‘असार पन्ध्र’

‘असार पन्ध्र’


हर साल आउँछ असार पन्ध्र
तर पनि विशेष छ यो दिन
किनकी यो वर्ष दिनमा एक पटक मात्र
आउँछ अनि जान्छ ।
हुन त हरेक दिन वर्षमा एक पटक मात्र आउँछ
तर मलाई असार पन्ध्र अलि विशेष लाउँछ
किनकी योे दिन
दहि-चिउरा खाने दिनको जन्मदिन हो,
अरुबेला खाएको भन्दा यो दिनमा खाएको
दहि-चिउरासँगको आत्मीयता बेग्लै हुन्छ
जस्तो तिहारको सेलरोटीमा स्वाद बेग्लै हुन्छ
दशैंमा मासुको महत्व अर्कै हुन्छ,
माघे संक्रान्तीमा तरुल-चाकु र तीलको लड्डुको
मीठास बेग्लै महशुष हुन्छ,
हुन त असार पन्ध्र न दशैं हो न तिहार
तथापी यस दिन पर्व झैं विशेष हुन्छ
किनकी खेतमा रोपाईं हुन्छ
बाउसेहरु हिलो छ्यापाछापमा रमाउँछन्
ब्याडेहरु वीऊ काढ्छन्
कोहि हिल्याउँछन् कोही आली लाउँछन्
गीताङ्गेहरु गीत गाऊँछन्
छेऊमा उभिई कोहि ताली बजाउँछन्
रोपाहारहरु छुपुछुपु धान रोप्छन्
कतै बेठी लाउँछन् अनि मैजारो गर्छन्
किसानले पसिना रोपेर भाग्य फलाउँछन्
मेहनत पोखेर भविष्य उठाउँछन्
माना रोपेर मुरी उब्जाउँछन्
उजाड मरुभूमिमा हरियाली फूलाउँछन् ।
अनि सवैको पेटमा अन्न पु¥याउँछन् ।

कतै पानीको अभाव छ
खडेरीको प्रभाव छ
कतै मलको हाहाकार छ
उन्नत वीजन छैन
प्रविधि र विधिको चाँजो छैन
तर पनि किसान बाँचेकै छ
जसोतसो मंसिरमा हाँसेकै छ ।

यो देशमा सरकार पनि छ
हुन त यो देशमा सरकार पनि छ
शक्तिशाली सरकार
कम्युनिष्ट सरकार
किसान, मजदुर आफैंले भोट हालेको
आफ्ना लागि आफैंले चुनेको आफ्नै सरकार
तर उसलाई सरोकार छैन
किसानको खेत देखेकै छैन
उसको हविगत सुनेकै छैन
उसको श्रमको मूल्य
पसिनाको हिसाव-किताव
समयको सीमाना
आवश्यक्ताको पहिचान
समस्याको समाधान
बस्तुुको बजार केहि थाह छैन
थाह पाउने चाह पनि छैन
धानको ब्याड देखेकै छैन
हिलो खेत टेकेकै छैन
सहरको एक भब्य मञ्चमा
लाखौं खर्च गरेर फूलदानीमा
धान रोपेर रोपाईजात्रा गर्छन्
नक्कली समाजबादीहरु ।

असार पन्ध्र रोपाईं जात्राको नाममा
मानहानी गर्छन् विद्वान् बुज्रुकहरु
गलाभरी धानको वीऊको
माला लगाएर रमिता देखाउँछन्
रोपाईंमा गएर मन्त्रिहरु रत्तेली खेल्छन्
यिनलाई बाली-नालीको
उत्पादन-बिक्रीको
खर्च र लगानीको
विक्रि र आम्दानीको
कुनै दिलचस्पी छैन
घोगामा दाना नलागेको देख्दैनन्
धानमा भुसमात्र लागेको देख्दैनन्
उखुको मूल्य, धानको मूल्य
दुधको मूल्य सरकारले तोक्छ
फलाउने एउटा पकाउने अर्को
कठै किसान आफ्नो फसलको
मोल राख्न पाउँदैन
आफैं बेचबिखन गर्न पाउँदैन
तह-तहका बिचौलियाले
कृत्रिम महँगी फैलाइरहेछन्
दुईलाई दुई सय बनाईरहेछन्
किसानलाई भाग्न विवस बनाईरहेछन्
अम्दानी आठान्नी खर्च रुपियाँ
कसरी धान्न सक्छ किसानले
कहिले समाधान गर्ने सरकारले ?

हरेक वर्ष खर्वौं बजेट छुट्याईन्छ
तर दुर-दराजमा पुग्दै पुग्दैन
सक्कली किसानले न ऋण पाउँछ
न त अनुदान पाउँछ
जस्ले पाउँछ उसले अर्कै नाममा उडाउँछ
हुने खानेहरु सहर पसे
हुँदा खानेहरु खाडी पसे
केहि नहुनेहरु यतै फसे
गाउँमा बारी बाँझै छ
सहरका एउटा कुनामा
गमलामा एक थान लौका,
दुई थान काउली, तीन थान घिरौंला
चार बोट मकै, पाँच थान भिन्डी
छ थान बैगुन, सात थान करेला
आठ थान गोलभेंडा, नौ त्यान्द्रा बोडी,
दश थान खुर्सानी फलाएर
कृषिमा क्रान्तिकारिता ल्याउने दिवानापन
प्रदर्शन गरिरहेछन् उग्र कामरेडहरु
मुरी उब्जने खेतमा कंक्रिट भरेर
छतमाथी माना फलाउने
दुस्प्नमा बाँचिरहेछन् आधुनिक किसान ।

वर्ष दिनमा एक दिन
धान दिवस मनाउँछन्
रोपाईंजात्रा भनि चटक देखाउँछन्
धान फलाउने खेतमा
गगनचुम्बी टावर ठड्याउँछ
अर्वौंको धान बाहिरबाट भित्राउँछन्
बलिया हात-पाखुरा बेचेर
देश खोक्रो बनाउँछन्
कठै असार पन्ध्र तिमीलाई
यिनले खै कस्तो बनाउँछन्,
लाग्छ अर्थ न वर्थ बनाउँछन्
घर जलेको खरानी वेचेर
आाफैंलाई मगन्ते बनाउँछन्
कठै असार पन्ध्र तिमीलाई
यिनले खै कस्तो बनाउँछन् ?