‘कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड बुद्धि’ 

 ‘कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड बुद्धि’ 


श्री गणेशाय नमोनम : । श्री सरस्वतै नमोनम : । भगवानले नेपालको नेताहरूलाई सद्बुद्धी दिऊन् । मुलुक व्यवधानरहित , भ्रष्टाचाररहित , दुर्घटनारहित र दण्डनीयतासहित होओस् । नेपाली मतदाताहरूले गतिलो दल/नेतालाई मतदान गरुन् । उत्कृष्ट प्रणाली/संस्कारको थालनी होस् । जनता बाह्रमासे, व्यभिचारी, पापाचारी, दुर्व्यसनी, कुराकटुवा र अल्छी नहुन् ।

मुलुक भ्रष्टाचारमय छ । भ्रष्टाचार शून्य बनाउने मान्छे कहिले पो जन्मेला ? शैक्षिक, कार्यिक, न्यायिक, मानवीय, दातव्य संघ/संस्था, अड्डाहरूमा हुने चरम भ्रष्टाचारको खबर छापामा पढेकै हुन्- जनता जनार्दनले । खर्बौं विदेशी ऋण । नेताजन (?!) उत्रिँदो; जनताजन/मुलुक डुब्दो । नैतिकहराम भएसि कसको के लाग्छ र ? पटके प्रधानमन्त्रीबाट केही आश छैन । यहाँ त भ्रष्टाचार नै संस्कार/संस्कृति/परम्परा भइसक्यो । भ्रष्टाचार नगर्ने मनुवा पाउन छाडिसक्यो । भ्रष्टाचारी बहिष्कृत हुनुको साटो पुरष्कृत हुँदो छ । तमाम खाले भ्रष्टाचारीहरू, बाऊआमा /स्वास्नी/छोराछोरी दुत्कार्नेहरू, व्यभिचारीहरू, पापाचारीहरू नरपशुहरू हुन्; पागलहरू हुन् ।

कोर्कालीबाट सभ्यताको के आशा गर्ने र ? सबै मण्डी ओढेर गुड्डी हाँक्ने । नो शिष्टाचार नो सदाचार । बुढापाकाको भनाइ सही सत्य हो- जँड्याहा जँड्याहासित, रक्स्याहा रक्स्याहासित । मूर्ख मूर्खसित , विद्वान विद्वानसित । स्नातक/स्नातकोत्तरवालाहरूले लठभङ्गाको चाकडी चाप्लुसी गरेको देख्दा यिनीहरूको आफ्नो सामल छैन जस्तो लाग्छ । ओथारेको के कुरो गर्नु र ? सप्लेटो जुग भए पो सप्लेटो कुरा हुनु । बिप्लेटो जुग , सबै बिप्लेटो । सुमान्छे मिल्किएर कुमान्छेले मानमनितो पाउँछ यहाँ । लट्टर र खट्टर काकाको द्वन्द्व ।

पैसोले नातासम्बन्ध टुटाउँदो; दुनियाँ फनफनी रिङाउँदो । पुस्तकपढैया कोही नाइँ । धेरैको गिदीकोष रक्सीले घिच्दो । फटाहाको कुरो हाम्ले पत्याउनु पर्ने हो र ? एक जना लालबुझक्कडले सन् १४८४ तिर वेद लेखिएको भन्दै थियो । (सायद डलर घिचेको होला ?! ) वैदिक सनातन विश्वको अनादिकालिन धर्म हो  जसलाई प्रमाणित गर्ने यथेष्ट दसीहरू छन् । श्रीकृष्णले द्वापरको अन्त्यमा अर्जुनलाई गीतामृत सुनाउनुभएको । अहिलेसम्म कलि बितेको नि ५१२६ बर्ष भइसक्यो । बिल्टु उल्टो कुरो गर्छ । अल्पायु जीवन जिउँदो छ; अहमत्याइँ ज्युँकात्युँ । धर्मशास्त्रको अवहेलना गर्दो; नरकमा जाँकिंदो । सधैं एकनास हुन्न भन्ने ज्ञान नभएको बुद्धुलाई के भन्ने हो र ? दत्तात्रेय, हरिश्चन्द्र र जडभरतबाट ज्ञान लिने कुरो धेरै छ ।

निरपेक्ष सत्यले एक्लाउँछ किन्तु एक्लिने डरले दुष्टहरूसित संगत गर्नुभएन नि । पृथ्वीको नुन खाएर जयप्रकाशको गुन गर्ने मनुवाहरूको सोचाइ- अद्यापि त्यस्तै । सत्यासत्य छुट्याउन नसक्ने भुँदाहरू कतिपय, पृथ्वीको भार । कोही बाँच्नको लागि खाँदो त कोही खानको लागि बाँच्दो । कप्टीको मथिङ्गलमा कर्तुत घुम्दो; पछुतोको आगोमा जल्दो; सास जान ज्यास्ती सास्ती ।

विक्षिप्त (हरू)पूरै दिन अर्काको कुरा काटेर बिताउँदो । वेश्यावृत्ति भन्दा निकृष्टतामा दरिएको फोसा राजनीतिबारे आसेपासे राखेर घण्टौं डुक्रिदो । यो समय उसले परिवारलाई दिंदो हो त कति कल्याण हुँदो हो । यो खालेलाई जति पुराण सुनाए नि उस्ताको उस्तै । परिवर्तन शून्य । के छ र बिताइदिन्छु दुई दिने जिन्दगी । गणिकाको संसर्गले अगणिका गणिका बन्छे । संगत गुनाको फल । सत्य तथ्यको पत्तो छैन; एक निकम्मा अर्को निकम्मालाई सन्देश सम्प्रेषण गर्दो । तेरो नमस्तेसमस्ते मलाई चाहिया छैन; किन बेकारमा मेरो टाउको दुखाउँछस् – भन्थे एक जना महोदय उदेकलाग्दो बस्तीमा । सबै जना पामर देख्दा उनको चित्त कत्ति काटियो होला ।

एकादेशमा एक जना राजा थिए । उनी मन्त्रीसहित शिकार खेल्न वन जाँदा काँसले उनको बुढी औंला काट्यो । यो देखेर मन्त्रीले भने, ‘भगवानको कृपाले जे भयो; ठिकै भयो।’ आफ्नो बुढी औंला काटिएकोमा  मन्त्रीले त्यस्तो कुरा गरेको देखेर राजालाई उठ्नसम्म रिस उठ्यो । उनले दर्बार फर्केसि मन्त्रीलाई सजाय स्वरुप कारागार पठाए । केही महिनापछि राजा शिकार खेल्न फेरि जंगलतर्फ लागे । शिकार खेल्दाखेल्दै उनी डाँकुको फन्दामा परे । सरदारले यो मान्छे निखुनी छ कि छैन पत्तो लगाउनु र निखुनी भएमा काट्नु भन्ने आदेश दियो । डाँकुले छ्यानब्यान गर्दा बुढी औंलामा खत देखेसि राजा काटिनबाट जोगिए । दर्बार फर्केसि उनले मन्त्रीलाई कारागारमुक्त गरे अनि मन्त्रीलाई डाकेर घटनाको अथइति वृत्तान्त सुनाए । प्रत्युत्तरमा मन्त्रीले भने -‘म नि हजुरसित शिकारमा जान्थें । हजुर खुनी म निखुनी भएसि डाँकुले मलाई मार्थ्यो । हजुरले मलाई कारागार पठाउनु भएकोले म काटिनबाट बचें । त्यसैले भगवानले जे गर्नुहुन्छ; ठिकै गर्नुहुन्छ ।’ यो कुराले राजाको चित्त बुझ्यो र उनीले त्यसपछि कुरा नबुझी कसैलाई नि सजाय दिएनन् रे ।

मुलुकमाराहरूको नकामले लाजलाई नि लाज लागिसक्यो । जे होस्, पूर्वाग्रही/दुराग्रही मुर्दावाद । यिनको कुरा कत्ति गर्नु ? बाउसे सकियो । आजलाई मैजारो । अस्तु !