पत्रकार गिरीको ‘सदरमुकाम भद्रपुरको गाथा’ लोकार्पण

पत्रकार गिरीको ‘सदरमुकाम भद्रपुरको गाथा’ लोकार्पण


पत्रकार गोपाल गिरीद्वारा लेखिएको पहिलो कृति ‘सदरमुकाम भद्रपुरको गाथा’ लोकार्पण गरिएको छ । झापाको सदरमुकाम भद्रपुरको इतिहास खोजी गर्दै तयार पारिएको अग्रज पत्रकार गिरीको प्रथम कृति ‘सदरमुकाम भद्रपुरको गाथा’को लोकार्पण नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष शिव गाउँले, भद्रपुर नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की लगायतले भद्रपुरमा लोकार्पण गरेका हुन् ।

प्रेस क्लब भद्रपुरको आयोजना तथा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय अध्यक्ष शिव गाउँलेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्वागत गर्दै लेखक गिरीले नेपालकै पुराना शहरहरूको इतिहास बोकेको भद्रपुरलाई सत्य र तथ्यमा चिनाउने प्रयास स्वरूप पुस्तक जन्मिएको बताएका थिए ।

पुस्तक विमोचन गर्दै गाउँलेले नेपालका शहरहरु आफ्नै पृष्ठभूमिमा रहेकोले पुराना शहरहरुको इतिहास उजागर गर्दै जानू पर्ने बताए । मानव बस्ती सुरक्षित राख्न तराइमा औलो नियान्त्रणका कार्यहरू पूर्वमा भद्रपुरबाटै सुरुवात भएको बताउदै मेची पुल शिलान्यासको इतिहासको विषयका बारेमा आफुले पटक पटक समाचार लेख्नेदेखि तत्कालीन सरकारका प्रधानमन्त्रीहरूसंग अन्तरवार्ता समेत लिएको स्मरण गरेका थिए । उनले वर्तमान प्रविधिले विश्वलाई नजिक ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोले गिरीले लेखेको पुस्तक अत्यन्त सान्दर्भिक रहेको उल्लेख गरे ।

क्लबका अध्यक्ष राजबाबु शंकरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुस्तकको समीक्षा नागरिक एफएमका प्रवन्ध निर्देशक एवम् नेपाल पत्रकार महासंघ झापाका पूर्व सभापति चिन्तामणि दाहाल र पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष तारामणि सापकोटाले गरेका थिए ।

समीक्षक दाहालका अनुसार पुस्तक भद्रपुर नगरको इतिहासका लागि एउटा महत्वपूर्ण दस्तावेज बनेको छ । उनले लेखकीय रूपमा प्रथम कृति भए पनि पुस्तक उत्कृष्ट लेखनका रूपमा रहेको प्रष्ट पारे ।

अर्का समीक्षक सापकोटाले सरल तथा सहज भाषा शैलीमा आएको पुस्तक भद्रपुरको पहिचान रहेको बताए ।

पत्रकार महासंघ झापाका सचिव राजु पाठकले संचालन गरेको कार्यक्रममा भद्रपुर नगर प्रमुख पोखरेल, उपप्रमुख कार्की, पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी, प्रेस कउन्सिलका झविन्द्र भुसाल लगायतले मन्तव्य राख्दै स्थानीयताको पहिचानलाई राष्ट्रव्यापी बनाउन पुस्तक महत्वपूर्ण हुने धारणा राखेका थिए ।