका भनेको ती दुई कर्म चलेकाहरूले भात खाइसकेर निस्केपछि हामी आफैंले पनि पस्कन र खान पाउँथ्यौं । त्यो पछि चुलो लोटाउने, पोत्ने आदि काम गर्नुपर्दथ्यो । साँधमुनि रहेको अँगेनुमा भने दुध तताउने, तरकारी पकाउने जस्ता कामहरू हामी गर्न पाउँथ्यौं ।

ऊ बेलाका चलन कति राम्रा थिए वा नराम्रा त्यो ब्याख्या र विश्लेषण नगरौँ । समयक्रमसँगै दैनिकीमा असहज अनुभव भएका थितिहरू छोडिँदै गएका छन् । त्यसकारण त्यो त्यतिबेलाको आवश्यकताअनुसारको भोगाइ थियो । तथापि त्यो परिवेशबाट बाहिर निस्केको दशकौँ बितिसक्दा नेपालका प्रथम जगत् गुरुद्वारा आफ्नै समिपमा आफैंलाई प्रकट गरेको वाक्यले स्मृतिपटलको कोमामा पुग्न लागेको भर्सेलीलाई सम्झाइदियो ।

२०८१ माघ १७ गतेदेखि २१ गतेसम्म बिर्तामोड-५ मा नवनिर्मित माता गायत्रीको मन्दिरको समुद्घाटन तथा २१ गते प्राण प्रतिष्ठाका लागि वैदिक अनुष्ठान चलिरहेको थियो । १७ गतेदेखि शुरु भएको अनुष्ठानको अवधिभर भिआइपीहरूको उपस्थिति रह्यो । भक्तजनको चाप पनि त्यत्तिकै । आफ्नो बासस्थान नजिकै त्यति ठूलो धार्मिक कार्यमा प्रारम्भदेखि नै उपस्थित हुन असमर्थ रहे–प्राविधिक कारण ।

२० गते अनौठो संयोग जुर्‍यो । नेपालकै प्रथम जगत् गुरुको प्रवचन सुन्ने हुटहुटीका साथ पाँच बजेदेखि नै मन्दिर परिसरमा मानिसहरू जम्मा हुन थालिसकेका थिए । ब्यस्त शहरमा जग्गाको मूल्य चर्किएको लामै समय भइसक्यो । यति हुँदाहुँदै पनि कसैले दान दिएको जमिनमा गायत्री मन्दिरको उत्तर-पश्चिमतिर पण्डाल निर्माण गरिएको थियो । पण्डालमा भक्तजन थपिने क्रम निरन्तर चलिरहेको थियो । निर्धारित समयभन्दा निकै ढिलो गरी जगत् गुरुको आगमन भयो । गुरुका साथमा अरु पनि केही व्यक्तित्वहरू थिए । जसमा सताक्षीधाम गोलोक गोवर्द्धन गौशालाका संरक्षक नन्दकिशोर भारद्वाज, खनाल गुरु, जगत् गुरुकै भाषामा युट्युवाचार्य भाग्य न्यौपाने आयोजक समितिका संयोजक रोनक बंशलसहित गुरुका समीपमा थिए । जगत् गुरुको ब्यग्र प्रतीक्षामा बसेका धेरैले हेरेर चित्त बुझाए भने कत्तिले छोएर आशीर्वाद लिन सके । कार्यक्रम सञ्चालक केशव भट्टराईले आशन ग्रहण गराइसकेपछि माइक्रोफोन गुरुतिर सोझियो । गुरुले आफ्ना शिष्य सखीहरूको फुलबुट्टा भरेरै संक्षिप्तमा चिनारी गराउनुभयो ।

गुरुको प्रवचन सुनियो । उहाँले पश्चिममा निर्माण गर्न लागेको धार्मिकस्थलदेखि स्कूल बनाउने तीव्र इच्छाले सहयोग जुटाउन दौडिएका भारतका एक व्यक्तिलाई गंगाकिनारमा बालुवा चाल्ने महिलाले दिएको एकसुकाले निर्माण भएको विद्यालयको वर्णन गरेर धार्मिक कार्यमा मन र धन लगाउन प्रेरित उक्त प्रसङ्ग निकै मार्मिक र रोचक थियो ।

धार्मिक, आध्यात्मिक तथा राजनीतिमा आस्था र विचारकै कारण भीड हुने हो । यहाँ भने धर्म र अध्यात्मले जोडेको भीड थियो । धर्म एउटा अदृश्य लक्ष्मणरेखा पनि हो । मानिस कोहीसँग डराउँछ भने भगवानसँग मात्र डराउँछ । अन्यथा मान्छे यस्तो प्राणी हो जसलाई उसको चाहनाबाहेक कही कसैले पनि रोक्न र छेक्न सक्दैन । यो अपवादबाहेक सर्वमान्य सत्य भन्दा अत्युक्ति हुँदैन । पछिल्लो समय मानिसलाई नैतिकतामा डोहोर्‍याउने सबैभन्दा दर्बिलो हतियार नै धर्म भएको पाइन्छ । अघिपछि जे गरेपनि मन्दिरको घण्टी छोएर शिर निहुराएर ढोकाभित्र छिरेपछि मानिसले त्यस्तै महसूस गर्दोहोला भन्ने लाग्छ । यहाँ पनि हिँड्दाहिँड्दै जगतगुरुका गोडा छोएर आफूलाई पवित्र बनाउनेको भिडले पनि त्यही बताउँथ्यो ।

आयोजकका लागि केही कुरा, आगमनको वातावरण बनाउने प्रशासनका लागि केही कुरा, आफूले गर्दै गरेको ठाउँको पृष्ठभूमिसहितको केही कुरा अनि भारत र नेपालबीचको धार्मिक अन्योन्याश्रित सम्बन्ध, प्रेरक प्रसङ्ग यस्तै यस्तैमा केन्द्रित थिए गुरुका प्रवचनका विषयवस्तु । सरल शब्द र शैलीमा प्रस्तुत प्रवचन सबै ध्यानपूर्वक सुनिरहेका देखिन्थे ।

जगत गुरुको प्रवचन सुन्नका लागि गएकी म जुन कर्ममा थिए, त्यसका लागि डिभाइसमा तस्बिर कैद गर्नु पनि थियो । गुरुको आगमन हुँदा तस्बिर कैदका लागि सहजता होस् भन्ने हेतुले अघि नै ठाउँ हेरेर बसेकी थिएँ । (अर्दली) र अन्य अनुयायी तथा गुरुहरूसंगै जगतगुरुको आगमन भयो । गुरुसँगै रहेछन् गोलोक गोवर्द्धन गौशालाका संरक्षक नन्दकिशोर भारद्वाज (टिका दाइ) । देखादेख भयो । बोलचाल हुने कुरै भएन । प्रवचनको समय सकियो । गुरुसँगै बाहिर निस्कने क्रममा भारद्वाज गुरुले भन्नुभयो- बाहिर आउ । पछि-पछि गएँ । कुनै बेलाका छिमेकी, अहिले त्यस्तै संयोगले भेट भयो र मौका मिल्यो भने खबर आदान-प्रदान हुन्छ । पारिवारिक खोजी खबरी यस्तै यस्तै । शायद यहाँपनि त्यही शिलशिलामा त्यो भिडबाट बाहिर निस्कन भन्नुभएको हुन सक्छ । आज्ञाकारी भएर बाहिर निस्किएँ ।

बसाइ पनि नजिकै भएकाले गारो थिएन । झण्डै आठ बजेतिर विजुलीले छरेको उज्यालोको साथमा अग्रसेन भवनतर्फ मोडियौँ । त्यहाँ जगत गुरुका लागि भोजन र रात्रीकालीन विश्रामको व्यवस्था गरिएको थियो । सँगसँगै थिए आयोजक रोनक बंशल र मारवाडी महिला मञ्चका दिदी-बहिनीहरू पनि । नेपालगञ्जबाट काठमाडौं, काठमाडौंबाट चन्द्रगढी, चन्द्रगढीबाट बिर्तामोड शायद उमेरका कारण पनि हुनसक्छ- गुरुको अनुहार थकित देखिन्थ्यो ।

गुरुले एकछिन आराम गर्नकै लागि पनि शान्त समय पाउन सक्नुभएन । उहाँसँग भेटघाट गर्नेहरूको टोलीले छोडेन । त्यही टोली भन्दा फरक म पनि जोडिएकी थिएँ- नन्दकिशोरमार्फत । केही महिनाअघि पश्चिम स्टेसनमा बाटो काट्ने क्रममा उहाँले हाँकेको सवारीबाट संयोगले बचियो । मुख्य बाटोमा भएको त्यो अत्यासलाग्दो घटना भएपनि बोल्ने मौका थिएन । गाडीले छोएकै थियो भने शायद परिस्थिति बेग्लै बन्थ्यो । त्यो बेला सबै व्यस्तताहरू गौण हुन्थे । भाग्यले त्यो अवस्था आएन ।

गुरु आराम गर्ने कोठामा मारवाडी समुदायका महिलाहरूसँगको मिठो कुराकानी भयो । अनि सम्झनाका लागि फोटा खिच्न त छुट्ने कुरै भएन । पंक्तिकार फोटो खिच्न मरिहत्ते गर्ने नभएपनि कहिलेकाहीँ बेला मौका हेरेर अघि नसर्ने पनि कुरा भएन । गुरुसँगको पहिलो भेट, त्यसमा पनि अघि प्रवचनकै क्रममा उमेरका कारण अब व्यक्ति हिँड्न-बोल्न पनि गारो हुने गरेको सङ्केत गरिसक्नुभएको थियो । खाना खाने बेला भयो । अग्रसेन भवनको निर्माणाधिन माथिल्लो तलामा किचन बनिसकेको रहेनछ । त्यसैले अन्यत्रबाट खाना लगेर भविष्यमा बन्न लागेको किचनमा राखियो । गुरु आराम गर्ने कोठाको बाहिर उभिएर दृश्य नियाल्दै थिएँ । बालसन्तसँगै नन्दकिशोरलाई पनि खाना खान बोलावट भयो । नन्दकिशोरले तिमी पनि हिँड, यतै खाना खाएर जाउँ भन्नुभयो । किचनसम्म पुगेँ । नजिकै घर भएका कारण खाना खाने कुरै थिएन । खाली उहाँको बचन काट्न नसकेर मात्र त्यहाँ पुगेकी थिएँ । त्यही खाना खानका लागि छिरे युट्युवाचार्य र प्यारो भाइ टीकाराम बास्तोला ।

यहाँसम्म खाली दृश्यमात्र थियो । तर, जब किचनमा गुरुहरू खाना खान बस्नुभयो त्यो क्रममा जगत् गुरुबाट अभिव्यक्त शब्दले अहिले पनि चिमोटिरहेको छ । जुन शब्दले अघि खाना ल्याउनेहरूको दृश्यमात्रै सम्झाएन, हाम्रो समाजमा लवजले कसरी बाँधेको छ भन्ने प्रश्न मडारिइरह्यो । त्यतिमात्र होइन, आफू बच्चा हुँदा आमा र हजुरआमाहरूले परम्परागत तरिकाले खाना पकाएको दृश्य सम्झायो । महिला-पुरुषबीच हुने विभेदलाई गुरुका शब्दले अझ दर्बिलो गरी उजागर पनि गरिदियो ।

दिनभरको दौडाइपछि धार्मिक कार्यमा पुगेकी म उहाँहरूको किचनसम्म पुग्छु भन्ने कुनै कल्पनै थिएन । तर, छिमेकी दाजु नन्दकिशोरसंगको भेटले डोर्याएर पुगेकी मलाई अनौठो अनुभव गर्ने अवसर जुर्यो । गुरु धोती फेरेर बस्नुभएको थियो । त्यसै गरी नन्दकिशोर पनि । तर, खान थाल्नुभएको थिएन । पंक्तिकारलाई पनि खाना खाएर जाने अनुरोध भएपनि खाने योजना थिएन । त्यही कारण नन्दकिशोर गुरुलाई म जान्छु भन्नकै खातिर केही दूरी राखेर नजिक पुगेँ । त्यही बेला जगतगुरुले भन्नुभयो- ‘पेन्ट लगाउनेले यहाँ आउने होइन ।’ मन अमिलो भयो र ‘बस्न आएकी होइन’ भन्दै निस्किएँ । गुरुलाई प्रश्न गर्न मन थियो- ‘तपाईंले खान लाग्नुभएको खाना ल्याउनेहरू पनि त पेन्ट नै लगाएका थिए । के त्योचैं पुरुष भएर चल्या हो ?’ प्रश्नको पोको फुकाउन नसकी बाहिरिएँ । अन्यत्रै पकाएको खाना त्यो किचनसम्म पुर्‍याउनेले पनि भेष्ट र पेन्ट नै लगाएका थिए । उहाँको जस्तो धोती फेरेर ल्याएका थिएनन् ।

मनभरी प्रश्न उठ्यो- त्यसोभए महिलाले पेन्ट लगाउँदा चैं परैबाट पनि छुन्छ ? कि महिलाले साडीको सप्कोमै बेरिएर बस्नुपर्छ ? यदि त्यो होइन भने पेन्ट लगाएका दाजुभाइले ल्याएको खाना चल्ने अनि मजस्ता महिलाले पेन्ट लगाएर किचनमा पस्नै नहुने भन्ने हुन्छ र ? आमाको ‘भर्सेली’ र गुरुको ‘पेन्ट’मा कत्रो तादात्म्यता ? आमाले भर्सेलीमा भर्सिएको भात कर्म चलेकाले मात्रै छुन पाउने गरी लगाएको बन्देज र पेन्ट लगाएरै ल्याइएको भोजन गर्न तयार गुरुले गरेको मेरो पेन्टमाथिको टिप्पणी ? प्रश्न आज पनि छ ।

थाहा छ तर्कमा गुरुहरू माहिर हुन्छन्, जसरी राजनीति गर्नेले गलतलाई पनि सही बनाउन प्रयत्न गर्छन् । यी मेरा अनुभूतिहरू शायद गुरुसमक्ष नपुग्ला । पुगेपनि साडीमा बेरिन नचाहने पेन्टवालीको तीतो अनुभवले छुने त कुरै भएन । यद्यपि फेरि पनि प्रश्न गर्छु- ‘के महिलाले लगाएको पेन्टले मात्रै छुन्छ दूरी कायम राख्दा पनि ?’

पहिलोपटक गुरुसँगको समीपमा पुग्दा प्रस्तुत वाणीले छोएको कुरा प्रस्तुत गर्दा मठाधीशहरूले निश्चय पनि राम्रो मान्नुहुन्न होला । किनकि अधिकांश मठाधीश, पिठाधीशहरूका बोलीलाई ‘वाणी’ ठानिन्छ । र, उहाँहरूले जे भने पनि सही ठानिन्छ । तसर्थ, यहाँ पनि अनेक उपमा दिन पनि सक्छन् । त्यसलाई सामना गर्ने शक्ति राखेरै फेरि पनि प्रश्न- के भोजन ल्याउनेले लगाएको पेन्ट लैंङ्गिक गोत्र मिलेर स्वीकार्य भएको हो ?

आचार्यहरूले नियमको पालना गर्छौं भन्नुलाई स्वभाविक मानिन्छ । तर, आचार र नियमको पालना गरिरहेका गुरुहरूलाई भोजन ब्यवस्थापन र तयार गर्नेहरूले पनि बाहिर पकाएर लगिएको खाना खुवाउनु हुँदैन भन्ने हेक्काचाहिँ राख्नुपर्थ्यो होला ! अनि गुरुले पनि परिवेश बुझेर मात्र लवजको आलोचना गर्नु राम्रो हुन्थ्यो कि ! अन्यथा गुरुवाणीमा जे अभिव्यक्त गरेपनि सैह्य हुन्छ भन्ने भ्रमबाट मुक्त हुनु नै श्रेयस्कर हुनेछ ।