‘बाबु-आमाको मन छोराछोरीमाथि छोराछोरीको मन ढुंगामुढामाथि…’

‘बाबु-आमाको मन छोराछोरीमाथि छोराछोरीको मन ढुंगामुढामाथि…’


आएकै दोश्रो र चौथो वर्षमा फटाफट दुइ बेबीहरु जन्मिन पुगे अमेरिकामा । आज ती बेबीहरु २४ र २६ वर्ष पुगे । साथमा छैनन् अहिले र आ-आफ्नै बाटो लागिसके। एउटा एउटा राज्यमा र अर्को राज्यमा एउटा गर्लफ्रेन्ड र अर्को ब्याइफ्रेन्डसङ्ग छन् । कलेज डिग्री लिए र आ-आफ्नै काम र आ-आफ्नै संसारमा रमाइरहेका छन् । आमा-बाउका लागि त्यो भन्दा खुशीको कुरा के नै हुन सक्छ र​ ? तर​, तिनलाई जन्माएर, हुर्काएर, कलेज पढाएर दुःखमा र पर्दामर्दा साथ र सहयोग गर्लान् भन्ने सपनाचाहिँ अहिले आएर तुहिएको आज बल्ल हामी चाल पाउँदैछौँ ।

एक कल​, एक म्यासेज आउन र फर्काउन महिना दिन कुर्नुपर्छ, तर त्यो पनि भद्दा, अनादर, डिस्रेस्पेक्टफुल र सर्ट। हामीले कहाँ मिस्टेक गऱ्यौं, केमा कमी भयो ? कसरी बोल्दा र ब्यवहार गर्दा उनिहरु अलि नजिक हुन सक्छन् ? कसरी नाइस हुन सक्लान् भन्ने चिन्ता र चासो एवम् केयरफुल हुँदाहुँदै दिन दुई गुना र रात चार गुना बितिरहेको छ र समय सङ्गै हामी बुढाबुढि पनि गल्दैछौँ । जतिजति हामीलाई सहाराको खाँचो अनुभुति हुँदै जान्छ त्यति नै एक्लै पर्दै ग​एको पीडा आज हामी भोगिरहेका छौँ ।

४० घण्टाले दुई बेबी र परिवारको खर्च धान्न पुग्दैनथ्यो । त्यतिबेला बसाइ एफोर्डेबल भ​एपनि एकजनाको कमाइले भाडा तिर्ने​, बच्चाको खर्च, अन्य तिरनतारन गर्दा हप्ताको ८०-९० घन्टा काम गरि बच्चा र परिवार हुर्काउँदैमा जीवनको लाउँला र खाउँला भन्ने सुन्दर जीवन आर्थिक संघर्षमै बिते । श्रीमतिलाई नै दुई बेबी हुर्काउन​, केयर गर्न र उनिहरुको हेरचाहमै काम गर्न लगाइनँ कहिल्यै । मितब्ययी बन्यौँ । दुई बच्चाहरु स्कुल जान थाले, दिनहरु बित्दै ग​ए । स्कुल सकियो र कलेजका लागि उनीहरु रेडि भ​ए । सकिनसकी, अलि-अलि सेभिङ्ग पनि तिनै बच्चाहरुको कलेजका लागि खर्च गरेँ । उनिहरुको कलेज सम्पन्न गरि प्रोफेसनल बनुन् भन्ने सपना थियो र उनिहरुले त्यो पनि पूरा गरे।

संघर्षको दौरानमा एक जनाको कमाइ, दुई बेबीहरुको केयर र हेरचाहमा श्रीमती अर्थात बच्चाहरुका आमाले झण्डै १६ वर्षससम्म एपार्टमेन्टमै बसेर जेल झैँ बाहिरी संसारबाट भिन्न भइ बच्चा हुर्काइन् ​। तिनको खानपान​, तिनको चाहना, तिनको रुवाइ, तिनको खुशीका लागि आयआर्जनका लागि सुक्को पनि कमाउनेमा कतै ध्यान र मन लगाइनन् ​। कमाएको पे चेक उनैलाई राख्न दिन्थेँ । उनैबाट लिएर तिरातारन गर्थें । घरको ग्रोसरी, घरको किचन​, घरको सबै दुःख र खुशी उनैले केयर र शेयर गरिन् ​। १० महिना पेटमा राखि जन्म दिएर, तिनैको हेरचाहमा र तिनैका खुशीका लागि एउटा आमाले १६-१६ वर्षसम्म तिनकै लागि समय दिनु कुनै चानचुने कुरा थिएन​। उनको पनि चाहना थिए होलान्​, उनको पनि आफ्नै कमाइ र खुशीमा रम्ने चाहना थिए होलान्​, उनको पनि बाहिर ससारसङ्ग रम्ने, हेर्ने र घुम्ने चाहना थिए होलान् ​। सानोमा मर्ला भन्ने चिन्ता, बच्चा रुँदा सारा प्रयत्न लगाएर बच्चाको अनुहारमा खुशी जन्माउन तल्लिन आमाको भित्री पीडा, मर्म ..। तर, हामीलाई बच्चाहरुको अहिलेको भिन्न ब्यवहारबाट दिनदिनै सोच्न बाध्य बनाइरहेको छ​।

आज तिनै बेबीहरु हामीसङ्ग छैनन् ​। वर्षमा कमसेकम २-४ पटक बाउ-आमा बसेको ठाउँमा आउन् । बा-आमा हजुरहरुलाई कस्तो छ​, सन्चो बिसन्चो के छ​ ? केहि समस्या छन् कि ? स्वास्थ्य कस्तो छ ? हालखबर के छ​ ? खाना र सुत्न समयमा छ कि छैन​ ? यस्तो सोधिदेलान्, बुझिदेलान् भन्ने तीव्र चाहना छ​ । भन्न सक्दैनौँ, किनभने उनीहरु हुर्किसके। हुर्किसकेका बच्च्चाहरुसङ्ग विचार गरेर बोल्नपर्ने बेला आएछ​ । केही भन्दा रिसाउलान् कि, फेरि झन् झन् टाढा भैदेलान् कि भन्ने पिर पनि त्यत्तिकै छ​ । तर​, उनीहरु सोध्दैनन् ​। केही भनि हालेपनि झर्किन्छन् र फोन काटी हाल्छन् ​। राम्रो शिक्षा पाएपनि अमेरिकन कल्चर​, अमेरिकन सिकाइ र शिक्षा भयङ्गकर स्वार्थी​, मतलबी हुने रहेछ ​। बाउ-आमाको मन बच्चाहरुमाथि बच्चाहरुको मन चाहि ढुङ्गा मुढामाथि।

उमेरले ६५ को हाराहारिमा लागिसक्यौँ। अबको २ वर्षमा मैले अवकाश लिनु पर्छ ६७ वर्षको उमेरमा । एकल कमाइ र संघर्ष एवम् परिवार एवम् दुई बेबीहरुको खुशीका लागि कमाएको खर्चमै ग​ए । घर किन्न सकिएन ​। एपार्टमेन्टमै बसिरहेका छौँ । ज्यानले भनेजस्तो पहिले जस्तो ९० घन्टा हप्तामा श्रम गर्न सक्दिनँ ​। उमेरमा काम नलगाएको बुढी (श्रीमती)लाई बच्चा हुर्केपछि पनि खासै काममा लगाइनँ । बच्चाहरु कलेज जान थालेपछि हप्तामा एउटा फ्याक्ट्रिमा लगभग ३०-३५ घन्टा जति काम गरिन् । बाथको रोगी बुढी काम गर्न दिइनँ मैले त्यसपछि । घर छैन​। एपार्टमेन्टको भाडा पनि औधि महङ्गो भ​एर ग​एको छ ​। ग्रोसरी पनि त्यत्तिकै महङ्गो छ ​। गाडी पनि छैन​ । पब्लिक ट्रान्सपोर्टेसन भ​एकाले गाडी आवश्यक भ​एन र छैन पनि ।

खातामा रकम पनि लगभग १०-१२ हजार डलरको हाराहारीमात्र छ​ । कथमकदाचित केही परिहाले उक्त रकम चाहिएला भनेर अहिलेसम्म त्यो रकम चलाएको छैन ​। काम गर्न सक्दिनँ धेरै । न घर छ​, न गाडी छ​, न त पहिले जस्तो काम गर्न सक्छु । अब यहाँबाट कता सर्नु र​ ? नेपालमा पनि आफन्त धेरै छैनन् र सम्पति पनि छैन । अब​, सम्पतिका नाममा त्यही दुई बेबी बच्चाहरु हुन्​। पाल्नुपर्ने, नसक्दा हेर्नुपर्ने र केयर गर्नु पर्ने तिनैले थियो तर उनिहरुको चालामाला हेर्दा उनिहरुले पनि माया गर्लान्​, कमाएर खुवाउलान् भन्ने एक रति पनि विश्वास छैन ​। खोला पनि १२ वर्षमा फर्किन्छ भन्थे, उनिहरु परिवर्तन भइ आएर केयर गरे भने बेग्लै हो र अझै पनि कता-कता आशा र विश्वास छ मेरो बुढीलाई, किनभने उ आमा हो तर मलाइ भने विश्वास छैन​ ।

कमाउन नसके भाडा तिर्न सकिन्न । तिर्न नसकेका दिन एपार्टमेन्टबाटै निकालिदिन्छ । सुगर (मधुमेय)को औषधि चलाइरहेको छु । प्रेसरको पनि छ । दिन झन् झन् सकसपूर्ण बन्दै जाँदा सहारा भनिएका आफ्नै बच्चाहरु बदलिएका देख्दा यो मन कसरी जलिरहेको होला ? यि सबै सम्झेर बुढी बिहान बेलुकै धुरुधुरु रुन्छिन् । नरोउ ससारमा जे-जे भोग्न लेखेको छ त्यो भोग्नुपर्ने रहेछ यसरी सम्झाउँछु उनलाई । कहाँ मान्थ्यो र मन आखिर आमाको मन त हो । अब कुनै उपाय नै भ​एन र बाँच्नै नसकिने भयो र बच्चाहरुले पनि केयर गरेनन् भने हामी बुढाबुढी कोही कसलाई तनाव​, दुःख नदिइकनै संसारबाटै बिदा त हुन सक्छौँ नि !

(यसपटक रोड आइल्यान्ड​, बोस्टन​, कनेक्टिकट​, न्युयोर्क र न्युजर्सिको भ्रमणका क्रममा एकजना दुःखी दाइ जसले सुन्दर सपना बोकेर बेलामा बच्चाहरुप्रति लगानी गर्दा दुःखमा साथ र केयर गर्छन् भन्ने भ्रम र सपना बाँधी बस्दा स्वार्थि बच्चाहरुको ब्यवहार र आफुहरु बुढौलिपनबाट एक्लिँदै जाँदाको अनुभूति सुनाउनुभयो । यति सुनाएपछि ‘भाइ सानुबाबु… तिमिलाई यति सुनाउन पाउँदा मन असाध्यै हल्का भयो’ भन्नुभयो र पीडा भाइलाई पोख्दा मन चङ्गा भ​एको दाइको अभिब्यक्तिले आँखा रसाइसकेका थिए । बोल्न सकिनँ धेरै, र हवस दाइ केही पऱ्यो भने फोन र म्यासेज गर्नुहोला भनेँ र बिदा लिएँ । – लेखक​)