उ मरेको दिन

उ मरेको दिन


यस्तो नहुनु पर्थ्यो
उफ्… भैदियो !
यथार्थ यति तितो सत्य हुन्छ
आकाशलाई कुहिरोले छोपेको दिन
धरती नमिठो पीडामा ओसिएको हुन्छ ।

हरेक रात
मुर्दाहरू लाममा सामेल हुन्छन्
र हरेक बिहान
समय एकोहोरो शङ्ख फुक्छ
मलामी त्रसित हुन्छन्
यो परिधिभित्रको जीवन
असरल्ल
छरपस्ट छरिएर
आफन्तका अनुहार सम्झँदै
कङ्काल÷कुरुप
मसानघाटको
आगोको ज्वाला र दाहसंस्कार
मलामीहरूको मौन याचना
आँखामा समवेदनाका लहरहरू
काजकिरिया÷बर्खान्त
र श्राद्धमा
यथार्थ यति तितो सावित हुन्छ
उ मरेको दिन ।

कयौं वसन्तहरू चिप्लन्छन्
आँखाहरूलाई छक्याएर
ता पनि
मान्छे भ्रम फलाक्न विवश छ
वसन्त आयो
वहार ल्यायो ।

खोइ कुन वसन्तले
हामीलाई हाँस्न सिकाएको छ ?
हुरी जस्तै वेगवान
हुँइकिएको छ समय
खोइ
कुन मान्छेले
समयलाई अँगालो हाल्न सक्यो र ?
सृष्टि धोखा हुन सक्छ
प्रत्येक क्षण
समय गुजारेर
औपचारिकताका तथाकथित आयामहरूमा
मुर्दा बन्दै
हरेक बिहान
मसानघाटमा
मुर्दा थपिएको छ मान्छे ।

यसरी यो क्रम
काज किरिया÷बर्खान्त
र श्राद्धहरूमा रुपान्तरण भै
लोकको आँखामा छारो हाली
धार्मिक अन्धता प्रकट नगरेको भएनि हुने
उ मरेको दिन ।