आँखा नदेख्नेको नाम नेत्रप्रसाद, जो पिलन्धरे छ यही बलबहादुर, स्वर्णकारकै श्रीमतीको नाक–कान बुच्चो, सुचीकारको कपडा टालटुल गरेको र चर्मकारकै जुत्ता फाटेको भन्ने कथन नेपाली समाजमा प्रचलित छ । सुन्दा–सुन्दा यी कथन हामीलाई स्वाभाविक लाग्न पनि थालिसकेका छन् । तर, सुन्दा माथि उल्लेखित कथनजस्तै भए पनि अस्वाभाविक प्रतीत हुने, नयाँ खुलासा बेलायती वाणिज्य मण्डलका महानिर्देशक डेभिड फ्रस्टले गरेका छन् । उनका अनुसार बेलायतीहरूको मातृभाषा अङ्गे्रजी भए पनि अङ्गे्रजी बोल्न उनीहरूलाई अरूहरूले नै उछिनिसकेका छन् । आजका बेलायती युवालाई ठीकसँग अङ्गे्रजी बोल्न, लेख्न र पढ्नसमेत नआउने फ्रस्टको भनाइ छ । बीबीसी रेडियोलाई अन्तर्वार्ता दिँदै उनले बेलायतमा प्रवासीहरूलाई सजिलै रोजगारी हासिल हुनुको कारण नै उनीहरू काम गर्न माहिर हुनुका साथै राम्रो अङ्गे्रजी बोल्न सक्षम हुनु हो भन्ने अभिव्यक्ति दिएका छन् । बेलायती युवाको अङ्गे्रजी कमजोर भएको मात्र नभई व्यवसायका लागि आवश्यक अन्य गुणहरूमा समेत कमी देखिएकोले बाहिरबाट आएकाहरूले रोजगारीमा बढ्ता असर पाएको फ्रस्टले प्रस्ट्याए ।
खानेकुरा विषाक्त हुनबाट जोगाउँछ लसुनले
हाम्रो भान्सामा लसुनले महत्वपूर्ण स्थान राख्छ । खानामा स्वाद बढाउन मसलाका रूपमा प्रयोग गरिने लसुन औषधीय गुणले पनि भरपूर हुन्छ भन्ने त प्रमाणित भइसकेकै कुरा हो । यसैबीच वैज्ञानिकहरूले दाबी गरेका छन् कि लसुनमा पाइने एक विशेष तत्वले भोजनलाई विषाक्त बनाउने ब्याक्टेरियालाई निष्प्रभावी तुल्याउने काम गर्छ । वैज्ञानिकका अनुसार खानाका लागि लसुन एन्टिबायोटिक औषधिभन्दा पनि असरदार तत्व हो । वासिङ्टन विश्वविद्यालयका शोधकर्ताहरूले लसुनमा पाइने तत्वले ‘डाइलिल सल्फाइड’ नामक विषाणुद्वारा पैदा हुने विषालु झिल्लीलाई तोडेर खानेकुरालाई स्वस्थकर बनाउने दाबी गरे । उक्त तत्वले औषधिका रूपमा मात्र काम गर्ने नभई थोरै समयमै सकारात्मक असर पार्ने पनि उनीहरूको कथन छ । विशेष गरी मासु तथा चाँडै सड्ने भोजनलाई विषाक्त हुनबाट जोगाउन लसुनले ठूलो मद्दत गर्ने अध्ययनबाट पत्ता लागेको जर्नल अफ इन्टिमाइक्रोवियल किमोथेरेपीमा प्रकाशित भएको छ ।
मोटीमाथि भेदभाव किन ?
मोटोपनको सिकार बनेका महिलाका लागि एउटा नरमाइलो खबर छ । हालैको एक अध्ययनपछि यो कुराको खुलासा भयो कि नोकरीका लागि आवेदन दिँदाको समयमा मोटी महिलामाथि भेदभाव गरिन्छ । अस्टे«लियाको मोनास विश्वविद्यालयले ‘जब’को निम्ति तस्बिरसहित दिइएका निवेदन पत्रहरूको अध्ययन गर्यो । यसक्रममा पाइयो कि मोटी महिला भेदभावको सिकार बन्ने सम्भावना अत्यधिक रहेछ । सकभर तिनलाई काम पाउनुबाट वञ्चित नै गर्ने र कारणबाट काम दिइए पनि तुलनात्मक रूपमा कम पारिश्रमिक दिने प्रवृत्ति रहेको अध्ययनले खुलासा गरिदियो । किन मोटी महिलामाथि यस्तो भेदभावको व्यवहार गरियो भन्नेबारे अध्ययनले केही नबोले पनि तलब, नेतृत्व क्षमताजस्ता नोकरीका विभिन्न पाटोमा भेदभाव गरिन्छ । मोटी महिला अल्छी र मूर्ख नभए पनि किन त्यस्तो गरिन्छ भन्ने बुझ्न नसकिएको मोनास विश्वविद्यालयका अध्येता केरी ब्रायनको कथन छ ।
सार्कोजी घुमिफिरी रुम्जाटार
हालै सम्पन्न राष्ट्रपति निर्वाचनमा पराजित भएपछि फ्रान्सका ‘पूर्वराष्ट्रपति’ बन्न पुगेका निकोलस सार्कोजीले राजनीतिबाट हात झिक्ने भएका छन् । चर्चित मोडल कार्लाब्रनीसँगको वैवाहिक सम्बन्धका कारण अनेक चर्चामा आइरहने ५७ वर्षीय सर्काेजी राजनीतिलाई बाईबाई गरेर आफ्नो पुरानै पेसामा फर्कने निचोडमा पुगेका छन् । उनको पुरानो पेसा वकालत हो, उनी एक निपुण वकिलका रूपमा समेत चिनिएका व्यक्ति हुन् । सम्पत्तिसम्बन्धी कानुनी मामलाहरू हेर्ने आफ्नै एक कम्पनीको कानुनी जिम्मेवारी सम्हाल्न सुरु गर्नुअघि सर्कोजी आफ्नो अत्यन्त मनपरेकी पत्नी बु्रनीसँग दक्षिणी फ्रान्समा रहेको आफ्नै विशाल बङ्गलामा रही केही समय छुट्टी मनाउँदै छन् । राष्ट्रपतिको रूपमा फ्रान्सेली जनताको मन दोहोर्याएर जित्न नसके पनि घुमिफिरी रुम्जाटार भनेझैं वकालतमा फर्किएपछि भने निकोलस पहिले जसरी नै जम्ने उनका मित्र एवम् राजनीतिक सल्लाहकार फ्रेङ्क लुब्रियरले जनाए ।
मुर्दा ब्युँतिएपछि…
मरेको व्यक्ति उठेर मलामीलाई हँसाउन थाल्यो भने कस्तो परिस्थिति निर्माण होला ? निश्चय पनि त्यो क्षण दुर्लभ आश्चर्यजनक ठहरिनेछ । यस्तै घटना हालै मिश्रमा घटेको छ । २८ वर्षीय हमिद हाफेक्स अल नुक्दी नामक युवक असाध्य व्यथाले थलिएर मृत्युको मुखमा पुगे । उनको अन्तिम संस्कार त्यहाँको परम्पराअनुसार गरिँदै थियो जहाँ थुपै्र मृतकका परिजन जम्मा भएका थिए । चिहानमा गाड्नुअघि मृत्यु प्रमाणपत्र प्रदान गर्नका लागि एक डाक्टर आइपुगे जसलाई युवकको मृत्युमाथि नै सन्देह लाग्यो । किनकि मरेका भनिएका नुब्दीको शरीर तातो नै थियो । उनले मृत्यु प्रमाणपत्र बनाइहाल्न सकेनन् । नभन्दै एकैछिनमा मृत्युको अन्तिम संस्कार गरिँदै गरेका युवक जुरुक्कै उठे । उपस्थित परिजन हर्षले गद्गद् भए । मृत्यु संस्कारलाई तत्काल एउटा उत्सवको रूप दिइयो र एकैछिन् अघिसम्म शोक मानिरहेका व्यक्ति भोज खाएर खुसी साटासाटा गर्न थाले ।
प्रतिक्रिया