१०५ वर्षअगाडि भएको थियो सती प्रथा उन्मुलन

१०५ वर्षअगाडि भएको थियो सती प्रथा उन्मुलन


आखिर सती प्रथा साँच्चै शास्त्र वा पुराणहरुमा वर्णित वा पुण्य मिल्छ भनेर नै शुरुवात भएको हो वा विधवा बनेकी महिलालाई पारिवारिक/सामाजिक दबाबले सती जान बाध्य बनाइएको भन्ने नै मूल प्रश्न हो । सती शब्द हिन्दुहरुको आख्यानको रुपमा रहेको स्कन्द पुराण पहिलो खण्डको रुपमा रहेको केदारखण्डबाट आएको हो । यस खण्डमा महादेवका कथाहरु छन्, जसमा महादेवका पहिलो पत्नी सतीदेवीको वर्णन गरिएको छ । आफ्ना पति महादेवप्रति आफ्नै पिताले गरेको दुर्बचन सहन नसकेर सतीदेवीले होमको लागि बनाइएको कुण्डमा हाम फालेर आफ्नो जीवन अर्पित गर्छिन् । र, महादेव शोकले ब्याकुल भएर सतीदेवीको शरिर बोकेर भौँतारिन्छन् । यही क्रममा गलेर अंगपतन हुँदा हरेक अंगपतन भएको स्थानमा पीठ स्थापना गरिएको वर्णन गरिएको छ । यही नै सती शब्दको शुरुवात हो ।

तर सतीले पतिको निन्दा सहन नसकेर गरिएको आत्मदाहको कथालाई पतिको मृत्युपछि आत्मदाह गर्न बाध्य बनाइयो । नेपालमा कहिलेदेखि विधवा महिलालाई सती जान बाध्य बनाइयो भन्ने प्रमाण खोज्दा वि.सं. ५२१ मा पहिलो सती गएको भेटिएको भन्ने एलेक्स माइकेलको पुस्तक Hinduism: Past and Present मा उल्लेख गरिएको छ ।

सती जान इच्छुक हुने महिलाभन्दा बढी सती जान बाध्य बनाइएका घटना धेरै पढ्न पाइन्छ । धर्मको नाममा तथा सतित्वको नाममा पनि सती जान मानसिक रुपले बाध्य बनाइन्थ्यो । विधवा विवाहका केही घटनाका कारणले पनि समाजका धर्मान्धहरुले विधवालाई सती जान धार्मिक दबाब दिन थालेका थिए । सती जान नमान्नेहरुलाई करकापमा तथा जबर्जस्ती पतिको चितामा राखिन्थ्यो । उनको पीडामय चिच्याहट नसुनिउन् भनेर बाजासहित सती जाने कार्यलाई उत्सव झैँ गराइन्थ्यो । चिताबाट भाग्न खोजे ढुंगाले हानेर वा बाँसका भाटाले हिर्काएर बेहोश बनाएर पनि चितामा जलाइन्थ्यो । यति क्रुर र अमानविय धार्मिक हत्या गरिन्थ्यो ।

पाँचौं शताब्दिबाट नै सती जान बाध्य बनाइएको भनिए तापनि यसको सबैभन्दा बढी घटना अठारौँ शताब्दिमा भेटिन्छ । साधारण परिवारमा भन्दा बढि राजपरिवारमा तथा सभ्रान्त परिवारमा देखिन्थ्यो । ब्राम्हण नेवार परिवारमा सबैभन्दा न्यून सतीका घटनाहरु भेटिन्छ ।

नेपालमा सती प्रथामा बन्देजको शुरुवात जंगबहादुरले १९१० पुस २३ गते बिहीबार जारी गरेको मुलुकी ऐनमा सती जान्याको सम्बन्धी महल नै लेखेका थिए । यस अर्थले सती प्रथाको उन्मुलन चन्द्रशम्शेरले गरे तापनि शुरुवात भने जंगबहादुरले नै गरेका थिए । यसपछि वि.सं. १९४४ असार २२ गते सोमबार वीरशम्शेरले सती प्रथा उन्मुलन गर्ने १९४४ को इस्तिहारमा सती जानको लागि सरकारसँग अनुमति लिनुपर्ने अन्यथा सजायको भागीदार हुने उल्लेख गरेका थिए । यसपछि बल्ल वि.सं. १९७७ असार २५ गते चन्द्रशम्शेरले सती जान पूर्णरुपमा बन्देज नै लगाइदिए ।

सती प्रथा उन्मुलनको सय वर्ष नाघिसकेको अवस्थामा पनि अझै यस प्रथाको निशानीको रुपमा सतीद्वार तथा सती ढुङ्गाले हालसम्म सती प्रथाको यादहरु दिलाइरहने गर्दछ ।

जंगबहादुरले मुलुकी ऐनमा सती जान्याको महल नै राखेको भए तापनि उनको १९३३ फागुन १६ गते आइतबार पत्थरघट्टामा निधन भइ फागुन १९ गते बुधबार अन्त्येष्टि गरिँदा उनको साथमा उनका तीनजना रानीहरु पुतली महारानी, मैयाँ महारानी र मिश्री महारानी सती गएका थिए ।