✍ रामचन्द्र ढकाल
म सान खोज्न जन्मेको होइन
कृपया सुख उपहारमा नदिनु मलाई
मानको लागि आएको होइन
बिन्ती ! लोभको खाडल नदेखाउ मलाई
म कलममा दौडन सक्छु
मैदानमा पौडन सक्छु ॥
शिक्षकको पीडा
शिष्यलाई बताउन मिल्छ
शिष्यको पीडा शिक्षकलाई नबताउनु
कलीयुगमा तिम्रो
श्रेणी घट्ने आधार बन्न सक्छ॥
आफ्नो आफ्नै शैली हुन्छ सबैको !
हे भगवान् !
तिम्रो निगाहामा
सबैको आफ्नो आफ्नै शैली हुन्छ
सिंहलाई घरमा बास दिए हुन्छ
कौवालाई पिँजडामा नथुन्नु ॥
आफ्नो ठानेर
ख्यालठट्टा र मजाक नगर्नु
बरू घाटमा चिताको विश्वास होला
जल्न पनि धैर्य गर्ला कतै
जून आकाशबाट टाढिन खोज्ला
तर,
चुक्ली लगाउनेले निमेस लगाउँदैन
झुटोसँग मित लगाउन पर्खंदैनन्
अझै सुन्नेको पत्याउने बानीले
टुनामुना फस्टाउँदै अनि
सत्य दुब्लाउँदै जान्छ ॥
म लेख्नको लागि जन्मेको होइन
विधाता, मलाई कलम उपहार नदिनु
पीडा दिनेहरूको लागि सम्झाउन नखोज्नु
कलमलाई भाला सम्झनेले
कपी छेडेर जान्छन्
विश्वास रेटेर जान्छन् ॥
म लेख्नको लागि जन्मेको होइन
मलाई कलम उपहार नदिनु
कृपया सान र मान नदिनु
सुन्नेलाई सुनको माला ॥
- कोमल, काठमाडौ
प्रतिक्रिया